उमेर २४ वर्ष, बैंक खाता ५६, अवैध कारोबार दुई अर्ब

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण
उमेर २४ वर्ष, बैंक खाता ५६, अवैध कारोबार दुई अर्ब

आरोपी अनिल ढुंगाना

एक २४ वर्षीय युवकले गरेको आर्थिक अपराधबाट अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी नै चकित भएका छन् । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ घर भई भक्तपुर सूर्यविनायक बस्ने अनिल ढुंगानाले पछिल्लो दुई वर्षमा दुई अर्बभन्दा धेरै रकम अवैध रूपमा कारोबार गरेका छन् । 

एसएसपी सानुराम भट्टराई, प्रमुख, अपराध अनुसन्धान कार्यालय  
अनुसन्धानबाट आरोपी युवकले विभिन्न खाता र वालेटमार्फत दुई अर्ब एक करोड १८ लाखबराबरको अवैध आर्थिक कारोबार गरेको देखिन्छ । उनी क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने मुख्य एजेन्ट भएको पनि खुलेको छ ।

त्यसका लागि उनले ५६ वटा बैंक खाता, ११ वटा कनेक्ट आइपिएस तथा १५ वटा इसेवा वालेट अकाउन्ट प्रयोग गरेका थिए । ढुंगानालाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विस्तृत अनुसन्धान अघि बढाएको छ । अनलाइन बेटिङको प्रमुख एजेन्टका रूपमा काम गरेका ढुंगानाले यसरी विभिन्न व्यक्तिका नाममा खाता खोलेर कारोबार गरेका हुन् । उनले एक अर्ब ३४ करोड ५२ लाख रुपैयाँको बाइनान्स एपमार्फत क्रिप्टोकरेन्सीको मात्र कारोबार गरेका थिए । 

उनले विभिन्न खेलकुदमा बेटिङ पनि लगाउँदै आएका थिए । वानएक्सबेटमार्फत उनले दुई वर्षदेखि सट्टेबाजी धन्दा चलाउँदै आएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । ‘हालसम्मको अनुसन्धानमा उनले विभिन्न खाता र वालेटमार्फत दुई अर्ब एक करोड १८ लाखबराबरको अवैध आर्थिक कारोबार गरेको देखिन्छ,’ उनले भने, ‘उनी क्रिप्टोकरेन्सीको पनि अवैध कारोबार गर्ने मुख्य एजेन्ट भएको खुलेको छ ।’ इसेवा वालेटमा मात्र उनले पाँच करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । जुन सट्टेबाजीको लेनदेन भएको हुन सक्ने प्रहरी आशंका छ ।

एउटै खाताबाट धेरै कारोबार गर्दा शंका हुने भएकाले उनले यसरी धेरै बैंक खाता र वालेट प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । अवैध कारोबारमा बैंक खाता खोलेर उनलाई सघाउनेहरूमाथि समेत अनुसन्धान गर्न प्रहरी तयारी छ । साथै, उनीसँग मिलेर अवैध बेटिङ लगाउने गिरोहमाथि समेत छानबिन गरिने अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अपराध कर्मबाट उनले कमाएको सम्पत्तिका बारेमा समेत प्रहरीले छानबिन अघि बढाएको छ । यसमा गिरोह नै रहेको प्रहरीको आशंका छ । 

उनले सामाजिक सञ्जालमा जुवा ३६५ नामक पेजसमेत सञ्चालन गरी अनलाइन बेटिङको प्रचार गरी कारोबार फैलाएका थिए । प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ६ वटा मोबाइल र ३८ वटा सिमकार्ड बरामद गरेको छ । उनीसँग क्रिप्टो वालेटसमेत रहेको एसएसपी भट्टराईले बताए । उनीसँग भारतीय आधार कार्डसमेत भेटिएको छ ।

भारतीय प्यानकार्डसमेत भेटिएकाले उनको भारतमा समेत कारोबार भएको हुन सक्ने प्रहरीको आशंका छ । भक्तपुरबाट पक्राउ परेका ढुंगानामाथि थप अनुसन्धान र कारबाही जिल्ला प्रहरी परिसर, भक्तपुरले गर्ने भएको छ । 

सुझावित समाचार