अभावमा अपांगको फिजियोथेरापी सेन्टर

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

अपांग समाज सुधार केन्द्र तुलसीपुरले ल्याएको फिजिओथेरापी सेन्टर अभावै–अभावमा खड्किएको छ । भवन निर्माण भएको छ ।  केही सामग्रीहरू ल्याइएको छ । केही सामग्री ल्याउन बाँकी छ । आर्थिक अभावले गर्दा अहिले सेवा पूर्ण रूपमा सुचारु हुन नसकेको केन्द्रका अध्यक्ष हुमकान्त कँडेलले बताए  ।

अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी  तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरमा उक्त थेरापी सेन्टर सञ्चालनमा ल्याइएको हो । ‘अझै हामीले पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेका छैनौँ,’ अध्यक्ष कँडेलले भने, ‘आर्थिक अभाव छ, धेरै सामग्रीहरू ल्याउनुपर्नेछ, त्यसका लागि सहयोगी दाताहरूको अपेक्षा गरेका छौँ ।’ केही टेबल, कुर्सी, शौचालयमा टायलसमेत राख्न सक्ने अवस्था नरहेको उनको  भनाइ छ । 

फिजियोथेरापीका लागि प्रभावकारी हल पनि छैन । करिब तीन–चार लाख भए सबै काम पूरा हुने उनले बताए । निजी अस्पतालमा महँगो शुल्क लाग्ने र अपांगता भएका व्यक्तिहरूले यो सेवा लिन नसक्ने भएकाले सहजताका लागि आफैँले थेरापी सेन्टर सञ्चालनमा ल्याएको महासचिव दोलखबहादुर खत्रीले बताए । ‘अपांगता भएका व्यक्तिहरूलाई निजी अस्पतालमा जाँदा महँगो पर्छ,’ उनले भने, ‘त्यसैले पनि हामीले कम शुल्कमा अपांगता भएका व्यक्तिहरूलाई सेवा प्रवाह गर्नका लागि यो सेवा सुरु गरेका हौँ ।’  यसबाट अपांगता भएका व्यक्तिहरूबाहेकले पनि सेवा लिन सक्ने उनको भनाइ छ । करिब ३० लाख लागतमा थेरापी सेन्टरका लागि भवन निर्माण भएको हो ।  महायज्ञबाट संकलन भएको रकम तथा तीनै तहको सरकारको सहयोगमा भवन निर्माण भएकाे हो ।

साथै केही समयमा अपांगता भएका व्यक्तिहरूका लागि आफ्नै हस्पिटल खोल्नेसमेत तयारी रहेको छ । त्यसका लागि जग्गा खोजी कार्य भइरहेको अध्यक्ष कँडेलले बताए । हस्पिटल सञ्चालनमा ल्याएर कृत्रिम हातखुट्टा बनाउने तयारी रहेको उनको भनाइ छ ।
 

सुझावित समाचार