पुटिनलाई किन कारबाही नगर्ने ? - Naya Patrika
eNaya Patrika
  • ePaper

पुटिनलाई किन कारबाही नगर्ने ?

प्रजातान्त्रिक मुलुकले अब एउटा विकल्प रोज्नुपर्ने वेला आइसकेको छ, सत्यको पक्षमा उभिने वा रुसी राष्ट्रपति पुटिनलाई रिझाउने ?

सन् २०१४ मा सैन्य बलको आडमा रुसले युरोपको नक्सा बदल्ने प्रयास ग-यो । रुसले बलपूर्वक युक्रेनको क्रिमिया प्रायद्वीप लुट्यो । रुसको यस कदमलाई विश्व समुदायले भत्र्सना मात्र गरेन, रुसमाथि आर्थिक प्रतिबन्धसमेत लगायो । यति हुँदा पनि रुसले युक्रेनलक्षित नयाँ आक्रमणको डिजाइन गर्न छाडेन । डिजाइनअनुसार रुस र क्रिमियाबीच रहेको मुख्य क्षेत्रमा रुसले १२ माइल लामो पुल बनायो । रुसले युक्रेनलाई निरन्तर लुछ्दै गइरहेको स्थितिलाई युक्रेनी जनताले अब पनि टुटुलुलु हेरेर मात्र बस्न सक्दैनन् ।

पेट्रो पोरोसेन्को

युक्रेनी क्रान्तिपश्चात् अर्थात् आजभन्दा चार वर्षअगाडि रुसको सैन्य हस्तक्षेपविरुद्ध एक्लै उभिन सक्ने सामथ्र्य युक्रेनसँग थिएन । तर, आजको दिनमा युक्रेनको दृढता बलियो मात्र छैन, एक्लै रुसको प्रतिवाद गर्ने सक्ने क्षमाता हामीसँग छ । प्रतिवादका लागि हामी तयार छौँ । यही कारण मैले रुससँग सिमाना जोडिएको युक्रेनका भूभागमा अस्थायी सैनिक कानुन लागू गरेको हुँ ।

युक्रेनमाथिको दमन तथा आक्रमणलाई रुसले बढावा दिए युक्रेन र युक्रेनी जनताको सुरक्षाका लागि सेना परिचालन गर्न सकियोस् भन्नका लागि सैनिक कानुन लागू गरेको हुँ । यद्यपि, अझै पनि हामीलाई अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो छ । युक्रेनमाथि रुसले गरेको पछिल्लो आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय समुदायले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाएर हामीलाई सहयोग गर्नु आवश्यक छ ।

गत २५ नोभेम्बरका दिन केर्च स्ट्रेइट तथा ब्ल्याक सीतर्फ अघि बढेको युक्रेनी नौसेना जहाजमाथि रुसले गरेको आक्रमण पहिलो घटना हैन । जल परिवहनसम्बन्धी अन्तर्राष्ट्रिय नियम र समुद्र तथा अजोभ समुद्र सन्धिलाई रुसले सन् २०१४ यता बारम्बार उल्लंघन गर्दै आएको छ । युक्रेनको ऊर्जा आपूर्ति तथा मत्स्य क्षेत्र लुटेर रुसले युक्रेनी जनताको दैनिक जीवनमाथि असर पु-याएको छ भने हाम्रा बन्दरगाहसम्म हुने व्यापारमा अवरोध सिर्जना गरेको छ ।

पछिल्लो समय, युक्रेनी बन्दरगाहमा आउने व्यापारिक जहाजलाई बारम्बार रोकेर रुसले झनै तनाव बढाएको छ । मालवाहक जहाज बन्दरगाहमा आउन धेरै ढिलो हुँदा एउटै जहाजको प्रतिढुवानी खर्च १० हजार डलरदेखि १२ हजार डलरसम्म पुग्छ । यसरी, रुसले युक्रेनमाथि आर्थिक युद्धसमेत चलाइरहेको छ । साथै, आर्थिक युद्धमार्फत युक्रेनको निर्यात बजारको घाँटी निमोठ्न रुस उद्यत छ ।

यतिवेला युक्रेनी जनताले रोजगारी गुमाएका छन्, दैनिकी भताभुंग भएको छ अनि उत्पादित खाद्यान्नले बजार नपाउँदा बिग्रिएर गएको छ । रुसी अवरोधका कारण युरोप र मध्यपूर्व क्षेत्रमा निर्यात गरिनुपर्ने व्यापारिक सामग्री परिचालन अत्यन्तै सुस्त भएको छ । युक्रेनमाथि रुसले यसरी ज्यादति गरिरहेको अवस्थामा पश्चिमा शक्ति मौनप्रायः भइदिँदा रुसले अझै बर्बर व्यवहार देखाउँदै आएको छ ।

गत २५ नोभेम्बरमा युक्रेनी ओडिसा बन्दरगाहबाट युक्रेनकै मरिपोल बन्दरगाहतर्फ कानुनी र शान्तिपूर्ण तवरबाट अघि बढेको युक्रेनी नौसेना जहाजमाथि रुसले गरेको आक्रमणका कारण दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । तर, सत्यलाई तोडमोड गरेर रुसी पक्षले घटनाको झुटो विवरण दिएको छ ।

युक्रेनी नौसेना जहाजले न रुसी नौसेनालाई चिढ्याएको थियो, न त गोली नै बर्साएको थियो । बरु, अन्तर्राष्ट्रिय जलमार्गमार्फत आफ्नै घरेलु क्षेत्रतर्फ मोडिएको युक्रेनी जहाजमाथि रुसी पक्षले बन्दुक र मिसाइल प्रहार गर्दै हाम्रो सेनालाई कब्जामा लियो । युक्रेन नैसेनामाथि रुसी सैन्य बलले गरेको प्रत्यक्ष आक्रमण थियो यो । हाम्रा नौसेना जहाज र सेना यतिवेला रुसी कैदमा छन् । अजोभ समुद्रमा रहेका सयौँ जहाजलाई केर्च स्ट्रेटबाट अघि बढ्न रुसले दिएको छैन । त्यहाँ युक्रेनी जहाज मात्र छैनन्, अन्य देशका जहाज पनि छन् ।

यी घटनाले समग्र नेटो सदस्य मुलुकको सुरक्षामाथि समेत प्रत्यक्ष प्रश्न तेस्र्याएको छ । रुसले यतिवेला ब्ल्याक सीमा ठूलो संख्यामा आफ्ना नौसेना जहाज तैनाथ गरेको छ । यसको अर्थ, रोमानिया, बुल्गेरिया र टर्कीजस्ता नेटो सदस्य राष्ट्रमाथि समेत रुसले धम्की दिन सक्छ । रुसबाट आएको यो सुरुवाती चाल मात्र हुन सक्छ । अहिले बाल्टिक समुद्रमा पनि रुसी नौसेना जाहजको उपस्थिति निकै बाक्लो छ । साथै, सो क्षेत्रमा रुसी लडाकु विमानले गस्ती गरिरहेका छन् । यद्यपि, यो पहिलोपटक भने हैन ।

वास्तवमा, यो बहानामा युरोपलाई चुनौती दिन बाल्टिक समुद्रबाट रुसले बनाइरहेको नोर्ड स्ट्रिम दोस्रो ग्यास पाइपलाइनको ‘रिहर्सल’ भइरहेको छ । रुसको उद्देश्य प्रस्ट देखिएको छ । बलपूर्वक सम्पत्ति र जमिन हडप्न सकिने एकताको युगमा रुस फर्किन चाहन्छ । यो मिसनको सुरुवात युक्रेनबाट गर्ने र प्रजातान्त्रिक विश्वले अनुमति दिएसम्म पश्चिमतर्फ प्रवेश गर्ने नियत रुसको हो ।

यो यथार्थलाई मध्यनजरमा राखेर प्रजातान्त्रिक मुलुकले अब एउटा विकल्प रोज्नुपर्ने वेला आइसकेको छ । सत्यको पक्षमा उभिने वा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रिजाउने ? इतिहासबाट हामीले केही सिकेका छौँ भने अरूलाई रिझाउन लाग्दा ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का राख्नुपर्छ । रुसी प्रचारबाजी बढ्दो छ, तर पश्चिमा शक्तिले सोचेभन्दा पनि कमजोर पुटिन छन् । चाहेको खण्डमा पुटिनलाई उनको टुंगो र हैसियतमा बसाउन पश्चिमा देशले दबाब दिन सक्छन् ।

तर, रुससँगको शत्रुता कुन तहमा पुगेपछि पश्चिमा जगत्ले यो यथार्थ महसुस गर्ने ? रुसले बेलायतमा रासायनिक हतियार पठाएको छ । पश्चिमा मुलुकभर साइबर आक्रमण र ह्याकिङको प्रयास गरेको छ । सिरियाका नागरिकमाथि बम बर्साएको छ ।

पूर्वी युक्रेनमा युद्ध भड्काएको छ, जसबाट १० हजारभन्दा बढी युक्रेनीको ज्यान गुमेको छ । अनि, विश्वभरका नागरिकलाई भ्रममा पार्न तथा तर्साउन झुटा समाचार फैलाइरहेको छ । यस्तो माहोलबीच अझै पनि चुप लागेर बस्ने समय हो त ? युक्रेनी नौसेना जहाजमाथि रुसले आक्रमण गरेकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न जी–२० सम्मेलनदौरान पुटिनसँग भेट्न अस्वीकार गरे । यसो गरेर ट्रम्पले सच्चा नेतृत्वकला प्रदर्शन गरेका छन् । ह्वाइट हाउस र कांग्रेसबाट बाट युक्रेनले रक्षात्मक हतियार र सुरक्षित अमेरिकी ऊर्जा आपूर्ति सहयोग प्राप्त गर्दै आएको छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्न रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

युक्रेन र अमेरिका दुवैको संयुक्त सुरक्षामाथि खतरा बर्साउन खोज्ने रुसलाई हामी दुई साझेदारी मुलुक एक भएर असफल बनाउनुपर्छ । क्रिमिया र डोन्बासलाई रुसले हडपिसकेको स्थितिमा अजोभ समुद्रमाथि कब्जा जमाउने अनुमति हामीले रुसलाई दिनु हुन्न । अजोभलाई केन्द्रमा राखेर कडा प्रतिबन्ध लगाई अन्तर्राष्ट्रिय समुदायले रुसलाई जवाफ दिनुपर्छ । तर, पश्चिमा शक्ति केबल बोलिरहेको छ, शक्ति पुटिनले देखाइरहेका छन् । यसर्थ, बोलेर हैन, साँच्चै ठोस कदम चालेर रुसलाई जवाफ दिने समय आएको छ ।

(पोरोसेन्को युक्रेनका राष्ट्रपति हुन्)

“via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

तपाईको प्रतिक्रिया