कांग्रेसमा अब कस्तो निर्वाचन प्रणाली ? - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसमा अब कस्तो निर्वाचन प्रणाली ?

कांग्रेसभित्र केन्द्रदेखि स्थानीय तहसम्म तीव्र गुटगत प्रतिस्पर्धा छ, जुन पार्टीको आन्तरिक राजनीतिका लागि घातक छ

एकल संक्रमणीय निर्वाचन प्रणालीलाई नेपालले राष्ट्रिय सभामा ०४८ देखि नै प्रयोग गर्दै आएको छ । यो प्रणालीको निर्वाचनका कारण राष्ट्रिय सभामा सबै दलको प्रतिनिधित्व हुँदै आएको छ । यसपटक पनि तीव्र मतान्तरबीच अध्यदेशका रूपमा आएको राष्ट्रिय सभा निर्वाचन कानुनमा एकल संक्रमणीय निर्वाचन प्रणालीलाई अंगीकार गरेका कारण ठूलासाना सबै पार्टीको उपस्थिति रहेको सर्वविदितै छ । विश्वका विभिन्न मुलुकमा एकल संक्रमणीय निर्वाचन प्रद्धतिलाई व्यवस्थापिकामा पनि प्रयोग गरेको देखिन्छ । विश्वका कतिपय राजनीतिक दलले पनि यो पद्धतिलाई नै अवलम्बन गरी आवधिक निर्वाचनमा नयाँ नेतृत्व चयन गर्छन् ।

नेपालका सबै राजनीतिक पार्टीभित्र तीव्र गुट–उपगुटबीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । प्रजातन्त्रको वाहक र अहिलेसम्म नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलनको नेतृत्व गरेको कांग्रेसभित्र पनि केन्द्रदेखि स्थानीय तहसम्म तीव्र गुटगत प्रतिस्पर्धा छ । राजनीतिक रूपमा कुनै मुद्दामा नीति, कार्यक्रम र विचारका लागि ध्रुवीकरण हुनुपर्ने हो, सहमति र असहमति राख्दै परिष्कृतीकरण गर्ने सन्दर्भमा पक्ष–विपक्षमा तर्क–वितर्क गर्नुपर्ने हो । तर, त्यो नभई व्यक्तित्व र नेतृत्वका आधारमा पार्टीमा समूह बन्दै आएका छन् ।

जुन पार्टीको आन्तरिक राजनीतिका लागि घातक छ । पार्टीभित्रको अन्तद्र्वन्द्वले मुलुकको लोकतान्त्रिक पद्धतिलाई समेत कहिलेकाहीँ क्षयीकरण गर्छ । तसर्थ ठूला नेता पनि पार्टीभित्र गतिशीलता, क्रियाशीलता गराउन र अनुशासन कायम गर्न नसकिएको स्विकार्छन् । जनता र कार्यकर्ताको चाहनाअनुरूप काम गर्न र पार्टीले गरेका राम्रा कामको प्रचार गर्नसमेत गुट–उपगुटका कारण नसकिएको यथार्थ कसैबाट लुकेको छैन ।

नेताबीच एक–अर्कामा हुने गरेको आरोप–प्रत्यारोपले कार्यकर्ता र जनतालाई निराश बनाउने गरेको छ । त्यसैले जसरी भए पनि गुटलाई व्यवस्थापन गर्नु आजको पहिलो आवश्यकता हो । गाउँ, क्षेत्र र जिल्लामा पुग्दा पार्टीका नेता–कार्यकर्ताले गुटगत प्रभावले योग्य र सक्षम मानिस किनारा लागेको, कुनै गुटमा नउभिएमा पार्टीको भूमिका पाउन, अगाडि बढ्न र स्थापित हुन गाह्रो भएको गुनासो गरिरहेका छन् ।

कांग्रेसभित्र स्थानीय तहदेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म रहेको चुनावी पद्धतिका कारण अधिवेशन र महाधिवेशनका वेला गुट–उपगुटमा विभक्त हुन्छ । आन्दोलनका वेला एकजुट हुने कांग्रेसभित्र आन्तरिक निर्वाचनका वेला दुई फरक शक्तिको निर्वाचन हुन लागेजस्तो गर्दै जित्नका लागि साम, दाम, दण्ड र भेद अपनाउने कार्य भइरहेको छ । चुनावी पद्धतिका कारण गुटको न्यूनीकरण र व्यवस्थापन गर्न जटिल देखिएको छ । पछिल्लो समयमा चुनावी पद्धतिको प्रभाव देखिन सुरु गरेको छ ।

समूहगत रूपमा टिम बनाएर लडिने पुरानो निर्वाचन पद्धतिको विकल्पमा एकल संक्रमणीय निर्वाचन पद्धतिको व्यवस्था विधानमा गरिए यसले पार्टीभित्रको गुट व्यवस्थापनमा समेत सघाउँछ

पार्टीहरू फुट्ने र जुट्ने पनि केही मात्रामा चुनावी पद्धतिका कारण हो । तसर्थ मुलुकको लोकतान्त्रिक शक्ति कांग्रेस कमजोर हुँदा यसका नेता र कार्यकर्ता मात्रै कमजोर नभई राष्ट्रियताको संवर्धन र प्रजातान्त्रिक मूल्य–मान्यतामा गम्भीर प्रभाव पर्छ । प्रजातान्त्रिक पद्धति कमजोर हुँदा आमनागरिकका अधिकार कुण्ठित भएर जान्छन् । लोकतन्त्रको सुरक्षा, राष्ट्रियताको संवर्धन र जनताको अधिकारका लागि कांग्रेस सबल, सक्षम र बलियो हुन आवश्यक छ । बलियो कांग्रेसले मात्रै राजनीतिको मियो भएर, अन्य सबै राजनीतिक दललाई मिलाएर मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने आमनागरिकको विश्वास छ ।

आमनागरिकको त्यो विश्वास कायम राखिरहन पनि कांग्रेसमा रहेको गुट–उपगुट अन्त्य गर्न नयाँ निर्वाचन पद्धतिको विकास आवश्यक छ । संशोधन हुन लागेको पार्टीको विधानमा आगामी महाधिवेशनमा स्थानीय तहदेखि केन्द्रसम्म हुने निर्वाचनमा बहुपदमा एउटा मतदाताले एउटा उम्मेदवारलाई मात्रै मत दिने हो भने समूहमा रहेका पदमा समूहगत रूपमा उम्मेदवार बन्ने प्रचलनमा न्यूनीकरण हुँदै जान्छ । यो निर्वाचन पद्धति अवलम्बन गर्न सकियो भने महाधिवेशन प्रतिनिधिले दिएको मत खेर जाँदैन ।

खसेको सबै मतका साथै लोकप्रिय र त्यागी उम्मेदवारको सम्मान हुन्छ । विजय हुने र पराजय हुने उम्मेदवारबीच तिक्तता रहँदैन किनकि नेताले मलाई कसले मत हाल्यो, कसले हालेन भनेर किटान गर्न सक्दैन । तसर्थ, एकल संक्रमणीय निर्वाचन पद्धतिमा उम्मेदवार मतदाताबीच सम्बन्ध कायमै रहन्छ ।

अर्कातर्फ अहिलेको निर्वाचन प्रणालीमा गुट–उपगुटलाई निर्वाचित हुन निश्चित मत कोटा पार गर्नुपर्छ । तर, यो पद्धतिमा मतदाताले उम्मेदवारको प्राथमिकता क्रम निर्धारण गरेपश्चात् जुन उम्मेदवारले प्राथमिक मतसहित निश्चित कोटा पार गर्छ, त्यसलाई तत्काल निर्वाचित भएको घोषणा गरिन्छ । यसरी घोषणा गर्दा निर्वाचित उम्मेदवारलाई प्राप्त आवश्यक कोटाभन्दा बढी मत नियमानुसार दोस्रो प्राथमिकता क्रमका उम्मेदवारलाई वितरण गरिन्छ र यसरी मत वितरण गर्दा सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई क्रमशः हटाउँदै लगिन्छ । त्यसैले एउटा मतदाताले एउटा उम्मेदवारलाई मात्रै मत दिने भएकाले गुट बनाइरहन नेताले आवश्यकता देख्नेछैनन् ।

तसर्थ, अहिले कांग्रेसले एकल संक्रमणीय पद्धतिका आधारमा कांग्रेसभित्र निर्वाचन गर्नुपर्छ । नेता, कार्यकर्ताले पनि गुट–उपगुट अन्त्य गर्न यही निर्वाचन पद्धति नै कोसेढुंगा साबित हुने धारणा राखिरहेका छन् । यो पद्धति लागू भएमा समूह–उपसमूह नभई गुट अन्त्य हुने र जनतामा स्थापित भएका, कार्यकर्तामाझ लोकप्रिय, योग्य, सक्षम मानिसले सहजतापूर्वक स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचनमा सफलता प्राप्त गर्न सक्ने वातावरण निर्माण हुन सक्छ ।

कांग्रेसका स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरू सफल हुने अवस्था निर्माण भएमा गुट–उपगुट अन्त्य भई सबै पार्टीको नीति र सिद्धान्तप्रति बफादार भएर लाग्छन् र संगठन बिस्तारै सुदृढ हुन सक्छ । अहिलेको अवस्थामा एउटा गुटको नेतृत्वमा पार्टी छ भने अर्को गुटका नेताले आफू असफल भएको महसुस गर्छन् ।

पार्टीको सफलतामा सबै नेताको सफलता र कांग्रेसको सफलतामा मुलुकको सफलताको भावना प्रतिबिम्बित गर्न गुट न्यूनीकरण गर्नु आवश्यक छ । त्यसका लागि पुरानो समूहगत रूपमा टिम बनाएर लडिने निर्वाचन पद्धतिको विकल्पमा एकल संक्रमणीय निर्वाचन पद्धतिको सुरुवात गर्ने व्यवस्था विधानमा गर्नुपर्छ । यति गर्न सकिए कांग्रेसलाई कार्यकर्ता र जनताले चाहेजस्तो बनाउन सकिन्छ ।

(कांग्रेस केन्द्रीय सदस्य खाण प्रतिनिधिसभामा  पार्टीका प्रमुख सचेतक हुन्)

तपाईको प्रतिक्रिया