कांग्रेसमा खुलाबाट २० लाख पार्टी सदस्यको बहस - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसमा खुलाबाट २० लाख पार्टी सदस्यको बहस

कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले खुला सदस्यताले पार्टीलाई नागरिकको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका हुन् । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेपछि अर्को निर्वाचनसम्म उनीहरूसँग प्रतिस्पर्धी पार्टी बन्न सदस्यतालाई लचिलो बनाउनुपर्ने तर्क युवा नेताहरूको छ ।

विधान मस्यौदा समितिमा रहेका नेता प्रदीप पौडेलले सुरुमा कांग्रेसले सदस्यतालाई खुला गर्नुपर्ने र एकथरी मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । यसअघि केन्द्रीय सदस्यहरू श्याम घिमिरे, गगन थापासहितका युवाहरूले कांग्रेसमा युवाहरूको आकर्षण बढाउन दुईथरी सदस्यताभन्दा खुला रूपमा एकथरी मात्रै सदस्यता दिनुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यता खुला रूपमा दिएर २० लाख पार्टी सदस्य पु-याउनुपर्ने माग गरे । रमेश लेखक, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे (क्रियाशील हटाउनु हुँदैन, तर सदस्यता खुला हुनुपर्छ भन्नेमा) सहितका नेता पनि खुला सदस्यकै पक्षमा छन् ।

‘कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य छन्,’ प्रवक्ता शर्माले भने, ‘अब खुला रूपमा सदस्यता दिएर कांग्रेसमा २० लाख सदस्य पु-याउनुपर्छ ।’ बैठकमा डा. मीनेन्द्र रिजालले कांग्रेसलाई आमनागरिकको पार्टी बनाउन सदस्यता खुला राख्नुपर्ने तर्क गरे । अर्का नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता राखे पनि कार्यकर्ता र जनसमुदायमा आधारित पार्टी बनाउने गरी सुझाब दिए ।

कांग्रेसमा यसअघि साधारण र क्रियाशील गरी दुईथरी पार्टी सदस्य रहने प्रावधान थियो । साधारण सदस्यता लिएको दुई वर्षमा सक्रिय सदस्यता लिन पाइन्थ्यो । तर, संशोधित प्रस्तावमा ‘नेपाली कांग्रेसको सदस्य’ हुने र सदस्यता लिएको एक वर्षमा नवीकरण गर्दा क्रियाशील पाइने उल्लेख छ ।

युवासहितका नेताहरू खुला र एकथरी मात्रै सदस्यता दिनुपर्ने पक्षमा भए पनि पुराना नेताहरू पहिलेजस्तै दुई थरी नै सदस्यताको प्रावधान राख्नुपर्ने पक्षमा छन् । बैठकमा दिलबहादुर घर्ती, जीवन परियार, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले समावेशी प्रतिनिधित्वको आधारमा पार्टीमा पदहरूको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कसले के भने ?
-८५ प्रतिशत निर्वाचित गर्नुपर्छ अर्जुननरसिंह केसी
-सदस्य २० लाख पु-याउनुपर्छ विश्वप्रकाश शर्मा
-आमनागरिकको पार्टी बनाऔँ डा. मीनेन्द्र रिजाल
-केन्द्रीय सदस्य आजीवन जित्न नसक्ने  वीरबहादुर बलायर
-महासमितिमा हिन्दू राष्ट्रको मुद्दा शंकर भण्डारी

बैठकमा कसले के भने ?
सदस्य २० लाख पुर्‍याउनुपर्छ : विश्वप्रकाश शर्मा
कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य छन् । अब खुल्ला रुपमा सदस्यता दिएर २० लाख सदस्य बनाउनुपर्छ । नेपाली कांग्रेसको सदस्य भनेर एकखाले सदस्यता मात्रै दिउँ ।

सरकार र पार्टीबीचको द्वन्द्वका विषयमा बिपीले लेख्नुभएको सामग्रीभन्दा अरु हामीसँग छैन । त्यसैले यस्तो द्वन्द्वका विषयमा विधानले प्रष्ट पारेर जाउँ । संघीय संरचनामा गएसँगै कांग्रेसको केन्द्र, प्रदेश, जिल्लाबीचको सम्भावित द्वन्द्वलाई प्रष्ट पानुपर्छ । द्वन्द्व हुने छनक स्थानीत तह, प्रदेश र केन्द्रको अभ्यासले देखाइसकेको छ । हामीले पनि विधानमा आउँन सक्ने सम्भाव्य द्वन्द्वबारे अहिले नै आँकलन गरेर आपसी र समन्वय र तालमेललाई प्रष्ट पार्नुपर्छ । निर्वाचनमा टिकट वितरणको कुराले भएको कमजोरीको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि प्रष्ट पारेर जानुपर्छ ।

निर्वाचनमा पार्टीले विजय प्राप्त जस दिदैनौं तर, पराजय भएपछि आलोचना गर्छौ । यस्तोमा नेतृत्वको विषयमा विश्वसाको मत लिने भन्ने व्यवस्था राखौं ।अनुशासनको कारवाहीलाई विषयलाई प्रष्ट र बाध्यकारी बनाउनुपर्छ ।

केन्द्रीय सदस्य आजीवन जित्न नसक्ने : वीरबहादुर वलायर
कांग्रेसका नेताहरुका आ–आफ्ना विचार आए तर, कांग्रेसलाई राम्रो गर्ने विचार आएनन् । हामी नेताहरु कमजोर कांग्रेसमा बलियो नेता हुन खोज्दैछौं । हामीले युवालाई पनि पदाधिकारीसहितमा अवसर दिएकै हो । सबै युवा राम्रा र सबै पाका नेता नराम्रा भन्ने अतिवादमा कोही पनि जानुहुन्न । धेरै दुःख र त्याग गरेका नेताहरु हामीसँग हुनुहुन्छ । कांग्रेसका आफ्नै विधि र मान्यता छन् ।

धेरै विषयमा रुपान्तरण गर्न जरुरी छ । तर, पार्टी हाम्रा हारेका नेताहरु जिल्ला गएर अरुलाई दोष लगाउँदै कांग्रेसका मान्छे होइन । आफ्ना मान्छे बनाउन तम्सिरहनुभएको छ । तपाईहरु कोही (केन्द्रीय सदस्य) आफू आजीवन जित्न नसक्ने पनि हुनुहुन्छ । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मात्र मात्र दोषी भनेर मुक्ति पाइदैन । आफू जितेर आउँ अनि अरुलाई उपदेश दिउँ । अधिकारलाई सुनिश्चित गरेको संविधान अनुसार समावेशी आधारमा समावेशी पार्टी नबनाइ हाम्रो पार्टी सुध्रिदैन ।

महासमितिमा हिन्दुराष्ट्रको मुद्दा : शंकर भण्डारी
महासमिति बैठकमा हिन्दु राष्ट्रको मुद्दाले प्रवेश पाउनुपर्छ । राजनीतिक प्रस्तावमैं यो विषय उल्लेख गरेर जानुपर्छ । किनकी हिन्दु धर्म नेपालको पहिचान र आर्थिक समृद्धिको आधार हो । यो दलभन्दा माथिको कुरा हो ।

कांग्रेसमा सामूहिक नेतृत्वको असफल भयो अब सभापतीय प्रणालीमा जानुपर्छ । संघीय संरचनामा देश गएकोले अब ठूलो केन्द्रीय कार्यसमितिकोे जरुरी छैन ।

८५ प्रतिशत निर्वाचित गर्नुपर्छ : अर्जुननरसिंह केसी
बहुमतका आडमा सबै आफुले चाहे जस्तै निर्वाचित एकाईहरू भङ्ग गर्ने विधान व्यस्थालाई हटाउनुपर्छ । विशेष परिस्थितिको ब्याख्या सहमति वा केन्द्रीय कार्यसमितिको दुई तिहाई बहुमतबाट गरिनुपर्छ । क्रियाशील सदस्य रहनुपर्छ । कांग्रेसको पार्टी संगठनलाई कार्यकर्तामा आधारित (क्याडर बेस्ड्) र जनसमुदायमा आधारित, बीचको संयोजनपूर्ण बाटोबाट अघि बढाउनुपर्छ । पार्टीका सबै पदाधिकारी संसदीय समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, अनुशासन समितिका अध्यक्ष र सदस्यहरू लगायत ८५ प्रतिशत केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । केन्द्रीय कार्यसमितिको संख्या बढाउनु आवश्यक छैन । पार्टीको विधानमै एक व्यक्ति एक पदको प्रावधान राख्नुपर्छ ।

नयाँ पुस्तालाई आकर्षण दिने र नेतृत्वको विकास गर्ने अवसर र वातावरण पार्टीभित्र संस्थागत रुपले विकसित गर्नुपर्छ । सामुहिक नेतृत्वमा जानुपर्छ ।

कांग्रेसललाई आम नगारिकको पार्टी बनाउँ : मिनेन्द्र रिजाल
कांग्रेससामू ठूलो चुनौती छ । कम्युनिष्ट पार्टीको असफलता नै हाम्रो सफलता होइन । कम्युनिष्ट सरकार असफल हुने पक्का छ । तर, हामी सफल हुन जरुरी छ । तर, हाम्रो चुनौती नेतृत्वले अझै बुझेन । शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच ग्याप छ । हामीलाई उहाँहरुले चुनौती बुझनुभएन भन्ने लाग्छ । गगन थापाहरुलाई हामीले चुनौती बुझेनौं भन्ने लाग्छ । अरु युवाहरुलाई गगन थापाहरुले चुनौती बुझेनन् भन्ने लाग्छ ।

कांग्रेस स्वार्थी सदस्यको पार्टी होइन । आम नागरिकको पार्टी हो । कांग्रेसलाई आम नागरिकको पार्टी कसरी बनाउने भन्नेमा लाग्नुपर्छ । शेरबहादुर र रामचन्द्रलाई हटाएर मात्र समस्या समाधान हुन्न । यत्ति लामो संघर्ष भएको पार्टी अर्को छै । तर, हामी पार्टी अन्तर्मुखी भयो । आम नागरिकको पार्टी बनाउँ । यसको लागि सदस्यता खुल्ला हुनुपर्छ । १४ औं महाधिवेशनमा परिणामको चिन्ता लाग्छ भने जसरी सुविधा हुन्छ लड्नुस् । तर, १४ औं महाधिवेशन सकिएको दिनमा कुनै पनि नेपाली नागरिक जो आफूलाई कांग्रेस हुँ भन्छ उसको पार्टी कांग्रेस बनाउँ ।

तपाईको प्रतिक्रिया