आइओसीले बक्सिङ संघसँग सहकार्य नगर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

आइओसीले बक्सिङ संघसँग सहकार्य नगर्ने

आइबाको साधारणसभा र निर्वाचनमा सहभागिता जनाएका नेपाल राष्ट्रिय बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाली बक्सिङको विकासमा सहयोग गर्ने व्यक्तिलाई मतदान गरेको टिप्पणी गरे

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले सम्बन्धित राष्ट्रका राष्ट्रिय बक्सिङ संघसँग सहकार्य नगर्ने भएको छ । ३ नोभेम्बरमा मस्कोमा भएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)को निर्वाचनमा सहयोग गरेका सम्बन्धित राष्ट्रिय बक्सिङ संघसँग कुनै पनि गतिविधिमा सहकार्य र सहयोग नगर्ने निर्णय आइओसीको मंगलबार टोकियोमा बसेको कार्यसमितिको बैठकले गरेको हो । आइओसीको यो निर्णय नेपाल बक्सिङ संघलाई पनि लागू भएको देखिन्छ ।

संघले आइओसीसम्बन्धी  कार्यक्रम गर्न नपाउने
आइओसीसँग जोडिएको सोलिडारिटीलगायत कार्यक्रम बक्सिङ संघले गर्न नपाउने बुधबार ओलम्पिक सोलिडारिटीका निर्देशक पेरे मिरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘ओलम्पिकसँग सम्बन्धित वा ओलम्पिकको सहयोगमा हुने कार्यक्रमहरू अबउप्रान्त राष्ट्रिय बक्सिङ संघहरूले गर्न पाउनेछैनन्,’ निर्देशक मिरोले भने, ‘तत्कालका लागि आइओसीले त्यस्ता कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ ।’ आइओसीका थोमस बाच, ओलम्पिक सोलिडारिटी कमिसनका प्रमुख रोविन मिचेल तथा आइओसीका स्पोर्टस् डाइरेक्टर किट म्याककोनेललाई यसबारे उनले जानकारी गराएका छन् ।

यता बक्सिङ संघकै एक पदाधिकारीले आइओसीको पछिल्लो निर्णयले घुमाउरो रूपमा नेपाल बक्सिङ संघमाथि प्रतिबन्ध लागेको दाबी गरेका छन् । ‘जब आइओसीले नै सोलिडारिटी कार्यक्रम सम्बन्धित संघले गर्न नपाउने भनेको छ, यसको सीधा अर्थ आइओसीले सम्बन्धित राष्ट्रिय बक्सिङ संघमाथि घुमारो रूपले प्रतिबन्ध लगाएको हो,’ उनले भने, ‘नेपालले पनि रहिमोभलाई सहयोग गरेका कारण नै आइओसीले यस्तो निर्णय गरेको बुझिन्छ ।’

आइबाको निर्वाचनमा सहयोग गरेका राष्ट्रिय बक्सिङ संघहरूले ओलम्पिक सोलिडारिटीलगायत कार्यक्रममा समन्वयन नगर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मंगलबार टोकियोमा बसेको कार्यसमितिको बैठकले निर्णय गरेको छ

एनओसीले गर्न सक्ने
सोलिडारिटीलगायत कार्यक्रम राष्ट्रिय बक्सिङ संघले गर्न नपाउने बैठकले निर्णय गरे पनि त्यस्ता कार्यक्रमहरू त्यहाँका राष्ट्रिय ओलम्पिक कमिटीले गर्न पाउने मिरोले जनाएका छन् । यस अर्थमा अब नेपालमा बक्सिङ संघले गर्ने ओलम्पिकअन्तर्गतको सोलिडारिटी कार्यक्रमहरू नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गर्नेछ । यदि राष्ट्रिय ओलम्पिक कमिटीले समेत नगरे सीधै आइओसीले आफ्नै पहलमा ओलम्पिक सोलिडारिटीलगायत कार्यक्रम गर्ने निर्देशक मिरोले जनाएका छन् । ‘राष्ट्रिय बक्सिङ संघलाई हामी कुनै पनि रूपमा सहयोग गदैनौँ, ओलम्पिक सोलिडारिटी कार्यक्रमहरू राष्ट्रिय ओलम्पिक कमिटीले गर्न सक्छ,’ निर्देशक मिरोको विज्ञप्तिमा भनिएको छ, ‘यदि बक्सिङ संघले त्यस्ता कार्यक्रम गरे त्यसमा हाम्रो कुनै आर्थिक सहयोग रहनेछैन ।’

रोक्का बजेट निकासा
एकातिर आइओसीले सम्बन्धित राष्ट्रका बक्सिङ संघलाई कुनै पनि कार्यक्रम गर्न नपाउने भनेको छ भने अर्कोतिर आइओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत रोकिएको बजेट निकासा गरेको छ । खेलाडीको सहभागिता रहने सोलिडारिटी कार्यक्रमका ‘फ्रिज’ भएका बजेट निकासा गर्ने निर्णय भएको ओलम्पिक सोलिडारिटीका डाइरेक्टर मिरोले जनाए । ‘टोकियोमा भएको आइओसीको कार्यसमिति बैठकले खेलाडीका लागि प्रयोग हुने ओलम्पिक सोलिडारिटी कोर्स पुनः सुचारु गरेको छ,’ उनले भने ।

३ नोभेम्बरमा मस्कोमा भएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)को निर्वाचनमा उज्वेकिस्तानका गफुर रहिमोभलाई अध्यक्षमा निर्वाचित गराउन सहयोग गरेका बक्सिङ संघहरूसँग सहकार्य नगर्ने आइओसीको निर्णय

नेपाल पनि निर्वाचनमा सहभागी
मस्कोमा ३ नोभेम्बरमा भएको आइबाको कार्यसमिति निर्वाचनमा नेपालले पनि प्रतिनिधिका रूपमा सहभागिता जनाएको थियो । नेपालबाट नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले भाग लिएका थिए । आइबा अध्यक्षमा निर्वाचित उज्वेकिस्तानका गफुर राहिमोभलाई नेपालको समर्थन थियो ।

यद्यपि बक्सिङ संघका धेरैजसो पदाधिकारीले रहिमोभको पक्षमा मतदान गर्न नहुने निर्देशन दिए पनि उनकै पक्षमा नेपालबाट मत खसेको थियो । फौजदारी मुद्दा खेपिरहेका व्यक्ति आइबाको अध्यक्ष हुन नहुने जोड आइओसीको थियो । बक्सिङ संघका अध्यक्ष अवालेले मस्कोमा निर्वाचनका क्रममै आइओसीका अधिकारीहरूले रहिमोभलाई नजिताउनेकिसिमको लबिङ भएको बताए ।

‘मस्को निर्वाचनमा त्यस्तै किसिमको हल्ला चलेको थियो, आइओसीले रहिमोभ अध्यक्ष नबनोस् भन्ने चाहना राखेको थियो,’ अवालेले भने, ‘तर यहाँसम्म आइओसीले स्टेप चाल्छ भन्ने अनुमान थिएन ।’ उनले आइओसीको पछिल्लो निर्णयबारे आफूलाई केही जानकारी नभएको बताए । ‘आइओसीले राष्ट्रिय बक्सिङ संघसँग समन्वय नगर्ने किसिमको पत्र मैले पाएको छैन र यसबारे मलाई केही पनि थाहा छैन,’ उनले भने, ‘यसबारे जानकारी लिनेछु ।’ आइबाको निर्वाचनमा नेपालको विकासमा सहयोग गर्ने व्यक्तिलाई नै सहयोग गरेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु