किम–ट्रम्प दोस्रो शिखर वार्ताको भविष्य - Naya Patrika
eNaya Patrika
  • ePaper

किम–ट्रम्प दोस्रो शिखर वार्ताको भविष्य

अर्जेन्टिनामा हालै सम्मन्न जी–२० सम्मेलन समापनलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच दोस्रो शिखर वार्ता हुने घोषणा अमेरिकी प्रशासनले ग-यो । सन् २०१९ को सुरुवातमै किम–ट्रम्प दोस्रो शिखर वार्ता हुने घोषणा ट्रम्प प्रशासनले गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत मंगलबार पत्रकारलाई दिएको जानकारीअनुसार किमसँग वार्ता गर्ने योजनामा ट्रम्प छन् । शिखर वार्ताका लागि सम्भावित तीन स्थानबारे छलफल भइरहेको ह्वाइट हाउसले बताएको छ । यद्यपि, सम्भावित वार्ता स्थलबारे अहिल्यै खुलाइएको छैन ।

अमेरिका र उत्तरकोरियाबीचको अघिल्लो सहमतिमा कुनै प्रगति नभएको स्थिर अवस्थामा वासिंटनले दुई नेताबीच अर्को शिखर वार्ता गर्ने घोषणा गरेको छ । दशकौँदेखि दुई देशबीच व्याप्त शत्रुता अन्त्य गर्दै सम्बन्ध सुधार गर्न दुई देशका राष्ट्रप्रमुख वार्ताको टेबलमा बस्नु वर्तमान विश्वको माग हो ।

किम–ट्रम्प दोस्रो शिखर वार्ता सफल बनाउन उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो बनाएर उसलाई परमाणु निःशस्त्रीकरणको बाटोमा हिँडाउन ट्रम्प तयार हुनुपर्छ

गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा भएको पहिलो शिखर वार्ताले यस्तो आशा जगाएको थियो । तर, सो शिखर वार्ताले दिएको आशा वास्तविकतामा परिणत हुन सकेको छैन । यसकारण, यसपटकको वार्ता सफल बनाउने हो भने ट्रम्प व्यावहारिक र लचक हुन उत्तिकै जरुरी छ । ठोस योजना र संयन्त्रको अभाव हुँदा उत्तर कोरियाको परमाणु निःशस्त्रीकरण मुद्दा अझै अनिश्चित मोडमा छ ।

उत्तर कोरियाले परमाणु निःशस्त्रीकरण नगरेसम्म उसमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाउने अमेरिकी ढिपी नै अहिले निःशस्त्रीकरण प्रक्रियाको बाधकका रूपमा देखिएको छ । तर, कुनै विश्वासिलो आधारविनै अमेरिकीबाट आएको एकतर्फी अडानलाई उत्तर कोरियाले स्विकारेको छैन ।

अहिले किम–ट्रम्प दोस्रो शिखर वार्ताको चर्चा अमेरिकाले गरिरहँदा अमेरिकाले लचकता नदेखाउने तथा सम्झौताको बिन्दु पहिल्याउन नसक्ने हो भने अबको वार्ताले पनि कुनै सकारात्मक परिणाम दिन सक्दैन । यस्तो स्थितिमा अमेरिकाको विदेश नीतिमै समस्या देखिनेछ ।

किमसँग वार्ता गर्नु हुन्न भन्ने आवाज पनि अमेरिकाभित्र छ भन्ने यथार्थलाई नजरअन्दाज गर्नु हुँदैन । परम्परावादी अमेरिकीले उत्तर कोरियासँगको वार्तालाई अलोचना गर्दै आएका छन् । प्रतिबन्ध थप कडा बनाएर उत्तर कोरियामाथि दबाब दिनुपर्ने बुझाइ परम्परावादीको छ ।

यसकारण, बढ्दो घरेलु दबाबका कारण ट्रम्प लचिलो हुन नसके अबको शिखर वार्ता पनि उपलब्धिविहीन नहोला भन्न सकिन्न । त्यसो भए समाधानको बाटोचाहिँ के हो  त ? यसका लागि ट्रम्प स्वयं व्यावहारिक हुनैपर्छ । घरेलु राजनीतिमाथि उनले नियन्त्रण बनाउन सक्नुपर्छ । यस्तो हुन सके मात्र वार्ता सफल हुन सक्छ । परम्परावादी घरेलु राजनीतिक आलोचकले के भन्लान् भन्ने भन्दा पनि उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो बनाएर उत्तर कोरियालाई परमाणु निःशस्त्रीकरणको बाटोमा हिँडाउन ट्रम्प तयार हुनुपर्छ । यस्तो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वागत गर्नेछ । यसैबाट कोरिया प्रायद्वीपको शान्ति र स्थायित्वको बाटो खुल्नेछ ।

(लेखक अन्तर्राष्ट्रिय मामिलासम्बन्धी बेलायती  समालोचक हुन्)चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट

तपाईको प्रतिक्रिया