संकटा दोस्रो स्थानमा - Naya Patrika
eNaya Patrika
  • ePaper

संकटा दोस्रो स्थानमा

छैटौँ खेलमा पाँचौँ जित निकाल्दै संकटा क्लब जारी सहिदस्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विभागीय जाइन्ट नेपाल पुलिसलाई २–१ ले हराउँदै संकटाले लिगमा पाँचौँ जित निकाल्यो । संकटा जारी सिजनमा १० मंसिरमा आर्मीसँग भएको खेलमा ५–१ ले पराजित भएको थियो, जुन उसको ६ खेलमा एक मात्र हार हो ।

पहिलो हाफमै ३ गोल

संकटा र पुलिसबीचको खेलमा पहिलो हाफमा ३ गोल भएका थिए । संकटाले खेलको २९औँ मिनेटमा अग्रता बनायो । सरोज दाहालले लक्ष्मण रुचालको कर्नरमा हेडमार्फत आकर्षक गोल गरेपछि संकटाले पुलिसमाथि दबाब बढाएको थियो ।

अग्रता दोब्बर बनाउनेक्रममा ३६औँ मिनेटमा दीपेश आलेले दोस्रो गोल गरे । खेलमा २–० ले पछि परेपछि आक्रामक बनेको पुलिसले एक मिनेट नबित्दै गोल फर्कायो । त्यसपछिको समयमा दुवै टिम गोल गर्न असफल हुँदा पुलिस संकटासँग पराजित भयो ।

एनआरटी निरन्तर पराजित

लिगअन्तर्गत नै एनआरटीको पराजययात्रा रोकिएको छैन । पहिलो खेलमा आर्मीलाई २–२ गोलको बराबरीमा रोकेयता लगातार पराजय बेहोरेको एनआरटी पाँचौँ खेलमा एपिएफसँग २–१ ले पराजित भयो । एपिएफलाई जित दिलाउन युवराज लामा र सुदीप सिख्राकारले १–१ गोल गरे  । एनआरटीका राजेश परियारले १ गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

तस्बिरः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया