झुप्रो डान्सबार - Naya Patrika
eNaya Patrika
  • ePaper

झुप्रो डान्सबार

‘माइली ए माइली बेलनचौका मागेर ल्या त ।’
पराँतभरि पिठो मुछिसकेर जेठीले
माइलीलाई अह्राई ।
ढोकाको डिलमा उभिएकी माइलीले झर्किंदै ‘जान्नँ म’ भनेको भित्रै सुनियो । जेठीको मन खिन्न भयो । जेठीभन्दा एक वर्ष कान्छी हो माइली । जो ढोकाको डिलमा उभिएर मोबाइल खेलाइरहेकी थिई । माइली साह्रै नक्कले हो । पन्ध्रवर्षे उमेरले होला । पीपलको कलिलो पात हरियो बन्ने चरणको जस्तै छ, माइलीको बैंस । जसलाई स्वयं माइलीले नै बुझेकी थिइन ।


चुलोको छेउमा पराँतमाथि नै हात माडिरहेकी जेठीले आमा धनालाई हेरी । धना भुइँमा पल्टिएकी थिई । धनाको पल्टिएको शरीरलाई भुत्ते थाङनोले अनुहारसम्म ढाकेको थियो । धना केही बोल्न नचाइरहेको जेठीले थाहा पाई । तैपनि धनाले माइलीलाई अह्राइदिएहुन्थ्यो भन्ने लागेर आमालाई गुहारी, ‘आमा यो माइलीले भनेको कत्ति मान्दिन ।’
धनाले चिम्लेका आँखा खोल्दै जेठीलाई हेरी । अनुहार छोपेको सिरकलाई अलिकति सारेर हेर्दा बाहिरी उज्यालोले ज्योति नै टपक्क टिपुलाझैँ ग-यो । तर, धनाको मनमा कत्ति उज्यालो थिएन भन्ने जेठीले महसुस गरिरहेकी थिई । धनाको अनुहारको घाउ देखेर जेठी गनगनाई, ‘कम बोल आमा भनेको मान्दिनौँ । धन्न फुटेनछ आँखा ।’
जेठीको कुरा सुनेर धना केही बोलिन । तर, धनालाई एकोहोरो हेर्दा जेठीका आँखामा आँसु
बिझाउँदै आयो ।
आमाको चोट यही आँसुसँगै पखालिन्थ्यो भने ऊ रोइदिन तयार थिई । तर, आमाको दुखाइ कम होस् भन्ने कामना गर्न सिवाय केही सक्दिनथी जेठी । हिजो साँझ सन्चै आमा छाडेर गएकी थिई । कामबाट राति अबेर फर्किएर सुतिहाली । बिहान धना ओछ्यानबाट उठ्नै नसक्ने अवस्थामा भेटिई ।
‘के भयो फेरि ?’ उठ्ने बित्तिकै जेठीले धनालाई सोधेकी थिई ।
‘तेरो बाउले खान लाग्यो नि ।’ धनाले मन मारेर भनेको सुन्दा जेठीको मन भरंग भएको थियो । उसलाई कतै एकान्तमा गएर रोइरहूँ भाथ्यो । त्यो एकान्त आफ्नो हृदयभन्दा पर देखिनँ ।
बाउ ? जेठीको मनमा प्रश्न बनेर बाँचेको मान्छे थियो । जसलाई बाउ भन्न सक्दिन । तर, आमाको मायाले ऊ धनाको यो झुप्रोमा आएकी थिई ।
आङको सिरकलाई पन्छाउँदै धनाले ज्यान उठाई । दुखाइ फुसफुसाई । जेठीका आँखा धनाको आँखामा प-यो । धनाको आँखीभौँमुनि पाक्दै गरेको पिलोझैँ निलो थियो । दाहिने ओठ सुन्निएको र नाकको डाँडीको छाला च्यातिएको थियो ।
धना अडेसिएर बसी । केही नबोली जेठी भुइँतिरको पराँततिर हेर्छे ।
‘माइली जा जा मागेर ल्या ।’ धना बोल्नै नचाहेर पनि माइलीलाई बेलनचौका मागेर ल्याउन भन्छे ।
‘बेलनचौका किन्न पनि नसक्ने,’ माइली गनगनाएको भित्र जेठी र धनाले सँगै सुने । दुखेको अनुहारको वास्तै नगरी धनाले माइलीलाई चर्कै हप्काई, ‘धेरै चोथाले न हो । तेरो बाउले नकिन्देपछि म कहाँ गएर ल्याऊँ ?’
‘त्यस्ता नि बाउ हुन्छन्,’ माइली जर्किएर गनगनाई । धना र जेठीका आँखा जुधे । दुवै केही बोल्न सकेनन् । एकछिन छाप्रोले मात्रै सास फेरिरहेझैँ भो ।
धना पोइल आएकी थिई । आफूभन्दा कान्छो बलबहादुर मिस्त्रीसँग धनाको दोस्रो घरजम हो । बलेसँग बिहे भएको दुई वर्षपछि यी छोरी आमा खोज्दै आए । यो दुई वर्षमा आफूमुनिका तीन बहिनीलाई बडो दुःखले पाली जेठीले ।
साँच्चै बाउ होइन बले । तर, बा सम्बोधन गर्न‘ त पथ्र्यो नै । आमाले लोग्ने बनाएपछि छोरीहरूले बा भन्नै पथ्र्यो । तर, सबैले अंकल नै भन्थे ।
त्यही अंकल (बाउ) ले जन्म दिने आमालाई यसरी चोटैचोट दिएको देखेर जेठी भित्रैभित्र्र पिरोलिन्थी । धनाको बोल्ने बानी अलि बढी हो । लोग्ने मान्छेले हेपेर बोलेको कत्ति सहन्थिन् धना । बले सधँै पिएर आउँथ्यो र धनालाई होच्याउँथ्यो । फोहोरफोहोर गाली गथ्र्यो । धना बलेको यस्तो आनीबानीसँग रिसाएर सम्झाउँदा बले हात छोड्थ्यो । अनि सँगै दुवैजना लड्थे ।
धेरैपछि धनाको ज्यान दुख्थ्यो । देखिने–नदेखिने चोट धनाले पाउँथी । बिहान बले बलका साथ निस्किन्थ्यो । धना निर्बलका साथ ओछ्यानमै हुन्थी ।
‘अझै गाछैनस् माइली ?’ यतिखेर चर्कै बोली धना । माइली रिसमा नाक तान्दै चारतले घरतिर जान लाग्दा धनाकी ठाइँली छोरी ढोकाको डिलमा टुप्लुक्क आइपुगी । १२ वर्षकी ठाइँली गीत गाउँदै कम्मर मर्काएको जेठीले देखी । झन्किएकी माइलीले ठाइँलीलाई प्याट्ट हान्दै दौडिई ।
‘मरिजा’ ठाइँलीले माइलीलाई थुक्दै गाली गरेको जेठी र धनाले सुने । जेठीले धनाको आँखामा हेरेर खिस्स हाँसेझैँ गर्ने चेष्टा गरी । ठाइँलीले भने भित्रतिर हेर्दै आमालाई कुरा लगाई, ‘आमा माइलीले त्यस्सै हान्छे ।’
धना केही बोलिन ।

०००
मध्य दिन । घामलाई अघिल्लो चारतले घरले छेकिदिएको थियो । छायामा परेको लामो कटेरोमा तीनवटा कोठा थिए । कोठालाई जस्तापाता र प्लास्टिकले छाएको थियो ।
लाइनै जस्ता हालेका तीनवटा छाप्रा । घरबेटीले एउटा कोठालाई गोदामै बनाए । एउटामा धनाका परिवार, अर्कोमा धनाको अमाजू सेती भाडामा बस्दै आएको पनि वर्ष दिन भयो । यो कोठा यही सेतीले खोजिदिएकी थिई । र, सेतीले नै जेठीलाई काम लगाइदिएकी थिई ।
जेठी ढोकाको बाहिरपट्टि जगको पानीले हात धुन टुक्रुक्क बस्दा अर्को ढोकामा ब्रस गरिरहेकी सेती देखिई ।
सेती भर्खर उठेर दाँत माझिरहेको लाग्यो जेठीलाई । जेठीले रोटी हाल्न बेलनचौकाको कुरा गरेको सेतीले थाहा पाएकी थिई ।
‘रोटी हाल्न ला’को फुपू बेलनचौका नै रैनछ ।’
थाल घोप्ट्याएर बियरको बोतल पुछेर बेल्न सुझाब दिँदै सेतीले पिच्च मुखभरिको तुथपेस्ट थुकी । कुरा गर्दागर्दै माइली रित्तै फर्किएर भित्र पसी । जेठी खिन्न भई । सेतीको अनुहार हेरेर भित्र आई । माइलीलाई हेरी ।
माइली भित्र फुटेको ऐनामा हेर्दै आँखीभौंका रौंलाई धागोले तान्न लागी । जेठीलाई रिस र हाँसो सँगै उठिरहेको थियो । भित्तामा अडेसिएकी धनाले राइनीको घरबाट मागेर ल्याउन भनी ।
माइली केही चाल गर्दिन । जेठी प्याज काटेर आलुको दाना खाटमुनि निहुरिएर छामछुम गर्दै थिई, मुसा दौडिएको पूरै छाप्रोमा सुनियो । दुई दाना आलु भेट्टाई । मुसाले आधा–आधा कोपारेका थिए ।
‘राँडीको बान मुसाले पनि केही राख्ने भएन,’ जेठी आलुको दाना हेर्दै मुसासँग नै रिसाई । त्यही वेला माइलीले थपी, ‘अँ बाइ, मुसाले मेरो पेन्टी पनि काटिदिएको रहेछ ।’
‘काटेकै पेन्टी लगाइस् त ?’ जेठीले आलु ताछ्दै भनी ।
‘ठाइँलीले लगाएकी छे ।’
‘तैंले के लगाइस् त ?
‘तेरो !’ माइलीले यत्ति भन्नेबित्तिकै जेठीले हातको आलु र चक्कु छाडेर माइलीले नबाँधेको कपाल समाएर ढोकाबाट धकेल्दै अह्राई, ‘राइनीकाँ होला माग् त ।’

धना पोइल आएकी थिई । आफूभन्दा कान्छो बलबहादुर मिस्त्रीसँग धनाको दोस्रो
घरजम हो । बलेसँग बिहे भएको दुई वर्षपछि यी छोरी आमा खोज्दै आए । यो दुई वर्षमा आफूमुनिका तीन बहिनीलाई बडो दुःखले पाली जेठीले ।

०००
‘आमा मुख धौ,’ पिठोको अन्तिम डल्लोलाई बेलनले चौकामा बेल्दै जेठीले भनी ।
धना उठ्नै मन नगरेको महसुस गर्छे जेठी । धनाले कुन मुख धुने होला ? धनाको अनुहारमा चिसो पानी छ्याप्दा पनि पोल्थ्यो होला । अनुहारका निलडाम टट्टाइरहेका होलान् । त्यसैमा कपालका जरा उस्तै दुखेका थिए कि ? यस्तै सोचेर जेठीले धनाको अघि भाँडा राख्ने बाटा र पानीको जग लगेर राखिदिई । धनाले ओछ्यानको बिटमा बसेर पानीको जग समाई । पानीलाई अञ्जुलीमा राखेर ओठभित्रको दाँतलाई चोरऔँलाले यताउता गरी । कुल्ला पानीलाई बाटामा नै फ्याँकेर मुख धोएझैँ गरी । आँखालाई चिसा हातले पुसेर भित्तामा अडेसिँदै पछ्यौराले अनुहारमाथि थपथाएझैँ गरी ।
‘अइया ! ज्यानै लिने भो ।’ दुखेको ज्यानलाई मिलाउँदै गनगनाई धना । जेठीले कराईको रोटीलाई फर्काएर आमालाई हेर्छे । जेठीको मन उस्तै भरंग थियो । उसलाई आमाको घाइते हालत देखेर पीडा महसुस भइरह्यो ।
जेठीलाई चित्त बुझाउनु थियो । आमा र बाको सधैँजसो झगडा हुन्थ्यो नै । यस्तो अनुहार हुने गरी चुट्लान भन्ने लागेको थिएन जेठीलाई ।
कोठाभरि रोटी डढेको बसायो । जेठीले चुलोबाट तावा निकालेर चुलो निभाई । एउटा थालमा केही आलुको चाना र रोटी राखेर आमाको अघि राखिदिई । धनाले रोटी र जेठीलाई बराबर हेरेर भनी, ‘तँ खा ।’
‘तिमीचाहिँ चुटाइ मात्रै खाऊ,’ कुनै साथीलाई घुर्काएर भनेझैँ धनालाई भनी जेठीले । साँच्चै धनाको भागमा चुटाइ पनि खानाझैं थियो ।
धना केही बोल्दिन । उसको वाक्य बसेझैँ भो । यी जवान छोरीलाई केही सुनाउन नचाहेझैँ गरी । तर, जेठीलाई धनाले सुनाउनुपर्नेभन्दा बढी नै कथा याद छ ।
सिंगो रोटीबाट सानो टुक्रो चुँडेर धनाले आलुको सब्जी टिपी । ढोकाको डिलमा बसेर सेतीसँग गफिएकी माइली आएर आमाको भागको एउटा रोटीमा आलुको चाना राखेर बाहिरी ।
‘तेरो भाग त्यही हो है,’ जेठीले सुनाइहाली । धना केही बोलिन । माइली केही नबोली रोटी चपाउन थाली ।


कान्छी छोरी धुलाम्मे भएर ढोकामा देखिई । धुलाम्मे छोरी भोक लाग्यो भन्दै धनाको काखमा आइपुुगी । थालको रोटी चुँडेर कान्छीलाई दिन लाग्दा कराईतिर देखाउँदै रोटी मागी कान्छीले । कान्छीले सिंगै रोटी खोजी । जेठी रिसाएर गनगनाई,‘खाने वेलामा टुप्लुक्क आइपुग्छन्, धन्नको नाक छ ।’
थालमा रोटी राखिदिएपछि कान्छी पिरोलिन छाडी । एउटा रोटीमा आलुको चाना हालेर जेठीले ढोकामा बसेकी सेतीको हातमा राखिदिई ।
कान्छी धनाको थालको रोटी बटारेर टोक्दै बाहिर गई । एकछिन रोटी चपाइएको आवाज मात्रै आएझैँ भयो ।
‘मलाई पनि दे न !’ माइलीले हात थापी । सेती केही नबोली चुलानिर आएर एउटा रोटी सब्जी दिई । हातमा रोटी समाएर माइली सेतीसँग गफिँदै भनी, ‘आज त म नजाने फूपु ।
‘किन नजाने’ सेतीले उल्टो सोधी ।
‘जान्नँ ! त्यो खातेले जहिले पनि तान्न खोज्छ, कोठामा जाऊँ भन्याभन्यै गर्छ । अस्ति त मेरो छाती यति साह्रो दुखाइदियो मुर्दाले ।’
मनकै कुरा सुनाएकी थिई माइलीले । ऊ राम्री थिई, तर बुद्धि बालखकै थियो । जेठीभन्दा हँसिली माइलीका पुस्टाउन लागेका छातीमा टाँसिएको लुगाले उसलाई भुतुक्कैको सुन्दर देखाउँथ्यो । त्यही सुन्दरताबाट बेखबर माइली कसले कस्तो आसयमा हेरिरहेको छ भन्नेसमेत भेउ पाउँदिनथी । तर, जेठीलाई माइली जिस्किएको मन पर्दैनथ्यो ।
‘दोर्जेसँग टाढै बस् नत्र भ्याइदेला,’ जेठीले प्याच्चै भनी । माइलीले प्रश्नवाचक भएर जेठीलाई हेरी ।
‘आमा !’ माइलीले धनालाई गुहारी । धनाले केही नबोली जेठीलाई हेर्छे ।
‘यत्रैसिती जान्नँ डान्सबार ?’ रिसमा केही जोड गर्दै माइली कराई । अनि धना दुखेको घाउलाई पर्वाह नगरी पड्किहाली, ‘तँ नगए तेरो बाउ जान्छ त, खुरुखुरु आफ्नो काम गर्, दुनियाँभाँती कुरा चपाउनुपर्छ ?’
माइली फन्केर जेठीलाई हेर्छे । माइलीको आँखाको काप टल्किँदै गएको जेठीले भित्रभित्रै स्विकारी ।

०००
धनाले तानेको चुरोटको अन्तिम सर्कोपछिको धुवाँ छाप्रोमुनि मडारियो । जेठीले धुवाँको गन्ध पन्छाउँदै धनालाई कराई, ‘कति खान सकेको चुरोट !’
‘तेरो बाउले मलाई खान थाल्यो, म चुरोट पनि नखाऊँ ?’ धनाले चुरोटको ठुटो भुइँमा ठोस्दै भनी । मानौँ, लोग्नेसँग उठेको रिस सबै निमोठी धनाले ।
जेठीको बाउको पिटाइबाट उम्किन चार बहिनी छोरी छाडेर बलेसँग पोइल आएकी थिई धना । सधैँको किचकिच र मदिरामा डुबेको पहिलेको लोग्ने झेल्न सकिन धनाले । अनि उसले चार बहिनी छोरीलाई समेत छाडेर जीवनको नयाँ किनार हिँडेकी थिई ।
जति जोगी आए पनि कानै चिरेकाझैँ भयो उसलाई । अहिलेको तन्नेरी लोग्ने पनि उस्तै झगडालु भयो । सुरुवाती माया शरीरिक मात्रै भयो । छोरीहरू आमा खोज्दै आए । आमासँगै बस्न लागेको पनि तीन महिना भयो । तर, आफूले नजन्माएको सन्तान स्यहार्न अनकनायो बले । लगानीविनाको जहान बढेको देखेर बले दिनदिनै झगडालु भयो ।
पहिलेको लोग्नेले छोरी—छोरी पाई भनेर कुट्थ्यो । अहिलेको लोग्नेले छोरीहरू ल्याई भनेर कुट्यो । छोरीहरू आमाको मायाले आएका थिए । त्यही छोरीहरूको कुरा निकाल्दै बले निहुँ खोज्थ्यो धनासँग ।
जेठीले जुठो हात धोएर हात पुस्दै भित्तामा अड्याएको ऐना हेरी ।
ऐनामा ढोकासहितको उज्यालो देखिँदै थियो । र, ऊ पनि देखिँदै थिई । कान्छी रोएको कोठाभित्र ह्वात्तै छि¥यो ।
कल्ले हान्यो फेरि यसलाई ? धना कराई ।
रुँदैरुँदै काँइलीले हानेको भनी कान्छीले । र, धनाको काखतिर आउँदै गरेकी छोरीलाई धनाले फकाई । काखमा राखेर कान्छीको नाकबाट चुहिएको सिँगान पुछिदिएर हात भित्तामा पुछी । त्यही हातले कान्छीको जिंग्रिंङ कपाललाई बाँधिदिई । कान्छी उठेर ढोकाको डिलमा थ्याच्च बसी । साइँलीले कान्छीलाई फेरि प्याट्ट घूच्चुकमा दिई ।
कान्छी फेरि रोएको सुनेर धना कराई, ‘फेरि के भयो ?
कान्छी रुवाइमा लय हाल्न थाली । साइँलीले ढोकामा मुतेर पिटेको भन्न नपाउँदै धना चर्कै हप्काई, ‘मुत्न दे, पिट्नुपर्छ ।’
कान्छी रोएकोे, धना कराएको, साइँली बोलेको, माइली र सेती गफिए पनि जेठी ऐना हेर्दै कपाल कोरी । यस किसिमको बोलाबोल भइरहने थाहा छ उसलाई । ऊ निकै परिचित छे, घरको रुवाइ–कराइबाट ।
एकछिन कोही बोल्दैनन् । अघिल्लो दिन परेको पानीले ढोकाको बाहिर निकै ओसिलो थियो । मान्छेहरू कम बोलेपछि झुग्गीमा मुसाहरू भित्र र बाहिर चक्कर काट्न आतुर हुन्छन् ।
‘माइलीलाई नि लिएर जा !’ जेठीलाई बिस्तारै भनी धनाले । जेठी डान्सबार जाने तयारी गर्दै गरेको देखेर धनाले भनेकी थिई ।
जेठी केही नबोली कपालमा काँटा कोप्दै गर्दा सेती पल्लो कोठाबाट तयार भएर निस्किँदै कराई, ‘जाम बाइ ।’
जेठी केही बोल्दिन । उल्टो धनाले चर्कै कराएर माइलीलाई बोलाई । माइली ढोकामा टुप्लुक्क देखिएपछि धनाले सोधी, ‘जान्नस् र ?’
‘जान्नँ !’ माइली असहमति जनाउँदै भित्र पसी । ओछ्यानको छेउमा थचक्क बसेर कपाललाई छातीतिर लर्काएर सुमसुम्याइरही ।
‘दबै गर्न जाऊ,’ जेठीले आफ्नो ब्याग छाम्दै भनी । पाँच सयको नोट आमाको हातमा राखिदिई । माइलीले हात थाप्दै सय रुपैयाँ मागी । जेठीले केही नबोली ब्यागको चेन लगाई ।
‘तँ त कमाउने वेला भइस् । जा जा दिदीसँगै डान्सबार ।’ धनाले भन्न नपाउँदै माइली कराई, ‘जान्नँ म, त्यो दोर्जेले तानेको तान्यै गर्छ ।’
‘तँ निजिस्की न, दोर्जेले जाम भन्छ र ?’ जेठीले भनी । एकछिनसम्म छाप्रोमा सवालजवाफको भनाभन घन्किरह्यो । अभावमा नाच्न विवश मनुवाहरूको झुप्रो डान्सबारमा मसिनो स्वर बाझिरह्यो ।
बाहिर हर्न लगाएको आवाज आयो भित्रैसम्म । दोर्जे आएको खबर भित्रैसम्म सुनिने गरी सेतीले दिई । जेठीले झोला बोकी । माइली ठुस्सिएर बसेको देखेर धनाले बिस्तारै भनी, ‘तेरो अंकलले मलाई सधैँ पिट्छ । तिमोरले कमाउन थालेपछि म बस्दिनँ यस्ता अपराधीसँग । बरु मलाई पनि लैजा डान्सबार ।’
धनाको कुरा सुनेर जेठीको मन अमिलो भयो । दुवै दिदी–बहिनीका आँखा जुधे । दोर्जेको जबर्जस्तीबाट बच्न माइली डान्सबार जान राजी थिइन । आमालाई डान्सबार लान सक्ने हिम्मत थिएन जेठीमा । न बहिनीलाई घरै बस् भन्न सकेकी थिई । दुवै पीडालाई जेठीले आफ्ना आँखामा पगाल्दै ल्याई । आँसु छोप्ने सहरिया चस्मा निकालेर लगाउँदै जेठीले भनी, ‘हिँड् माइली ।’
डान्सबार जानै मन नगरेकी माइलीले धनालाई पिर्लिक्क हेरी । धनाले माइलीको आँखामा आँखा जुधाउन सकिन । जेठी बाहिर निस्की । माइली पनि पछिपछि ‘झुप्रो डान्सबार’बाट फुत्त निस्की ।

तपाईको प्रतिक्रिया