सोम शर्माको सातु - Naya Patrika
eNaya Patrika
  • ePaper

सोम शर्माको सातु

छाया नेपाली भावुकतामा बगेर आफ्नो पूरै महाभारत सुनाउन थालेकी थिई । इन्स्पेक्टर खड्कालाई उसको प्रेमकथा वा भ्रमर भावुकसँग कसरी उसको घनिष्टता भयो भन्ने कुरामा त्यति खास चासो थिएन । उसले छायालाई आफ्नो कुरा छोटकरीमा भन्न आदेश दियो । छायाले बेलिविस्तार लगाएपछि उसले संक्षेपमा आफ्नो नोटबुकमा टिपेअनुसार नेपालगन्जको भेट उनीहरूको प्रेम हुँदै विवाहमा परिणत भयो । छाया जनकसँग काठमाडाैं आई । एक दिन कुरै कुरामा उसले भ्रमरलाई फेरि भनी, ‘मलाई मेरो नाम मन पर्दैन । छाया । मलाई यो नाम नकारात्मक लाग्छ ।’

त्यस दिन भ्रमरले उसको नयाँ नाम राखिदियो, कामिनी । कामिनी उसले लेखिरहेको एउटा नयाँ कविताको शीर्षक थियो । सुरुका केही महिना एकदमै रमाइलोसँग बिते । कामिनीलाई लाग्थ्यो, जिन्दगी भ्रमर भावुकका कविताहरूसँगै बित्नेछ । तर, प्रेमान्ध उसलाई थाहा नभएको कुरो के थियो भने, कविताले पेटको भोक मेटिँदैन । कविताले मात्र जीवनका व्यावहारिक आवश्यकता पूरा हुन सक्दैन । बिस्तारैबिस्तारै जिन्दगीका थपेडाहरूले उनीहरूको भावुकताको महलको जग हल्लाउन थाल्यो । उसको साधारण जागिरको भरमा जेनतेन गृहस्थीको गुजारा हुन्थ्यो । त्यो पनि धेरै कुराहरूमा सम्झौता गरेर । तैपनि उसले कुनै गुनासो गरेकी थिइन । त्यो उसैले रोजेको केटो थियो । समस्या त त्यस दिन सामुन्ने आयो जुन दिन छायालाई थाहा भयो…

०००
भ्रमर भावुक त्यस दिन पनि एउटा कविता सम्मेलनमा गएको थियो । सम्मेलनपछि सुरापानको पनि कार्यक्रम रहेछ । त्यो कुरा कामिनीलाई थाहा थिएन । ऊ एउटा गम्भीर विषयमा भ्रमरसँग छलफल गर्न कुरिरहेकी थिई । रातको निकै प्रहर बितेपछि मात्र भ्रमर घर आइपुग्यो । दुईजना अरू साहित्यकारहरूको काँधमा सहारा लिएर । उसले भुइँमा खुट्टा नै नटेकिने गरी रक्सी पिएको रहेछ ।

कामिनीको लागि यो कुरा नौलो थिएन । अक्सर यस्ता कार्यक्रममा गएर भ्रमर मातेर आउँथ्यो । त्यो कुरामा उनीहरूको ठाकठुक परिसकेको थियो । तर, त्यस दिन कामिनीलाई साह्रै नरमाइलो लाग्यो । किनभने उनीहरू दुईजनाको जीवनको एउटा महत्वपूर्ण कुराको फैसला गर्नुपर्ने दिन थियो ।

पु¥याउन आउने साथीहरू अप्ठ्यारो मान्दै उससँग बिदा भएर गएपछि उसले भ्रमरलाई खाटमा लगेर सुताइदिई । भ्रमर अर्धबेहोसीमा बर्बराउन थाल्यो । आफ्ना कविताहरू टुक्राटाक्री सुनाउन थाल्यो । कतिपय सायद उसले नलेखेका र मनमा मात्र भएका पनि थिए । अनि केही बेरमा उसको मनभित्रका भडास निस्कन थाले । आफ्ना हरेक कविता संग्रह विश्वस्तरका भएको दाबी गर्दै उसले आफूलाई देवकोटा, भूपि र सेक्सपियरभन्दा कम नभएको दाबी गर्न थाल्यो ।

‘यो देशमा प्रतिभाको कदर छैन । चाकरी, चाप्लुसी र पहुँच नपुगेकाले मैले कुनै पुरस्कार पाइनँ । नत्र मेरा हरेक कृतिले मदन पुरस्कार पाउनुपथ्र्यो, बुझ्यौ ? अबको चालीस वर्षपछि मात्र यिनीहरूले मेरा कविताको महत्व बुझ्नेछन् । तर, त्यति वेलासम्म सायद भ्रमर भावुक यो संसारमा हुँदैन । मलाई जब खोज्छन् यिनीहरूले, म माथि कतै बसेर खुच्चिङ भनिरहेको हुनेछु ।’

कामिनी नरमाइलो मानेर उसलाई हेरिरही । उसलाई आफू एक्लो भएकोजस्तो लाग्यो । निकै बेर बर्बराएर भ्रमर निदायो, घुर्न थाल्यो । कामिनी रातभर निदाउन सकिन । भोलिपल्ट पनि भ्रमर निकै ढिला ब्युँझियो । उसको टाउको रोटेपिङ जसरी घुमिरहेको थियो । कामिनीले उसलाई कागतीपानी बनाएर खान दिई । त्यो खाएर भ्रमर फेरि सुत्यो । कामिनी अफिस जाने वेलासम्म पनि ऊ सुति नै रहेको थियो । दिनभर कामिनीलाई अफिसमा काममा पनि मन लागेन । उसले आधा दिनको बिदा मागी र निस्की । तर, कहाँ जाने वा के गर्ने भन्ने उसलाई थाहा थिएन । डेरा फर्कन पनि मन थिएन ।

उसको मनभित्र उठिरहेको बबन्डरले उसलाई सुकेको पतिंगरसरह उडाइरह्यो । असन, इन्द्रचोक, भोटाहिटी, रत्नपार्क र दरबारमार्गतिर ऊ विनाउद्देश्य भौँतारिइरही । साँझ झमक्क परिसकेपछि जाने अरू कुनै ठाउँ नभएर ऊ डेरा फर्किई । भ्रमर कतै नगएर कोठामै बसिरहेको रहेछ । भ्रमरले उसलाई सोध्यो,  ‘किन आज यति ढिला गरेकी ? मलाई पिर परिसकेको थियो । कतिपटक फोन गरेँ, त्यो पनि उठाइनौ ।’ उसले फोन ब्यागबाट निकालेर हेरी । नभन्दै भ्रमरको थुप्रै मिस्ड कलहरू रहेछन् । उसले गम्भीर भएर भनी, ‘खै, मैले त सुन्दै सुनिनछु घन्टी ।’
भ्रमरले चिन्तित भावले सोध्यो, ‘तिमीलाई के भएको छ ? अनुहार पनि मलीन देख्छु ।’
उसले व्यंग्यात्मक स्वरमा भनी, ‘त्यसले तपाईंलाई के फरक पर्छ र ?’
भ्रमर उसको नजिक आयो र भन्यो, ‘किन यस्तो कुरा गरिरहेकी ? हिजोको कुरामा अझै रिसाइरहेकी हौ भने मलाई माफ गर । आइन्दा म त्यसरी रक्सी खान्नँ ।’
केही बेर भ्रमरलाई क्वारक्वार्ती हेरेर कामिनीले भनी, ‘म डाक्टरकहाँ गएकी थिएँ । हिजो मेरो युरिन टेस्टको रिजल्ट पनि आयो ।’
भ्रमरले चिन्तित भावमा सोध्यो, ‘डाक्टर ? युरिन टेस्ट ? किन ?’
‘महिनाबारी रोकिएको दुई महिना भएको थियो ।’
भ्रमरले उदेकपूर्ण स्वरमा भन्यो, ‘साँच्चै ? मलाई किन नभनेकी त ? के भन्छ डाक्टरले ?’
कामिनीले गम्भीर भएर भनी, ‘रिपोर्ट पोजेटिभ आयो ।’
भ्रमरको अनुहारमा प्रसन्नताको भाव धपक्कै बल्यो । उसले केही भन्नुअघि नै कामिनी नै बोली, ‘यही विषयमा कुरा गर्न म तपाईंलाई कुरिरहेकी थिएँ हिजो । तर …’
भ्रमरले उसलाई अँगालोको घेरामा बाँधेर आफ्नो नजिक तान्दै भन्यो, ‘मलाई माफ गर कामिनी । तिमी मलाई यति ठूलो खुसीको खबर सुनाउन कुरिरहेकी थियौ र म भने…’
उसको कुरा काट्दै कामिनीले भनी, ‘के यो साँच्चै खुसीको कुरा हो त ?’
अलमल्ल परेको भावमा भ्रमरले भन्यो, ‘यो के भन्दै छ्यौ तिमी ? योभन्दा बढी खुसीको कुरा अरू के हुन सक्छ हाम्रा लागि अहिले ?’
कामिनीले अनिश्चित भावले भनी, ‘मलाई थाहा छैन ।’
भ्रमर अझै जिल्ल प¥यो । कामिनी उसको अँगालोबाट फुत्केर खाटमा थ्याच्च बसी । टोलाएर भित्तातिर हेर्दै उसले भनी, ‘मेरो तलबको भरमा हामी दुईजनालाई बाँच्न धौधौ भइरहेको छ । तपाईंको लेखन आकासे खेतीजस्तो छ । यस्तो अवस्थामा के हामी आफ्नो सन्तान जन्माउने, पाल्ने, पढाउने, लेखाउने र उसलाई कुनै भविष्य दिने कल्पना गर्न सक्छौँ ?’

भ्रमरले ट्वाल्ल परेर उसलाई हेरिरह्यो । यो तीतो वास्तविकताबाट ऊ जति निरपेक्ष रहन खोजे पनि कामिनीको प्रश्नले उसलाई भित्रैसम्म हल्लाइदिएको थियो । आफ्नो आर्थिक हैसियत उदांगो भएर उसका सामु उभिएको थियो । उभिएको मात्र होइन, उसलाई हेरेर व्यंग्यात्मक पाराले हाँसिरहेको थियो, हियाइरहेको थियो । भ्रमरले भन्यो, ‘सधैँ यस्तो हुँदैन । मलाई विश्वास छ, हाम्रो दिन पनि फिर्छ । भगवान्ले कुनै न कुनै बाटो खोल्नेछन् हाम्रा लागि पनि ।’

कामिनी तीखो स्वरमा कराई, ‘जिन्दगी तपाईंको कविताजस्तो होइन । गम्भीर हुन सिक्नुस् । हावादारी कुराको भरमा हामी सन्तान जन्माउने योजना बनाउन सक्दैनौँ ।’ त्यस दिन उनीहरू दुईजनाबीच पहिलोपटक झगडा प-यो । भ्रमरले कामिनीलाई आफूले पहिले नै यी सब कुरा भनेको हुनाले अहिले आएर उसलाई मात्र दोष लगाएर केही हुन्न भन्ने तर्क ग-यो । कामिनीले त्यतिवेला आफ्नो मतिभ्रष्ट भएको हुनाले यी सबै कुरा देख्न नसकेको ओठे जवाफ फर्काइदिई । वादविवादको कुनै समाधान निस्कने छाँटै भएन । आफ्नो कपाल भुत्ल्याउँदै भ्रमर करायो, ‘अब तिमी आफैँ भन म के गरौँ ? बैंक लुट्न जाऊँ ? मूर्ति उखेल्न जाऊँ ? के गरौँ म ?’

हराएको मानिस १९

कामिनीले भनी, ‘तपाईंले गरेर गरिन्न त्यो पनि । मेरो नियतिमा जे लेखेको छ, त्यसबाट सायद म भाग्न सक्दिनँ । तर, अहिलेका लागि एउटा कुरामा चाहिँ कुनै विवाद छैन ।’
‘के कुरा ?’
कामिनीले दुःखी तर दृढ स्वरमा भनी,
‘हामी यो बच्चा जन्माउन सक्दैनौँ ।’
त्यो कुरामा फेरि उनीहरू विवाद गर्न थाले । भ्रमर भन्थ्यो, परेपछि सब आफँै गर्न सक्छि मानिसले । जिम्मेवारी थपिएपछि त्यसलाई वहन गर्ने बाटो नपहिल्याई सुखै छैन । तर, कामिनी भन्थी, पानीमा हाम्फालेपछि पौडी खेल्न नसिकी सुखै छैन भनेजस्तो तर्कले जिन्दगी चल्दैन । पौडी खेल्न सिक्नेभन्दा बढी डुब्ने सम्भावना हुन्छ ।

‘म यस्तो रिस्क लिन सक्दिनँ । म कवि हैन । दिमागलाई थन्क्याएर मनको लहडमा केही गर्न सक्दिनँ । मैले जीवनमा जेजस्ता अभाव भोगेकी छु, मेरो सन्तानले पनि त्यही सब भोग्न परोस् भन्ने म चाहन्नँ ।’
जति विवाद गरे पनि एकआर्कालाई आश्वस्त बनाउन दुवैले सकेका थिएनन् । उनीहरू झगडा गरेरै एकअर्कातिर ढाड फर्काएर सुते । रातभरि दुवै निदाउन सकेनन् । भोलिपल्ट बिहान पनि उनीहरू केही बोलेनन् ।

कामिनी केही नखाई अफिस गई । उसको कोही थिएन । अफिसमै आफूभन्दा अलि पाको उमेरकी एक महिला सुमति शाक्यसँग उसको अलिअलि हिमचिम थियो । कामिनीले मनको बह उसैसँग पोखी र आफूले गर्न खोजेको कुरा बताई । उसले सुमतिसँग सहयोग मागी । सुमतिले उसलाई एकपटक राम्ररी सोच्ने सल्लाह दिई । त्यस साँझ ऊ डेरामा पुग्दा भ्रमर कोठामा थिएन । राति अबेर आयो, मातेर आयो । मातेको सुरमा उसले कामिनीलाई भन्यो, ‘चिन्ता नगर । चाँडै मेरा कविता अंग्रेजीमा अनुवाद हुन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा पुगेपछि तिनले धमाका मच्चाउँछन् । अरू आठ–दश भाषामा ती छापिन्छन् । विश्वका चर्चित पुरस्कार पाउँछन् । अनि म पनि मार्खेजजस्तै आधा घन्टा अन्तर्वार्ता दिएको पचासौँ हजार डलर चार्ज गर्न थाल्छु । हाम्रो सन्तानलाई भनेकोजस्तो भविष्य दिन सक्छौँ ।’

कामिनी सोम शर्माको सातुको कथा सुनिरही । आँखाबाट आँसु बगिरहे । उसको निश्चय झन्–झन् दृढ हुँदै गयो । भोलिपल्ट पनि भ्रमर उठ्नुअघि नै ऊ निस्केर हिँडी । उसलाई जहाँ जानु थियो, सुमति शाक्य उसको साथी, गइदिई । त्यस साँझ घर फर्किंदा आफूले सही वा गलत के गरेँ भन्ने उसलाई थाहा थिएन । भ्रमर कोठामै थियो । उसले भ्रमरलाई च्याप्प समाती । अचानक उसको मनको सारा बह बाँध भत्केको नदीको पानी जसरी बग्न थाल्यो । रुँदै उसले भनी, ‘मैले कोपिला लाग्नुअघि नै उम्रन आँटेको बोटलाई उखेलेर मिल्काइदिएँ ।’

केही बेर भ्रमर पत्थरजसरी जडवत् भयो । बिस्तारै कामिनीलाई आफूबाट अलग गरेर ऊ केही नबोली कोठाबाट निस्केर गयो । आफ्नो कथा सुनिरहेको इन्स्पेक्टर खड्कालाई हेर्दै कामिनीले आँसु पुछी र भनी,  ‘त्यस दिन निस्केर गएको उहाँ फेरि फर्केर आउनुभएन । निकै दिन भएपछि मैले पत्रिकामा विज्ञापन छपाएकी हुँ । उहाँको यो अवस्था कसरी भयो र किन भयो मलाई थाहा छैन । अरूले किन उहाँमाथि आफ्नो नक्कली नाताको दाबी गरिरहेका छन् भन्ने पनि मलाई थाहा छैन ।’ इन्स्पेक्टर खड्का गम्भीर थियो । केस झनै जटिल बन्दै थियो । अब अझै दुईजनाको कुरा सुन्नै बाँकी थियो ।

तपाईको प्रतिक्रिया