समयमा काम नसक्नेको ठेक्का रद्द : मुख्यमन्त्री पोखरेल - Naya Patrika
eNaya Patrika
  • ePaper

समयमा काम नसक्नेको ठेक्का रद्द : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । दाङको घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने बबई खोलादेखि तुलसीपुरसम्मका निर्माणाधीन पुल तथा सडकको निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले अबको तीन महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।


मुख्यमन्त्री पोखरेलले काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडेर कालोसूचीमा राख्न आफैँले प्रक्रिया अघि बढाउनेसमेत चेतावनी दिए । ‘विकास निर्माणमा लापरबाही स्विकार्न सकिँदैन,’ अनुगमनका क्रममा निर्माण व्यवसायीलाई मुख्यमन्त्री पोखरेलले भने, ‘तपाईंहरूका केही अप्ठ्यारा छन् भने हामीलाई भन्नुहोस् ।

सरकारका तर्फबाट हामी अप्ठ्यारा सुल्झाउनेछौँ । तर, आँउदो बर्खासम्म पनि पुल र सडक निर्माण नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिनेछ ।’ सांसदसहितको मुख्यमन्त्रीको टोलीले बुधबार अनुगमन गरेको थियो ।

सो क्रममा सडक कार्यालयले निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगरेकै कारण पुल तथा सडक अलपत्र परेको जनाएको छ । इन्जिनियर लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीले काम नगर्ने र माथिल्लो निकायले कारबाही नगर्दा जनताले सास्ती पाएको बताए ।

समय सकियो, तर पुल र सडक बनेनन्
लमही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने खोलाहरूमा निर्माण सम्पन्न गर्नुपर्ने समय सकिए पनि पुल निर्माणको काम सकिएको छैन । आर्थिक वर्ष २०७२÷०७३ माघदे खि निर्माण सुरु गरिएका पुल र सडक अहिलेसम्म निर्माणाधीन अवस्थामा छन् । गत असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेमा  ६ महिना ढिला हुँदा पनि सडक र पुलको  अवस् था उस्तै छ ।

निर्माणाधीन काम पूरा गर्ने प्रतिबद्धता जनाए मात्र कामका लागि समय थप गर्ने, तर प्रतिबद्धता नआएमा ठेक्का नै रद्द गर्ने तयारीमा आफूहरू रहेको सडक मध्यपश्चिम सडक डिभिजन कार्यालयका सूचना अधिकारी दुर्गा गौतमले बताए ।

तपाईको प्रतिक्रिया