बलात्कारपछि हिम्मत नहार्ने सुवानी - Naya Patrika
eNaya Patrika
  • ePaper

बलात्कारपछि हिम्मत नहार्ने सुवानी

पात्र संवाद :

तपाईंलाई सबैभन्दा बढी मन परेको पात्र को हो ?
मन परेको कृति पारिजातको ‘अनिदो पहाडसँगै’ । पात्र पनि त्यही उपन्यासको सुवानी हो ।

बिना थिङ, कवि

किन मन प-यो ?
हुन त सबैले अत्यधिक रुचाएको पारिजातको किताब ‘शिरीषको फूल’ हो । तर, मलाई भने ‘अनिदो पहाडसँगै’ नै मनपर्छ । जीवन अन्तिममा शून्य भए पनि बाँच्नुपर्छ । बाँचेर केही गर्नुपर्छ भन्ने उत्प्रेरणा छ । मलाई त्यो कुराले सधैँ असर गरिरहन्छ । अर्को कुरा ‘अनिदो पहाडसँगै’मा महिला सशक्तीकरणको कुरा छ । राजनीतिक रूपमा पनि महिला पुरुषसँग समान हैसियतमा छन् । उपन्यासमा सुवानी बलात्कृत हुन्छे । बलात्कृत भएपछि उसले फेरि आफूलाई जीवनतिर फर्काएकी छे । अहिले महिलामाथि भइरहेका हिंसाकै प्रतिनिधि पात्र हो ऊ । तर, बलात्कारपछि उसले आफूलाई झनै परिष्कृत गरेर लैजान्छे र स्थापित हुन्छे ।

तपाईंले ‘अनिदो पहाडसँगै’मा सुवानीलाई पढ्दै गर्दा आफूलाई कुन रूपमा पाउनुभयो ?
म आफैँ सुवानी भएको थिए नि ! हक्की छु म । राजनीतिक रूपमा पनि अगाडि जान सक्छु । त्यही भएर पनि सुवानीमा आफूलाई पाएँ । र, ममा कुनै भवितव्य त्यस्तो घटना घट्यो भने मचाहिँ जीवन सकिएको ठान्दिनँ ।

के पुस्तकमा लेखेर मात्र महिला सशक्तीकरण हुन्छ ?
त्यसका लागि त सामाजिक, आर्थिक, राजनीतिक रूपमा उनीहरू स्थापित हुने किसिमको परिस्थिति निर्माण हुनुपर्छ । खासमा भन्ने हो भने यस्ता घटना प्रायः सीमान्तकृत समुदायका महिलामा नै बढी हुने गरेका छन् । त्यो भनेको समाजको पूर्वाग्राही आँखा हो । त्यसलाई हटाउनका लागि कानुन बलियो बनाउनुपर्छ । भारतमा रेडलाइट एरिया छ । तर, पनि बलात्कारका घटना भइरहेका छन् । खासमा बलात्कार केही पनि होइन । सामान्य रूपमा हेर्ने हो भने शारीरिक सम्बन्ध मात्र हो । तर, त्यहाँ एक पक्षको अस्वीकृतिका बाबजुद अर्को पक्षले जबरजस्ती गर्छ र त्यो अपराध ठहरिन्छ । यौन प्यास मेट्नका लागि मात्र बलात्कार हुने गर्दैन । त्यो पुरुषवादी अहंको उपज पनि हो । पुरुषले जसरी पनि जित्नैपर्ने भनेर समाजले जस्तो किसिमको मनोविज्ञानको निर्माण गरेको छ, त्यो पनि कारक हो । ती कुरालाई मिहीन ढंगले केलाएर अगाडि बढ्ने हो भने त्यस्ता महिला अगाडि पनि आउँछन् र यी कुरा किताबमा मात्र सीमित हुँदैनन् ।

पारिजातलगायतले त्यत्रो लामो समयदेखि उठाएको नारीमाथिको बहस अहिलेसम्म किनारा नलाग्नुको कारण के हो ?
यो लामो इतिहास बोकेर आएको मनोरोग हो । तर, नसिद्धिने नै भन्नेचाहिँ होइन । अहिले निकै परिवर्तन भएको छ । त्यसलाई अझै मजबुद बनाएर बहसमा ल्याउनका लागि अन्यले पनि थुप्रै योगदान दिए । तर, पारिजातलगायतले सुरु गरेका कारण अहिले यो स्थितिसम्म आइपुगेको छ । हामीले सुरु गरेको भए यहाँसम्म पनि आइपुग्ने थिएन । लामो समय लिएर स्थापित भएको यो कटु यथार्थलाई निमिट्यान्न पार्नका लागि पनि समय लाग्छ नै । किनारा अहिले नै त नलाग्ला, तर, बिस्तारै अवश्य लाग्नेछ ।

पारिजातपछि त्यस्तो शक्तिशाली महिला लेखक आउन सकेनन् भन्ने बहस पनि चल्ने गरेको छ नि ?
पारिजातको तुलना महिलासँग मात्र गरिनु दुर्भाग्यको कुरा हो । पुरुषसँग पनि गर्नुपर्छ । मेरो विचारमा पारिजातको हाराहारीमा पुरुष साहित्यकार पनि पुग्न सकेका छैनन् । पारिजात मेरो आइडल हो । एउटा त सामुदायिक हिसाबले पनि । अर्को त्यो समयमा दार्जिलिङबाट आएर काठमाडौंमा संघर्ष गरेर स्थापित हुनु चानचुने कुरा थिएन ।

तपाईको प्रतिक्रिया