पत्रकार अधिकारीको ‘धम्बोझी’ सार्वजनिक : विमोचनमा लाग्ने खर्च बराबरको किताब विद्यालयलाई सहयाेग - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार अधिकारीको ‘धम्बोझी’ सार्वजनिक : विमोचनमा लाग्ने खर्च बराबरको किताब विद्यालयलाई सहयाेग

पत्रकार सरोजराज अधिकारीको उपन्यास धम्बोझी प्रकाशनमा आएको छ । पुस्तक शनिबारबाट बजारमा सर्वत्र उपलब्ध छ । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो ।

यस अघि अधिकारीको गैर आख्यान तर्फ ‘जासुसीको जालो : बिदेशी गुप्तचरको नेपाल चलखेल’ र ‘चक्रब्यूहमा चन्द्रसूर्य : राष्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती’ नामक खोजमूलक पुस्तक प्रकाशित छ । आख्यान तर्फ ‘रुपबजारकी नोरा’ कथा संग्रह प्रकाशित छ ।

मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह–अवरोहमाथि लेखिएको धम्बोझी उपन्यासमा आन्चालिक परिवेश र अवधी भाषिकाको प्रयोग सहितको संवाद छ । नेपालगन्ज, बाँकेको सेरोफेरोमा लेखिएको यस उपन्यासमा मधेशमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडी विषयवस्तुको रुपमा छ ।

सांग्रीला बुक्सले धम्बोजी प्रकाशनको अवसर पारेर आफ्नो प्रकाशन र अन्य गरी करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित श्री प्रगतिशील माविका सहायक प्रधानाध्यापक केशव भट्टराईलाई उपलब्ध गराएको छ । ‘लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भने पछी हामीले बिमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयाई उपलब्ध गराएका हौं ।’ सांग्रीलाका सञ्चालक मणी शर्माले भने ।

लेखकका चार वटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डट कम र इ–सेवा पसल मार्फत मात्र नौ सय ९९ रुपैयाँमा समेत उपलब्ध रहेको शर्माले उल्लेख गरे ।
शर्माले धम्बोझीलाई चाँडै सांग्रीला बुक्स–इन्डिया मार्फत हिन्दी र अंग्रेजी भाषामा ल्याउने बताए । उनका अनुसार अंग्रेजी र हिन्दी भाषामा सोमेश बर्माले अनुवाद गर्नेछन् । यस उपन्यासको मूल्य ३५८ रहेको छ ।

तपाईको प्रतिक्रिया