बाबुराम भट्टराईका तीन घुम्ती - Naya Patrika
eNaya Patrika
  • ePaper

बाबुराम भट्टराईका तीन घुम्ती

चिया पिउँदै गर्दा ९ असोज ०७२ को बिहान डा. बाबुराम भट्टराईले भन्नुभयो, ‘विश्वदीप, यो कुरा पहिलोपटक तपाईंसँग भन्दै छु, म अब नयाँ राजनीतिक यात्राको बारेमा सोच्दै छु ।’  त्यसभन्दा अघि डा. भट्टराई देशका प्रतिष्ठित बौद्धिकहरूसँग लगातार संवादमा हुनुहुन्थ्यो । त्यतिवेला उहाँ झन्डै रातभर अनिँदो बसेर लेख्ने र सोच्ने काममा लागिरहेको देखेको थिएँ, तर आफूले जीवनभर लगानी गरेको पार्टी छोड्दै गरेको भेउ पाएको थिइनँ ।

मेरा बुवा भक्तिप्रसाद पाण्डे माओवादी राजनीतिमा हुनुहुन्थ्यो । त्यसको राप र तापले म पनि ०५६ देखि नै विद्यार्थी राजनीतिमा जोडिएको थिएँ । सशस्त्र संघर्ष उत्कर्षतिर पुग्दै गर्दा तत्कालीन गृहराज्यमन्त्रीले यतिसम्म भनेका थिए, ‘एउटा झोलामा प्रचण्ड–बाबुरामको टाउको ल्याउनुस्, अर्को झोलामा ५० लाख लिएर जानुस् ।’ सामान्य मानिसलाई पनि जिउन गाह्रो अवस्थामा माओवादी आन्दोलनका शुभचिन्तक, समर्थक र अझ त्यसैमा प्रत्यक्ष होमिएको हाम्रो जस्तो परिवारमाथि मृत्युको बादल मिनेट मिनेटमा मडारिन्थ्यो ।

हामी अर्घाखाँचीबाट बुटवलमा बसाइँ सरेका थियौँ । म एसएलसीको तयारीमा थिएँ । माघ महिनाको एक साँझ बुवा लुक्दै घर आउनुभयो र भन्नुभयो, ‘तेरो लागि जिन्दगीको अर्को कठिन परीक्षा छ, तयार छस् ?’ फलामे ढोका भनिने एसएलसीभन्दा कठिन परीक्षा थियो डा. बाबुरामको सहयोगीका रूपमा काम गर्ने बुवाको प्रस्ताव । मैले तुरुन्तै स्विकारेँ, डा. बाबुरामले शंका गर्दै भन्नुभएछ, ‘तीन महिनामा हेरौँ, उचित लागेन भने फिर्ता गर्छु ।’

त्यसै सिलसिलामा डा. बाबुरामसँग लखनउमा पहिलो भेट भयो । उहाँले भन्नुभयो, ‘लौ विश्वदीपजी बाँचेर आइयो भने भेटौँला ।’ किनकि उहाँको नेतृत्वमा एउटा टोली नेपाल जाँदै रहेछ । ०५९ को त्यो परिघटना मेरो जिन्दगीको यस्तोे मोड थियो, जसले मेरो जीवनको बाटो फेरिदियो । त्यसपछि झन्डै १५ वर्षदेखि आजसम्म डा. बाबुराम भट्टराईलाई नजिकबाट हेर्ने, बुझ्ने र उहाँले हिँडेको बाटोका घुम्ती र उतारचढावको साक्षी हुने अवसर पाएको छु । यसै आधारमा उहाँको जीवनका महत्वपूर्ण तीन घुम्तीको चर्चा गर्दै छु, जसले उहाँको व्यक्तिगत जीवन र नेपाली समाजलाई प्रभाव पा¥यो र पारिरहनेछ ।

पहिलो घुम्ती
गोरखाको सरकारी स्कुलमा एसएलसीसम्मको पढाइपछि काठमाडौंको अस्कल क्याम्पसमा आइएस्सी पढ्दा गणेशमान सिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी, कमल थापा आदि फरक–फरक विचार र चरित्रका मान्छे बाबुरामका सहपाठी थिए । त्यही वेला ०२८ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा गणतन्त्रवादी उम्मेदवार रामराजाप्रसाद सिंहले जिते, तर शपथग्रहण गर्न नदिई गिरफ्तार गरियो । त्यसको विरोधमा अस्कलमा भएको विद्यार्थी हड्तालमा बाबुरामको सक्रिय सहभागिता थियो । यसरी त्यतिवेलासम्म किशोर बाबुराममा विचारधारात्मक स्प्रष्टता र पक्षधरता नछुट्टिएको, तर गणतन्त्रवादी चेतना राम्रैसँग हुर्केको प्रस्ट देख्न सकिन्छ । तर, राजनैतिक सक्रियता भने अस्कलपछिको यात्राबाट सुरु भयो ।

कोलम्बो प्लानअन्तर्गत भारतमा इन्जिनियरिङको अध्ययन गर्दा नेपालको गरिबी, उत्पीडन र अभावले लखेटेर भारतका गल्लीहरूमा भौँतारिइरहेका नेपाली दाजुभाइसँगको संसर्गले उहाँमा त्यसको कारण खोज्न उत्प्रेरित गर्‍यो । इन्जिनियर हुने र धनसम्पत्ति जोड्ने विषयबाट उहाँको ध्यान राजनीतितिर मोडियो । र, ०३३ मा चण्डीगढमा ‘नेपाली विद्यार्थी संघ’को संस्थापक महासचिव हुनुभयो । यसरी अन्तरमुखी, ‘किताबको किरा’ एसएलसी बोर्ड फस्ट विद्यार्थी बाबुरामको राजनीतिक यात्रा सुरु भयो ।

०३३ मा ‘मेलमिलाप’को नीति लिएर निर्वासनबाट फर्किएपछि थुनामा राखिएका बिपी कोइरालाको रिहाइको माग गर्दै बाबुरामले वक्तव्य जारी गरेपछि त्यसले ठूलो राजनीतिक तरंग सिर्जना ग‍रेको थियो । ०३४ देखि ०३६ सम्म बाबुरामको कांग्रेस र कम्युनिस्टका सबै घटकसँग समदूरी रह्यो र उहाँको मूल राजनीतिक सोच कांग्रेस–कम्युनिस्ट सबै मिलेर देशमा राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने रह्यो ।

सुरुमा कांग्रेस नेता बिपी कोइरालासँग नजिक भए पनि बिपीको राजासँग मेलमिलापको नीति र बाबुरामको गणतन्त्रतर्फको झुकावका कारण उहाँ कम्युनिस्ट राजनीतिमा नै लाग्नुभयो । त्यसपछि ०३७ मा मोहनविक्रम सिंहमार्फत् नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधिको सोध ‘नेपाल किन विकास हुन सकेन’ भन्ने विषयमा माक्र्सवादी दृष्टिकोणबाटै लेख्नुभयो । ३१ वर्षको उमेरमा क्षेत्रीय विकासमा विद्यावारिधि गरेर स्वदेश फर्किनुभयो । इन्जिनियरिङको काबिल विद्यार्थी हुनुको नाताले आफूले अध्ययन गरेको क्षेत्रमा अवसर र सम्भावनाको कुनै कमी थिएन । तर, ‘राजनीतिक व्यवस्थामा परिवर्तन नआएसम्म जनताको अवस्थामा पनि परिवर्तन आउन कठिन छ’ भन्ने आफ्नो चेतका कारण वाम आन्दोलनमा सक्रिय हुन थाल्नुभयो । पुँजीवादले बेस्सरी गालेको आजको समाजमा व्यक्तिगत उन्नति र सम्पन्न जीवनको अभिलाषाले नै प्रायः मानिसलाई डोर्‍याउने गर्छ । तर, उहाँको जीवन फरक ढंगले अघि बढ्यो ।

०४६ को जनआन्दोलनका क्रममा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’को प्रवक्ताका रूपमा सक्रिय हुनुभयो । त्यही मोर्चाले नै आन्दोलनको उत्कर्षको दिन २४ चैतमा ‘नेपाल बन्द’को आयोजना गरेको थियो । मोर्चाले तत्कालीन नेपाली कांग्रेस, वाममोर्चा र राजदरबारबीच भएको सम्झौताको विरोध गरेर संविधानसभामार्फत् संविधान जारी गर्नुपर्ने प्रस्ताव अघि सार्‍यो । जसबारे त्यतिवेला यथेष्ट चर्चा भने भएन र जुन पछि गएर समग्र देशको एजेन्डा बन्न पुग्यो ।

डा. बाबुरामभित्र थुप्रै बाबुरामहरू छन् । ज्ञान र सूचनाको तिर्खा कहिल्यै नमेटिएको बाबुराम । आफूले देखेको सपनालाई कार्यान्वयन गर्न जस्तोसुकै जोखिम उठाउन र मिहिनेत गर्न पनि पछि नपर्ने बाबुराम ।  आफ्नो स्वार्थलाई भन्दा देशको स्वार्थका लागि मरिमेट्ने बाबुराम । तत्कालीन अवस्थामा जतिसुकै विवादित भए पनि आफूले देखेको सत्य बोल्न धक नमान्ने बाबुराम ।

दोस्रो घुम्ती
०४७ को संविधानप्रति २२बुँदे असहमति राखेर आलोचनात्मक समर्थन गरेको तत्कालीन एमालेले मदन भण्डारीको अवसानपछि आफ्नो जनपक्षीय साख र प्रगतिवादी धारलाई गुमाउँदै गयो । नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय विभेदको अन्त्य, जनताले चुनेका प्रतिनिधिले आफ्नो संविधान लेख्ने व्यवस्था र शासन प्रणालीलगायतका मागहरू राखेर सशस्त्र संघर्षको अर्काे कठिन बाटो समात्नुलाई डा. भट्टराईको जीवनको दोस्रो घुम्ती मान्न सकिन्छ ।

माओवादी सशस्त्र आन्दोलन उत्कर्षमा पुग्दै थियो । त्यही समयमा संविधानसभामार्फत् संविधान लेख्ने र संसद्वादी दलहरूसँग मिलेर गणतन्त्रका लागि संघर्ष गर्ने भन्ने बाबुरामको लाइन र राजासँग मिलेर संसद्वादी दलहरूलाई एक्ल्याउने प्रचण्डको रणनीतिबीच माओवादी पार्टीमा अन्तरविरोध थियो । जसको कारण उहाँले आफ्नै सहयोद्धा साथीहरूबाट ६ महिना नजरबन्दमा समेत बस्नुपर्‍यो । महिनौँसम्म रोल्पा, रुकुमका गाउँका गोठहरूमा भट्टराईसँगै नजरबन्दको साक्षी थिएँ, म । दुःखद् दिनहरूमा मैले उहाँलाई भनेको थिएँ, ‘यसरी आफ्नै साथीहरूबाट अपमानित भएर बस्नुभन्दा पार्टीबाट विद्रोह गरेर नयाँ आन्दोलनको सुरुवात गरौँ ।’

उहाँले त्यतिवेला प्रत्युत्तरमा भन्नुभएको थियो, ‘यदि हामीले अहिले छोड्यौँ भने नजिकै आउन लागेको संविधानसभा र गणतन्त्रको यात्रा तुहिन सक्छ ।’ समयले कोल्टो फे¥यो । माओवादी पार्टीको बहुचर्चित चुनवाङ बैठकले संविधानसभा र गणतन्त्रमा जाने डा. भट्टराईको शान्तिपूर्ण बाटोलाई राजनीतिक बाटो बनायो ।

त्यसैको कार्यान्वयनका लागि संसद्वादी दल र माओवादीबीच बहुचर्चित १२बुँदे समझदारी भयो, जसको प्रमुख मस्यौदाकारमध्ये एक डा. भट्टराई हुनुहुन्थ्यो । १२बुँदेको अन्तिम ड्राफ्ट मैले नै टाइप गरेको थिएँ । त्यसै समझदारीको आडमा दोस्रो जनआन्दोलन अघि बढ्यो । अन्तरिम व्यवस्थापिका संसद्मा माओवादी सामेल भएर त्यसले संविधानसभाको पहिलो चुनाव गरायो ।

१५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्र घोषणा गर्‍यो । ०३३ देखिको उहाँको गणतन्त्रको सपना, ०४८ पछिको संविधानसभाको सपना र त्यसका लागि गरेको संघर्षले पूर्णता पाएकैले होला उहाँले सार्वजनिक रूपमै ‘आफ्नो जीवनको सबभन्दा खुसीको दिन र एउटा सपना पूरा भएको दिन’ भनेर सगर्व घोषणा गर्नुभयो । मैले उहाँलाई प्रधानमन्त्री बनेको पनि नजिकबाट देखेको छु, प्रधानमन्त्री कालका उतारचढावका बारेमा कुनै दिन छुट्टै चर्चा गरौँला । तर, गणतन्त्रको घोषणा हुँदा जत्तिको खुसी प्रधानमन्त्री बनेका वेला पनि हुनुभएको थिएन ।

पहिलो संविधानसभाको दुःखद् अवसानपछि बनेको दोस्रो संविधानसभाले गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत गर्दै नयाँ संविधान त जारी गर्‍यो । तर, ५० जना बढी मधेसीको मृत्यु भइरहँदा नयाँ संविधान बनेको खुसियालीमा दीपावली गर्नुभन्दा कसरी संविधानमा नअटेका आवाजहरूलाई अटाउन सकिन्छ भन्नेतिर उहाँको खुबै जोड रह्यो ।

राजनीतिले एउटा निकास दिएपछि अब नयाँ बाटाका लागि संघर्षको क्रममा बनेका पार्टीहरूबाट होइन, नयाँ भिजनसहितको नयाँ राजनीतिक शक्तिको खाँचो रहेको भन्दै २५ फागुन ०७० मा ‘नेपाल’ साप्ताहिकमा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा लेख प्रकाशित भइसकेको थियो । त्यो लेख नेपालमा विद्यमान शास्त्रीय कम्युनिस्ट, दक्षिणपन्थी र नवउदारवादको पक्षपोषक प्रजातन्त्रवादीको धारका बीचमा नयाँ राजनीतिक विचारधाराको खोजी गर्ने बहसको सुरुवात थियो । पहिले पनि माओवादीको शान्ति प्रक्रियामा प्रवेशपछि ‘अबको नयाँ बाटो’ लेख लेखेर त्यसैतर्फ लक्षित गर्न खोज्नुभएको थियो ।

दुःखका दिनहरूमा मैले डा.  भट्टराईलाई भनेको थिएँ, ‘यसरी आफ्नै साथीहरूबाट अपमानित भएर बस्नुभन्दा पार्टीबाट विद्रोह गरेर नयाँ आन्दोलनको सुरुवात गरौँ ।’ उहाँको उत्तर थियो, ‘यदि हामीले अहिले छोड्यौँ भने नजिकै आउन लागेको संविधानसभा र गणतन्त्रको यात्रा तुहिन सक्छ ।’

तेस्रो घुम्ती
त्यसै बहसलाई कार्यान्वयन गर्ने क्रममा उहाँले माओवादी पार्टी छोड्न गरेको निर्णय अघि नै उल्लेख भइसकेको छ । बाबुरामले जीवनमा लिएका दुई घुम्तीले नेपालको परिवर्तनको पानीढलोलाई जबर्जस्त प्रभावित पार्‍यो । ०३६ मा गणतन्त्रको नारा लगाउने एक्लो डा. बाबुराम र ०४८ मा संविधानसभाको माग राख्दै नेपाल बन्दको आह्वान गर्ने सानो पार्टीको नेता डा. बाबुरामको कदम समय क्रममा देशको राजनीतिक मुद्दाका रूपमा स्थापित भएर निकास पायो । अब यो तेस्रो घुम्तीले पनि समय क्रममा त्यसरी नै प्रभावित गर्ला ?

जीवनको उत्तरार्धमा आफूले नै निर्माण गरेको विशाल पार्टी पंक्तिबाट बाहिरिएर लिएको राजनीतिक कदम अघिल्ला दुई कदमभन्दा धेरै हिसाबले महत्वपूर्ण र जोखिमपूर्ण छ । माओवादीभित्र चलनचल्तीको भाषामा भनिने विभिन्न अवसर हुँदाहुँदै पनि सफल अर्थमन्त्री र प्रधानमन्त्री भइसकेको मान्छे त्यो अवसर पर्खनुको साटो शून्यबाट नयाँ यात्रा थाल्ने साहस गर्नु भनेको चानचुने कदम होइन ।

त्यही बुझेर होला, ६० कटेका उहाँ अझै पनि रातको २–३ बजेसम्म नयाँ विचारधाराको खोजी गर्दैै आफ्नो ज्ञानको दायरा बढाउन किताबमा घोत्लिएर अनिँदो बसिरहेको पाउँछु । युरोप र अमेरिकाका प्रतिष्ठित नेपाली बौद्घिकहरू र नोबेल पुरस्कार विजेता, अध्येताहरूसँग अन्तरसंवाद गरिरहनुभएको छ ।

नेपालका गाउँ–गाउँ पुगेर विभिन्न तप्काका जनतासँग हातेमालो गरिरहनुभएको छ । काठमाडौंमा आफ्नै निवास नभएका सम्भवतः एक्ला पूर्वप्रधानमन्त्री आफ्नो परिवार र आफन्तका लागि आर्थिक उपार्जनभन्दा पनि देशको समृद्धि भन्दै हिँडिरहनुभएको छ । युवा पुस्तासँग भेटघाट गरिरहनुभएको छ ।

यतिखेर आफूलाई चर्चित र युवा भनिएका नेताहरू सकेसम्म विवादमा नआउने र फाइदा कसरी हुन्छ भन्ने ‘क्यालकुलेटिभ’ राजनीति गरिरहेछन्, तर भट्टराईले आफ्ना धारणाहरू स्पष्ट रूपमा सामाजिक सञ्जालदेखि मिडियामा लेखहरूमार्फत् सार्वजनिक गरिराख्नुभएको छ ।

स्वास्थ्य सेवा सुधारका लागि डा. गोविन्द केसीको आन्दोलन, बलात्कार तथा महिला हिंसाका घट्नाविरुद्धका आन्दोलन, पछिल्लो समयमा अमेरिका हुँदैै नेपालसम्म आइपुगेको यौन दुव्र्यवहारविरुद्धको ‘मिटू’ अभियान सबैमा आफ्नो बलियो साथ र ऐक्यबद्धताका साथ सडकदेखि सदनसम्म, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म डा. बाबुराम दह्रो रूपमा उभिइरहनुभएको छ ।

मैले बुझेसम्म डा. बाबुरामभित्र थुप्रै बाबुरामहरू छन् । ज्ञान र सूचनाको तिर्खा कहिल्यै नमेटिएको बाबुराम । आफूले देखेको सपनालाई कार्यान्वयन गर्न जस्तोसुकै जोखिम उठाउन र मेहनत गर्न पनि पछि नपर्ने बाबुराम । आफ्नो स्वार्थलाई भन्दा देशको स्वार्थका लागि मरिमेट्ने बाबुराम । तत्कालीन अवस्थामा जतिसुकै विवादित भए पनि आफूले देखेको सत्य बोल्न धक नमान्ने बाबुराम । ती फरक–फरक बाबुरामले फरक–फरक समयमा लिएका घुम्तीहरूले देशको राजनीतिले सकारात्मक परिवर्तनमा योगदान पुर्‍याएको छ ।

उहाँले लिनुभएका महत्वपूर्ण घुम्तीहरूको नजिकको अवलोकनकर्ता र अहिलेको उहाँको दैनिकीको साक्षी भएकाले मलाई लाग्छ, उहाँले राख्नुभएका देशका आर्थिक विकासका योजना, उदारवाद र समाजवादभन्दा बाहिर नयाँ विचारको खोजी गर्ने कदम पहिलेको जसरी नै देशको एजेन्डा बन्नेमा पूर्ण विश्वस्त छु । मूलतः नेपाली समाजको उन्नतिका लागि उग्र पुँजीवाद र शास्त्रीय कम्युनिजमभन्दा बाहिर तेस्रो राजनीतिक ध्रुवको खोजीमा उहाँ अझै तल्लिन हुनुहुन्छ । अघिल्ला दुई राजनीतिक घुम्ती र त्यसको नेपाली समाजमा परेको प्रभावका बारेमा नेपाली समाज साक्षी छँदै छ ।

डा. बाबुरामलाई लाग्छ साठी कटेपछि लिइएको जोखिमयुक्त तेस्रो घुम्तीले अबको एक दशकमै नेपाली समाजमा दिगो र सकारात्मक प्रभाव पार्नेछ । अघिल्लो पन्ध्र वर्षजस्तै आगामी दशक पनि डा. बाबुरामको राजनीतिक अभियानमा सँगै रहेर साक्षी हुन पाउनु र साथ दिन पाउनु र त्यसमार्फत् समाजको हितमा काम गर्न पाउनु मेरो जीवनको पनि सफलता हो । यस मानेमा मैले मेरो बुवाले भनेको सबैभन्दा महत्वपूर्ण परीक्षा पनि पास गरेको ठहरिनेछ । त्यसको संकेत दूर क्षितिजमा देखिइसकेको छ ।

तपाईको प्रतिक्रिया