मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट : पर्यटन प्रवर्द्धनबारे छलफल - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट : पर्यटन प्रवर्द्धनबारे छलफल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आइतबार भेट गरेकी छिन् । भेटमा लुम्बिनीको पर्यटन प्रवर्द्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव काम लाग्ने बताए । नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले रादूत मार्फत चिनियाँ सरकारप्रति मुख्यमन्त्रीले धन्यवाद व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले बताए । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल काठमाडाैं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।

राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताइन् । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराउदै ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सफलता पाउन शुभकामना समेत दिइन् । राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया