२० वटाको संख्यामा आएको जङ्गली हात्तीले घर भत्काएपछि स्थानीय त्रसित - Naya Patrika
eNaya Patrika
  • ePaper

२० वटाको संख्यामा आएको जङ्गली हात्तीले घर भत्काएपछि स्थानीय त्रसित

तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको समूहले भत्काइदिएको छ । गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह राना लगायतको घर हात्तीले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ । लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ । घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीले उखेलेको छ ।

राति १२ बजे २० भन्दा बढीको संख्यामा रहेको हात्तीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो । हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए ।

‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो’, उनले भने,‘घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर विचल्लीमा पारेको छ ।’

‘ज्यान त बल्लतल्ल जोगायौँ, घर जोगाउन सकिएन,’ उनले भने । अन्न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का खेमराज रानाले बताए । उनले भने,‘हात्तीले बिजोग पा¥यो । खानासमेत अरुबाट मागेर खानु परेको छ ।’

खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

यसैबीच, आज बिहान सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिए । उनका अनुसार हात्तीको समूहले तीन वटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नष्ट गरेको छ । खड्काले भने,‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ । तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।’ रासस

तपाईको प्रतिक्रिया