राष्ट्रपति भण्डारीदेखि पूर्वप्रधानमन्त्री भट्टरार्इसम्मको भाइटीका - Naya Patrika
eNaya Patrika
  • ePaper

राष्ट्रपति भण्डारीदेखि पूर्वप्रधानमन्त्री भट्टरार्इसम्मको भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको साइतमा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् ।

भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरिन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि भाइटीका लगाएका छन् । उनले उपराष्ट्रपति निवास कपुरधारामा टीकाको साइत ११ः५५ बजे नै लगाए । उनले आफ्नी दिदी दिदी गृहजिल्ला रोल्पामा रहेकाले नजिकका बहिनीसँग भाइटीका लगाए ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट बिहान ९ः३० बजे नै भाइटीका लगाएका छन् । उनले भाइटीका बहिनीको कमलादीस्थित घरमा पुगेर लगाए ।

तपाईको प्रतिक्रिया