सरकारद्वारा सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्टमा छापा, गुणस्तरहीन सामान बेचेपछि जफत - Naya Patrika
eNaya Patrika
  • ePaper

सरकारद्वारा सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्टमा छापा, गुणस्तरहीन सामान बेचेपछि जफत

सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राइ फुड्स् जफत गरेको छ । तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राइ फ्रुड्स् जफत गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहिन भएको पाइएपछि जफत गरेको हो । म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राइ फ्रुड्स भेटिएकाले जफत गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । विभागले डिपार्टमेन्ट स्टोर परिसरमा संचालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहिन तेल पनि नष्ट गरेको छ ।

सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको सुवेदीले बताए । खाद्य बस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी सार्वजनिक विदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको सुवेदीले बताए । उनले उपभोक्तामाथि खेलबाड गर्ने उत्पादकमाथि कडा कारबाही गर्ने बताए ।

बुधबार गुणस्तरहिन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दूधजन्य बस्तु बिक्रीवितरणमा रोक लगाएको थियो । खाद्य स्वच्छता अभियान अन्तरगत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढि प्रयोगमा आउने खाद्य बस्तुहरु दूध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया