राहत बोकेर अग्निपीडित भेट्न पुगे मानेभञ्ज्याङका जनप्रतिनिधि - Naya Patrika
eNaya Patrika
  • ePaper

राहत बोकेर अग्निपीडित भेट्न पुगे मानेभञ्ज्याङका जनप्रतिनिधि

ओखलढुंगास्थित मानेभञ्ज्याङ गाउँपालिकाले वाक्सा क्षेत्रका अग्नि पीडितलाई राहत वितरण गरेको छ । दुई दिनअघि आगलागीबाट पशुचौपाय सहित धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत वितरण गरेका हुन् । सडकको पहुँच नभएकाले अत्यावश्यकिय सामान बोकरै लगेर वितरण गरेको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।

‘पीडितको पीडामा थोरै भएपनि मल्हम लगाउने प्रयास ग¥यौं ।’ उपाध्यक्ष राईले भनिन्,‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामाग्री लिएर गयौं, स्थानीय सरकारको तर्फबाट हुने र सक्ने सहयोग उपलब्ध गराएर फर्कियौं ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतिराज राई, उपाध्यक्ष सविता राईसहित जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिए । ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरू पनि थप निराशा नहुन् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको छ,’ अध्यक्ष कार्कीले भने । उनका अनुसार वडाले प्रति परिवार ५ हजारका दरले नगद सहयोग गरेको छ । कांग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्नि पिडितलाई चामल, नुनतेल लगायतका सामाग्री सहयोग गरेका छन् ।

केही दिन अघि बच्चाले महुरीलाई आगो लगाउँदा सुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्साका चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चार वटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल पूर्ण रुपमा नष्ट भएको थियो ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई वटा भैंसी जलेका थिए । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेका थिए । धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जले थिए । आगोले करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारा लिएर बसेका छन् ।

तपाईको प्रतिक्रिया