आज नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३९ - Naya Patrika
eNaya Patrika
  • ePaper

आज नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३९

नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया