दीपावलीमा सप्तरीका बजार रंगीचंगी - Naya Patrika
eNaya Patrika
  • ePaper

दीपावलीमा सप्तरीका बजार रंगीचंगी

हिन्दूको दोस्रो महत्वपूर्ण पर्व दीपावली सप्तरीमा धुमधामका साथ मनाइदै छ । दीपावलीको अवसरमा घर, पसल तथा व्यापारीक प्रतिष्ठानहरु विभिन्न रंगका कागज, फूल र केराको बोटले सजाइएपछि नगर क्षेत्र रंगीचंगी देखिएको हो ।

तिहारमा प्रयोग हुने माला, घर सजाउने प्लास्टिकका सामग्री, विद्युतीय सामान र मिठाइ पसल सञ्चालनमा आएपछि बजार क्षेत्र पुरै रंगीचंगी बनेको हो । बजार क्षेत्र जताततै पसल र घरमा फूल र प्लास्टिकका माला र घर सजाउने सामग्रीले झकीझकाउ बनेको छ ।

ठाउँठाउँमा अस्थायी पसल थापेर तिहारका सामग्री विक्री भइरहेका छन् । व्यापारीले ठूलो लगानी गरी माला र सजावटका लागी विद्युतीय सामग्री भित्रिएका छन् भने ग्रामीण क्षेत्रबाट पनि ठूलो संख्यमा माटाका मूर्ति, भाडाकुडा, दियो लगायतका सामग्री विक्री गर्न पनि व्यवसायीहरु सदरमुकाम आएका छन् ।

पूजा र घर सजावटका सामग्री सँगै खाद्यान्न, फलफूल र लत्ताकपडा खरिद गर्नेको भीड पनि उल्लेख्यरूपमा बढेको छ । तिहार अगमनसँगै व्यापार बढेको व्यवसायी बताउँछन् ।

यस अवसरमा लक्ष्मी गणेश मन्दिर बाहेक क्लवहरुले माटोको मूर्ति स्थापना गरी लक्ष्मीपूजाको आयोजना गरेका छन् । राजविराज ५ स्थित लक्ष्मी पूजा समितिले मूर्ति, पंडाल, प्रसाद तथा सरसजावटमा ५ लाख भन्दा बढी खर्च गरेका छन् ।

यस्तै तेतरी गाछी, कुनौली रोड, माँ बैष्णेकाली मन्दिरलगायतका स्थानमा समेत लाखौँ रुपैयाँ खर्चेर मूर्ति, पंडाल र सरसजावट गरिएको छ ।

यता तिहार र छठ पर्वलाई केन्द्रित गर्दै सुरक्षा सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकार सुरेन्द्र पौडेलले बताए । चाँडपर्वमा कुनै अप्रिय र अपराधिक घटना हुन नदिन आवश्यक सबै प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताए ।

उनले स्थानीय बजारमा अनुगमन गरी कालाबजारीलाई धेरै हदसम्म नियन्त्रणमा लिएको बताए । यस्तै प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले चाँडपर्व लक्षित ११ बुँदे विशेष सुरक्षा योजना ल्याइ निगरानी बढाइएको बताए ।

चाँडपर्वमा हुने चोरी, ठगी, लुटपाट, मदिरा सेवन, हो–हल्ला, झै–झगडा, दुर्घटनालगायत सबै गतिविधि नियन्त्रण गर्न कडाइका साथ २४सैँ घण्टा सादा पोशाकका प्रहरीसमेत परिचालन गरी चेकजाँच गरी निगरानी भइरहेको उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया