नवलपुरमा ८४ करोडको लागतमा १२ वटा पुल बन्दै - Naya Patrika
eNaya Patrika
  • ePaper

नवलपुरमा ८४ करोडको लागतमा १२ वटा पुल बन्दै

नवलपरासी पूर्व (नवलपुरका ) विभिन्न स्थानमा गरि झण्डै ८४ करोड रुपैयाँको लागतमा १२ वटा पुल निर्माण भइरहेका छन् । डिभिजन सडक कार्यालय बुटवलको मातहतमा नवलपुका विभिन्न १२ स्थानमा पुल निर्माण भइरहेको हो । देवचुली, कावासोती, मध्यविन्दू नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न खोलाहरुमा धमाधम पुलहरु निर्माण भइरहेका छन् । डिभिजन सडक कार्यालय बुटवलका सब इन्जिनियर नवीन पाण्डेका अनुसार कावासोती नगरपालिकामा मात्रै ६ वटा पुल निर्माण भइरहेका छन् । कावासोतीको केरु खोलाका विभिन्न ३ स्थानमा पुल निर्माण भइरहेका छ ।

झण्डै चार किलोमिटरको दुरीमा ३ वटा पुल निर्माण हुँदै छ । कावासोतीको वडा नम्बर ३ र ४ जोड्ने गरि केरु खोलामा १२ करोड ५४ लाख रुपैयाँको लागतमा एउटा पुल निर्माण भइरहेको छ । खोलामा वडा नम्बर ४ र ५ जोड्ने गरि ८ करोड ५० लाख रुपैयाँ र ९ करोड ५० लाख रुपैयाँको दुईवटा पुल निर्माण भइरहेको सब इन्जिनियर पाण्डेले बताए । जसमध्ये एउटा पुलको ७० प्रतिशत र दुईवटाको ४० प्रतिशत काम सम्पन्न भएको छ ।

कावासोती नगरपालिकाको वडा नम्बर एक र देवचुली नौ जोडने गरि लोकाहा खोलमा ५ करोड १५ लाख रुपैयाको लागतमा पुल निर्माण हुँदैछ । यसको ७० प्रतिशत काम पुरा भएको छ । कावासोतीको वडा नम्बर ७ स्थित ट्याङग्री र छोछडीमा क्रमशः ४ करोड २० लाख रुपैयाँ र ४ करोड ५५ लाख रुपैयाँको लागतमा दुई वटा पुल निर्माण भइरहेको छ । दुवै पुलको ५६ प्रतिशत काम सम्पन्न भएको पाण्डेले जानकारी दिए ।

नवलपुरको देवचुली नगरपालिकामा रहेको टोक्रे खोला र वगवाई खोलामा क्रमशः ४ करोड २५ लाख र ५ करोड ८० लाख रुपैयाँको लागतमा दुई वटा पुलको निर्माण कार्य चलिरहेको छ । दुवै पुलको ३० प्रतिशत काम भएको उनले बताए ।

देवचुली नगरपालिकाको वगाहा खोलामा बसन्तपुर र बाह्रकोल जोड्ने गरि ४ करोड रुपैयाँको लागतमा पुल निर्माण भइरहेको छ । यसकोे ३० प्रतिशत काम भएको छ । पाण्डेका अनुसार नवलपुरको अरूखोलामा एउटा र दुम्किबाँसमा दुई वटा पुलको समेत निर्माण कार्य चलिरहेको छ । करिब २५ करोड रुपैयाँको लागतमा तीन वटा पुलहरु निर्माण भइरहेका छन् ।

निर्माणाधिन अवस्थामा रहेका पुलहरु मध्ये केरु खोलामा निर्माण भएको एउटा पुल आर्थिक वर्ष ०७३/७४ बाट निर्माण थालिएको हो । बाँकी सबै पुल गएको आवबाट निर्माण सुरु भएका हुन् । कुनै पनि पुलको निर्माण सम्पन्न गर्नुपर्ने समय अवधि ननाघेको सब ईन्जिनियर पाण्डेले बताए । निर्माणाधिन अवस्थामा रहेका सबै पुलहरु काममा कुनै अवरोध नआए अबको डेढ वर्षमा निर्माण सम्पन्न हुने छन् ।

ट्याग्री, छोछडी, लोकाहा र टोके्र खोलामा निर्माण भइरहेका चार वटा पुल भने यसै आवको अन्त्य सम्ममा संचालनमा आउने उनले बताए । पाण्डेका अनुसार यस आवमा नवलपुरमा थप दुई वटा पुलका लागि बजेट विनियोजन भएको छ । लोकाहा र बेल्डीया खोलामा पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया