हराउँदै दीपावलीको मौलिकता - Naya Patrika
eNaya Patrika
  • ePaper

हराउँदै दीपावलीको मौलिकता

धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भड्किलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ ।

मौलिकता गुमनाम हुने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको छ । संस्कृति पैसामा बेचिन थालेको भन्दै अग्रज पुस्तामा चिन्ता बढ्न थालेको छ । पछिल्लो समयमा गीत, बाजा, संस्कृतिको समेत आयात हुने संस्कार बढेको छ । हिजो सयपत्री, मखमली, धुपी, दूबोलगायतका स्थानीयस्तरमा बनाइएका माला लगाउने परम्परा पनि हराउँदै गएको छ ।

संस्कृति पैसामा बिक्री हुँदा, मौलिकता हराउँदै जाँदा मौलिक संस्कृति र पहिचान गुम्ने त्यतिकै खतरा बढेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताछन् । ‘खासगरी खस राज्य जुम्लाका संस्थापक बलिराजाले देउसी भैलो संस्कृतिको शुरुवात गरेका हुन्,’ आचार्यले भने, ‘मानसरोवर सिमकोट हुँदै पछि नेपालको राजधानी सहर काठमाडौँलगायत मुलुकका अन्य ठाउँमा पनि यो संस्कृति फैलियो ।’

उनले थपे,‘हामी त्यसै आएका होइनौँ । बलिराजाले पठाएका भन्ने जस्ता वाक्य भटभट्याउने संस्कृति आजभोलि त्यति धेरै मात्रामा सुन्न पाइँदैन । यसको कारण भनेकै रेडिमेट गीत सङ्गीत पछ्याउनु र त्यसैमा बढी निर्भर हुनु हो ।’ पुर्खाको विरासत र इतिहासलाई बचाउन नसके भावी पिँढीसमेत बिलिन भएर जाने उनको भनाइ छ ।

चन्दननाथ नगरपालिका–७ जुम्लाका स्थानीय ज्येष्ठ नागरिक पदमलाल महतले अहिलेको पुस्तासँग आफ्नो मौलिकता, संस्कृति र त्यसको संरक्षण सम्वद्र्धन गर्ने मामलामा चासो नरहेको जिकिर गरे । ‘अर्काको नक्कल गरेर हाम्रो संस्कृतिको रक्षा हुँदैन,’ महतले भने,‘असल संस्कृति, मौलिकपन तथा परम्परा हाम्रो पहिचान र अस्तित्व हुन् । यिनको संरक्षण र प्रवद्र्धनार्थ बेलैमा पहल चाल्नु पर्दछ ।’

तातोपानी गाउँपालिका–१ जुम्लाका वीरबहादुर शाही भन्छन्,‘ढिचिक्ढिचिक, ड्याङुडुङ्, डिङ्डिङ जस्ता उरेन्ठेउले सङ्गीतले मौलिक सङ्गीतमाथि हमाला गरेको छ ।’ त्यतिमात्र होइन, यसले नवीन सिर्जना गर्ने शक्तिलाई कमजोर बनाउँदै लगेको उनको ठहर छ । अहिले भाइटीकामा लगाउने मखमली, सयपत्री, हजारीमाला भन्दा बजारमा नक्कली माला खरीद बिक्री गर्ने होड चलेको उनले जनाए । यसले आफ्नै उत्पादन र मौलिकतालाई निरुत्साहित गरेकोप्रति उनले चिन्ता प्रकट गरे ।

सामाजिक तथा शैक्षिक अभियान्ता मनोज बुढाथोकी मगरले उत्तर आधुनिकवादले नेपाली मौलिकता प्रभावित हुँदै गएको टिप्पणी गरे । ‘साहित्य, कला, संस्कृति र भाषा हरेक समाजका धरोहर हुन्,’ अभियान्ता बुढाथोकी मगरले भने, ‘यिनको जगेर्ना गर्न र आयातित संस्कृतिलाई रोक्न जरुरी छ ।’ त्यसको लागि मौलिक संस्कृति र संस्कारमा आफ्नोपनको विकास गराउनुपर्ने उनको सुझाव छ ।

रेकर्डिड गीत सङ्गीतले सिर्जनशीलतालाई समाप्त पार्न थालेको जनाउँदै उनले अहिलेको सङ्गीत उत्तेजक मञ्चमा अनुवाद हुन थालेको तर्क गरे । यसले मौलिक बाजा, परम्परा, भावना र सम्बन्ध गाँस्ने परिवेशको समेत विस्थापित गरेको उनले बताए । झ्याली, मादल, बाँसुरी, मुरली, सारङ्गी, खैंजडी जस्ता चीज प्रयोग गर्नेभन्दा बनिबनाउ गीत सङ्गीतमा नाच्ने प्रचलन बढ्नुले खस आर्य र नेपालीपनमा धक्का पुगेको उनको भनाइ थियो ।

प्रकृति र प्रविधि दुवैलाई समाहित गरेर लैजान सके संस्कृति संरक्षण र विकास हुने उनको दाबी छ । दीपावलीको अवसरमा खेलिने खस आर्य सभ्यताबाट सृजित राजा बलिराज चलाएको देउसी, भैली भूवो र पौराणिक कथनअनुसार यमराजले बहिनी यमुनालाई टीकाटालो गरेबाट दाजुभाइ र दिदीबहिनीमा आपसी माया र सद्भाव साटासाट गर्ने दिनको स्मरणस्वरुप भाइटीका मनाउने प्रथा चलेको बताइन्छ । रासस

तपाईको प्रतिक्रिया