नेपालगन्ज-कोहलपुरलाई करिडोर बनाइने - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपालगन्ज-कोहलपुरलाई करिडोर बनाइने

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले नेपालगन्ज–कोहलपुरलाई करिडोरको रूपमा विकास गर्ने योजना बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालगन्जस्थित पुनर्निर्मित रानीतलाउको उद्घाटन गर्दै बाँकेको समग्र विकासका लागि नेपालगन्ज–कोहलपुर करिडोर आवश्यक भएको बताएका हुन् । बुटवल र भैरहवालाई जस्तै नेपालगन्जलाई पनि करिडोरको रूपमा विकास गर्ने तयारी प्रदेशले गरेको उनले बताए ।

नेपालगन्ज छिमेकी मुलुक भारतको ‘ट्रान्जिट प्वाइन्ट’ सहर भएकाले भारत निर्यात हुने सामान उत्पादन गर्न उद्योगी, व्यवसायीलाई मुख्यमन्त्री पोखरेलले सुझाब दिए । भारतको सबै स्थलमार्ग नेपालगन्जसँग जोडिएको भन्दै उनले ऐतिहासिक नगरी नेपालगन्जलाई आधुनिक सहरको रूपमा विकास गर्न भारतमा निर्यात हुने सामानको उत्पादन बढाउनुपर्ने बताए । ‘नेपालगन्जलाई घना बस्ती बनाउने वा व्यवस्थित सहर बनाउने नेपालगन्जवासीको हातमा छ,’ उनले भने ।

झन्डै २३ लाखामा रानीतलाउ जीर्णोद्धार
२२ लाख ७८ हजार लागतमा जीर्ण रहेको रानीतलाउको जीर्णोद्धार गरी नौकाविहार सञ्चालन भएको छ । डा. धवलशमशेर राणा नेपालगन्जमा पहिलोपटक मेयर हुँदा ०५५ मा बोटिङ सञ्ंचालनमा ल्याएका थिए । उनको कार्यकाल सकिएलगत्तै बोटिङविहार बन्द भएको थियो । त्यसपछि मर्मतसम्भार नपाएपछि जीर्ण बनेको थियो । तलाउ पानी सुकेर पशुचौपायाका लागि चरिचरण गर्ने थलो बनेको थियो ।

जलविहारका लागि रानीतलाउ खुला
नेपालगन्ज उपमहानगरले रानीतलाउमा जलविहार गर्न बुधबारदेखि खुला गर्ने भएको छ । बोटिङका लागि चारवटा बोट (डुंगा) ल्याएको उपमहानगरका इन्जिनियर सुरज गुप्ताले बताए । तलाउलाई चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खाल र जीर्ण बनेका अन्य भौतिक संरचनामा रङरोगन गरिएको छ । डिप बोरिङमार्फत पानी भरिएको छ । बालबालिकाका लागि उद्यान, बटुवा बस्नका लागि कुर्सी, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको छ । दक्षिणतर्फ तीनवटा कटेज तथा पूर्व र पश्चिमतर्फ रमणीय पार्क निर्माण गरिएको छ ।

नेपालगन्जको विकासमा सरकारले सहयोग गर्ने
मुख्यमन्त्री पोखरेलले ‘हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज’को अवधारणासहितको योजना बनाए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । उनले नेपालगन्जको विकास तीव्र गतिमा भए पनि हरियाली र सरसफाइ घट्दै गएको गुनासो गरे । ‘नेपालगन्ज गर्मी हुने सहर हो, गर्मी कम गर्न हरियाली र फोहोर व्यवस्थापन हुन जरुरी छ । उपमहानगरपालिकाले हरियाली र सरसफाइ अभियान चलाओस्, प्रदेश सरकार अभियानमा साथ दिन तयार छ,’ मुख्यमन्त्री पोखरेलले भने ।

तपाईको प्रतिक्रिया