संसदीय अनुगमन समितिले थाल्यो छानबिन - Naya Patrika
eNaya Patrika
  • ePaper

संसदीय अनुगमन समितिले थाल्यो छानबिन

तत्कालीन सहरी डिभिजन कार्यालयले गत आर्थिक वर्षमा प्रदेश मन्त्रालय, प्रदेश सभालगायत व्यवस्थापनमा गरेको खर्चको प्रदेश २ संसदीय अनुगमन विशेष समितिले छानबिन थालेको छ ।

प्रदेश सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा देवको संयोजकत्वमा समिति गठन गरेका थिए । तत्कालीन सहरी डिभिजन कार्यालयबाट भएको मन्त्रालयको मर्मतसम्भार तथा रङरोगनमा आर्थिक अनियमितता भएको भन्दै पटकपटक सांसदहरूले प्रदेश सभा बैठकमा कुरा उठाएपछि सभामुखले समिति गठन गरेका हुन् ।

समिति सदस्यमा संघीय फोरमबाट बच्चा यादव अहिर, कांग्रेसबाट शिवचन्द्र चौधरी, राजपाबाट रमेश कुर्मी र संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साह छन् । त्यस्तै एमालेबाट शत्रुधन महतो, एमाओवादीबाट रामकुमार यादव पनि सदस्य छन् । प्रदेश सभामा पार्टी एकीकरणको जानकारी नगराई तत्कालीन एमाले र एमाओवादीकै नाममा क्रियाशील हुँदा दुवै दलबाट सदस्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ । समितिको सदस्यसचिवमा प्रदेश सभाका उपसचिव रञ्जित यादव छन् ।

संघीय सरकारले गत आर्थिक वर्षमा प्रदेश २ का मन्त्रालयहरू, प्रदेश सभा सचिवालयलगायतको व्यवस्थापनका लागि सहरी डिभिजन कार्यालयलाई साढे सात करोड पठाएको थिए । सो रकमबाट कार्यालयले मन्त्रालयहरूका लागि जनकपुर चुरोट कारखानाको भवनहरूको मर्मतसम्भार तथा रङरोगन गरेको थियो । समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय र कार्यालयमा पत्राचार गरी खर्च विवरण मागेको छ ।

आर्थिक अनियमितताको आशंका
संघीय सरकारले गत आर्थिक वर्षमा प्रदेश २ का मन्त्रालयहरू, प्रदेश सभा सचिवालयलगायतको व्यवस्थपनका लागि सहरी डिभिजन कार्यालयलाई साढे सात करोड पठाएको थिए । तर, मर्मतसम्भारमा व्यापक आर्थिक अनियमितता भएको सांसदहरूको दाबी छ । संघीय सरकारले सहरी भिडिजन कार्यालयका तत्कालीन प्रमुख गंगा यादव र धनुषाका तत्कालीन प्रजिअ दिलीप चापागाईंको नाउँमा खर्चको अख्तियारी पठाएको थियो । प्रदेशका प्रमुख सचिव आइसकेपछि पनि अख्तियारी उनीहरूकै नाममा आएकाले मर्मतसम्भार सहरी डिभिजन कार्यालयले नै गरेको थियो ।

तपाईको प्रतिक्रिया