पर्यटन क्षेत्रमा लगानी गर्न ढकालको आग्रह - Naya Patrika
eNaya Patrika
  • ePaper

पर्यटन क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको बताएका छन् । उनले चाइना एड्भेन्चर टुरिजम फोरमद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘हिमालयन समिट’ मा मुख्य वक्ताका रूपमा उक्त धारणा राखेका हुन् ।

अध्यक्ष ढकालले नेपाल र चीनबीच प्राचीनकालदेखि नै रहिआएको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षित युवा जनशक्ति तयार हुँदै गएको बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउँदै सगरमाथा, उच्च हिमशृंखला र बुद्ध जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि रहेको भन्दै ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले नेपालका कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्र सबैसँग सदैव सहकार्य गर्न तयार रहेको उनले बताए । अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको बताउँदै उनले दुई छिमेकी मित्रराष्ट्रको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रूपान्तरणमा सदुपयोग गर्न नेपाली निजी क्षेत्र तयार रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया