दिल्लीको प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० गुणा बढी - Naya Patrika
eNaya Patrika
  • ePaper

दिल्लीको प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० गुणा बढी

भारतको नयाँ दिल्लीको प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० गुणा बढेको छ । प्रदूषण बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई घरभित्रै रहन र प्रदूषणका कारक मानिने गतिविधि रोक्न आग्रह गरेका छन् । दीपावलीअघि नै सहरमा बाक्लो तुवाँलोले ढाकेपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रदूषण कम गर्न सहरभित्र भइरहेका निमार्ण कार्य कही समय रोक्न सरकारले निर्देशन दिएको छ । दिल्ली लगायत प्रभावित सबै विद्यालयहरूमा तीन दिन विदा दिइएको छ । सर्वोच्च अदालतले दुई घण्टा मात्र पटका पड्काउन आदेश दिएको छ । तर, धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागू गर्न निकै कठिन हुने विज्ञहरूको भनाई छ ।

विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ । भारतीय सहरहरूमा पछिल्ला केही वर्षयता वायु प्रदूषणको मात्रा निकै बढेको छ । पन्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्वराशक्ति बढ्ने विश्वासमा खेतमा पराललगायतका फोहर बाल्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूले बताउँदै आएका छन् ।

राजधानी दिल्लीमा बढेको प्रदूषण न्यून गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरेपनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकीकरणले यस कार्यमा चुनौती दिने गरेको छ । प्रदूषण कमी गर्न र प्रदुषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया