पुसभित्रै विद्युत् उत्पादन गर्ने तयारीमा घट्टेखोला जलविद्युत् आयोजना - Naya Patrika
eNaya Patrika
  • ePaper

पुसभित्रै विद्युत् उत्पादन गर्ने तयारीमा घट्टेखोला जलविद्युत् आयोजना

हालसम्म आयोजनाको ८५ प्रतिशत काम सकिएको छ
गौरीशंकर गाउँपालिकास्थित चंखुमा निर्माणाधीन घट्टेखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । मनकामना इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको ५ मेगावाटको आयोजना डेढ वर्षअघि निर्माण सुरु गरिएको हो । हालसम्म आयोजनाको ८५ प्रतिशत काम सकिएको घट्टेखोला जलविद्युत् आयोजनाका साइड इन्चार्ज बालकृष्ण पंगेनीले जानकारी दिए ।

चंखुको ठाडो खोला र रोप्ताङ खोलाभन्दा १ सय मिटर तल आयोजनाको बाँध निर्माण गरिएको छ । इन्चार्ज पंगेनीका अनुसार हालसम्म हेडबक्सको झन्डै ९० प्रतिशत काम सकिएको छ भने विद्युत्गृहको काम पनि ९५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको सिभिलतर्फ साकुरा पावर कम्पनी र हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीले काम गरिरहेका छन् ।

अहिले आयोजनाको विद्युत्गृहमा इन्डियन उपकरणहरू जडान भइरहेको इन्चार्ज पंगेनीले बताए । पंगेनीका अनुसार आयोजनामा २ किलोमिटर हेडरेस पाइप जडान गर्नुपर्नेमा झन्डै १७ सय मिटर जडान गरिसकिएको छ । बाँकी ३ सय मिटर पाइप जडान गर्ने काम तीव्रताका साथ अगाडि बढिरहेको छ । यो आयोजना पिकिङ रन अफ द रिभरअन्तर्गतकै आयोजना हो । आयोजनामा ८ सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भइसकेको छ ।

८७ करोड लागत
८७ करोडको लागतमा निर्माण भइरहेको घट्टेखोलामा बैंक अफ काठमाण्डूको नेतृत्वमा प्रभु बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गरेको आयोजनाका प्रबन्ध निर्देशक टेकप्रसाद चौलागाईंले जानकारी दिए । उनका अनुसार कुनै प्राकृतिक विपत्ति नआए तोकिएकै समयावधिमा विद्युत् उत्पादन हुनेछ ।

तपाईको प्रतिक्रिया