अमेरिकामा मध्यावधि निर्वाचन - Naya Patrika
eNaya Patrika
  • ePaper

अमेरिकामा मध्यावधि निर्वाचन

अमेरिकाको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभका लागि मंगलबार मध्यावधि निर्वाचन सम्पन्न भएको छ । तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभका सम्पूर्ण ४३५ सिट, एक सय सदस्य रहेको माथिल्लो सदन सिनेटको ३५ सिट र ५० राज्यमध्ये ३६ राज्यका गभर्नरका लागि निर्वाचन भएको हो । मध्यावधि निर्वाचनलाई धेरैले राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईवर्षे कार्यकालको जनमत संग्रहका रूपमा लिएका छन् ।

अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक आधा अवधि समाप्त भएपछि मध्यावधि निर्वाचन हुने व्यवस्था छ । निर्वाचन परिणामले राष्ट्रपतिको बाँकी दुईवर्षे कार्यकाल र ट्रम्पको नीतिलाई प्रभाव पार्न सक्छ । डेमोक्र्याटिक पार्टीले बहुमत ल्याएमा ट्रम्पका विवादित नीति र घोषणा कार्यान्वयनमा अंकुश लाग्नेछ । तीन करोडभन्दा धेरै मतदाताले निर्वाचन दिनको पहिले नै सोमबार ‘अर्ली भोटिङ’ मा सहभागी भए । यो तथ्यांकले सन् २०१४ को ‘अर्ली भोटिङ’ गर्ने मतदाताको संख्याभन्दा निकै बढी हो ।

यस्तो छ चुनावी समीकरण
कुल १०० सदस्य रहेको सिनेटमा ५१ रिपब्लिकन र ४९ डेमोक्रेट सदस्य छन् । उनीहरूमध्ये दुईजना स्वतन्त्र छन् । तर, मंगलबार सिनेटको रिक्त एकतिहाई सदस्य अर्थात् ३५ सिटका लागि निर्वाचन भएको छ । सिनेटमा डेमोक्रेटहरूलाई बहुमतका लागि थप दुई सिट जित्नु आवश्यक पर्छ । तर, चुनावअघिका केही सर्वेक्षणहरूले रिपब्लिकनले नैै बहुमत ल्याउने देखाएको छ ।

त्यस्तै, ४३५ सदस्यीय हाउस अफ रिप्रजेन्टेटिभमा रिपब्लिकनको २३५ र डेमोक्रेटको १९३ सिट छ भने सात पद रिक्त छन् । तल्लो सदनमा बहुमत प्राप्त गर्नका लागि डेमोक्रेटहरूले २३ सिट जित्नुपर्छ । त्यस्तै, निर्वाचन हुने ३६ गभर्नरमा २६ रिपब्लिकन रहेका छन् भने ९ डेमोक्रेट छन् ।

बहुमत गुमाउन सक्छ ट्रम्पको रिपब्लिकले
अमेरिकी मध्यावधि निर्वाचनको इतिहासमा ह्वाइटहाउसको कमान्ड सम्हालेको सत्ताधारी दलले सिनेट र हाउसमा दुवैमा सिट गुमाएको देखिन्छ । सन् १८६२ देखिको मध्यावधि निर्वाचन परिणाम विश्लेषण गर्दा राष्ट्रपतिको पार्टीले औसत रूपमा तल्लो सदनमा ३२ सिट र सिनेटमा दुई सिट गुमाएको इतिहास छ ।

विवादित नीति र कार्यशैलीका कारण ट्रम्प ह्वाइटहाउसको कमान्ड सम्हालेदेखि नै आलोचित हुँदै आएका छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा अलोकप्रिय राष्ट्रपति हुन् । उनीप्रति अमेरिकीको एप्रोभल रेटिङ मुस्किलले ४० प्रतिशत छ ट्रम्पको आप्रवाससम्बन्धी नीतिलाई लिएर आमअमेरिकी विभाजित छन् । वर्षौंदेखि अमेरिका रहेका आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको योजनाको धेरैले विरोध गरेका छन् ।

त्यसले उनी मंगलबारको निर्वाचनमा राष्ट्रपतिको दलले बहुमत गुमाउने सम्भावना पनि उत्तिकै छ । २००२ को मध्यावधि निर्वाचनमा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस समर्थित रिपब्लिकन पार्टीले तल्लो सदनमा आठ सिट ल्याएका थिए भने सिनेटमा जम्मा दुई सिट ल्याएका थिए ।

कस्तो असर गर्छ निर्वाचन परिणामले ?
मध्यावधि निर्वाचनको परिणामले अमेरिकी राजनीतिमा दूरगामी असर पार्नेछ । यो निर्वाचनले रिपब्लिकनहरूलाई अहिलेकै अवस्थामा पु¥याउने वा डेमोक्रेटहरूलाई बहुमत दिएर सरकारमाथि नियन्त्रण गर्दै ट्रम्पको नीतिलाई चुनौती दिने भन्ने अवसर दिएको छ ।

अहिलेसम्मको मध्यावधिको नतिजा अमेरिकी मध्यावधि निर्वाचनको इतिहासमा सधँैजसो ह्वाइटहाउसको कमान्ड सम्हालेको सत्तारुढ दलले सिनेट र हाउस अफ रिप्रजेन्टेटिभ दुवैमा सिट गुमाएको देखिन्छ । निर्वाचनपछि रिपब्लिकनले बहुमत गुमाएमा ट्रम्पका योजना र घोषणा अलपत्र पर्नेछन् ।

तपाईको प्रतिक्रिया