नेपालमा पुष्प व्यवसायको अवस्था - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपालमा पुष्प व्यवसायको अवस्था

फूलको पर्वका रूपमा लिइने तिहारमा सयपत्री, गोदावरी र मखमलीको सबैभन्दा बढी खपत हुन्छ । अझ मखमली फूल त तिहारमा मात्र खपत हुने गरेको छ । अन्य वेला यसको प्रयोग नै हुँदैन । नेपालमा बढ्दो फूलको मागसँगै फूल उत्पादनमा आत्मनिर्भरउन्मुख हुँदै छ । सरकार र व्यवसायीले यो क्षेत्रमा लगानी वृद्धि गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले यो क्षेत्रको विकासमा भएका कामबारे यसरी वर्णन गरेका छन् :

नेपालीहरूले दसैँपछि उल्लासका साथ मनाउने तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग धेरै हुने गरेको छ । यी तीनमध्ये उत्पादनको हिसाबले मखमली फूलमा हामी आत्मनिर्भर छौँ । विशेषगरी भाइटीकाका दिन मालाका रूपमा मात्र प्रयोग हुने मखमलीको खासै उपयोग हुने गरेको देखिँदैन । तिहारको एक दिन मात्र यसको माग हुने भएका कारण स्वदेशको उत्पादनले माग धान्न सक्षम भइरहेको स्थिति छ ।

त्यस्तै, गोदावरी फूलको प्रयोग पनि तिहारको समयमा बढ्न थालेको छ । गोदावरी राम्रोसँग फुल्ने भएका कारण खासगरी सहरी क्षेत्रका उपभोक्ताले यसलाई रुचाउन थालेका छन् । गोदावरी फूलमा पनि नेपाल पूर्ण रूपले आत्मनिर्भर छ । यद्यपि, गोदावरीका विरुवा भने भारतबाट आयात भइरहेको छ । तिहारमा फुलाउने गरी अगाडि नै भारतबाट विरुवा ल्याएर रोपिन्छ । सयपत्री फूलको बाह्रै महिना खपत बढ्न थालेको छ ।

 

सयपत्री उत्पादनमा हामी विस्तारै आत्मनिर्भरउन्मुख भइरहेका छौँ । १० वर्षअघि भारतबाट ८० प्रतिशतसम्म सयपत्रीको फूल र माला तिहारको समयमा आयात हुन्थ्यो । अहिले २५ देखि ३० प्रतिशत मात्र भारतबाट आयात भइरहेको छ । नेपालमा सयपत्रीको व्यवसायिक खेती विस्तार भइरहेका कारण तिहारमा हुने मागलाई स्वदेशी उत्पादनले धान्न सक्षम भइरहेको स्थिति छ ।

व्यावसाय प्रवद्र्धन
फूल खेती नेपालमा सम्भावना बोकेको व्यवसाय हो । त्यसैकारण हामी आत्मनिर्भरउन्मुख अवस्थामा छौँ । यद्यपि समग्र फूलखेतीलाई हेर्ने हो भने हामी २० प्रतिशत आयातमै निर्भर रहेको स्थिति छ । पुष्पखेतीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धिका लागि फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले लामो समयदेखि पहलकदमी लिँदै आएको छ । विभिन्न समयमा मेला, प्रदर्शनी हुने गरेको छ । नर्सरीको संख्या बढिरहेको छ । व्यवसायीबाट पहलकदमीका कामहरू निरन्तर अघि बढिरहे पनि राज्यका तर्फबाट सन्तोषजनक हिसाबले यो क्षेत्रलाई मद्दत गरेको स्थिति छैन । यो क्षेत्रको सम्भावनालाई मूल्यांकन गरी राज्यका तर्फबाट जति प्रवद्र्धनात्मक काम हुनुपर्ने हो, त्यसमा कन्जुस्याइँ भएको छ ।

उत्पादन वृद्धि
मुलुकमा फूलको जति माग छ, त्यसको ८० प्रतिशत स्वदेशी उत्पादनले धानिरहेको स्थिति छ । १० वर्ष अवधिको उत्पादन स्थितिलाई तुलना गर्ने हो भने आकाश जमिनको फरक पाउन सकिन्छ । विश्व बजारमा फूल खेती गर्न जुनजुन प्रविधि भित्रिएका छन्, त्यही प्रविधि नेपालमा पनि प्रयोग भइरहेको छ । विशेषगरी आधुनिक ग्रिन हाउस, नेट हाउस, थोपा सिँचाइ प्रविधिलगायतको प्रयोग गरी उत्पादन बढाइरहेका छौँ । विश्व बजारमा प्रचलित उच्च जातका माउ बोटहरू आयात पनि भइरहेका छन् । बढी उत्पादन दिने बिरुवा आयात गरी लगाउने क्रम बढेको छ । सयपत्रीको कुरा गर्ने हो भने अहिले बढी उत्पादन दिने कलकत्ते प्रजाति लगाउने संख्या बढेको छ । बढी र लामो समयसम्म उत्पादन दिने जातका फूलको प्रयोग गरी पहिलेभन्दा आधुनिक ग्रिन हाउसमा खेती गर्न थालिएको छ ।

माउ बोट आयात
बढी फुल्ने र लामो समयसम्म फुल्ने विभिन्न जातका फूलको माउ बोट हामीले आयात गरिरहेका छौँ । खासगरी भारतबाट धेरै माउ बोट आयात हुन्छ । त्यसपछि अमेरिका, जापान, थाइल्यान्ड, भियतनाम, हल्यान्डलगायतका देशबाट धेरै माउबोट आयात हुन्छ । सिजनल फूलको हाइब्रिड बिउ सतप्रतिशत आयात भइरहेको छ । गुलाफ, जर्मेरा, कार्नेसन, लिमोनियम, सयपत्रीलगायतको बिउ र माउ बोटको कटिङ आयात भइरहेको स्थिति छ । हाइब्रिड बिउ उत्पादनमा ठूलो लगानी र प्रविधि चाहिने भएका कारण हामी सक्षम भइसकेका छैनौँ ।

तर, एकपटक माउ बोट आयात भएपछि त्यसबाटै अरू बिरुवा हामी आफैँले उत्पादन गर्न थालेका छौँ । यसो गर्दा १ सयमा ८० वटाचाहिँ हामी आफैँले उत्पादन गर्ने र २० वटाचाहिँ विश्व बजारमा उपलब्ध नयाँ प्रजातिको माउ बोट आयात गर्ने गरेका छौँ । एकपटक बिरुवा आयात गरेपछि त्यसबाटै हामीले अन्य बिरुवा निकाल्दै आएका छौँ । उदाहरणका लागि गुलाबका पहिले हामीले भित्र्याएको जातबाट अहिले कटिङ, लेयरिङ, ब्रिडिङका माध्यमबाट बिरुवा उत्पादन गरिरहेका छौँ । बर्सेनि विश्वमा नयाँ प्रजातिका बिरुवा आइरहने भएका कारण २० प्रतिशतचाहिँ नयाँ बिरुवा पनि रोपाँै भन्ने हिसाबले आयात भइरहेको स्थिति छ ।

सयपत्रीमा आत्मनिर्भर
सयपत्री फूलको माग तिहारका समयमा उच्च हुने र भारतबाट ठूलो संख्यामा आयात हुने स्थिति बनेपछि कृषि विकास मन्त्रालयसँग समन्वय गरी फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले सयपत्री फूलमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम ३ वर्षसम्म सञ्चालन भएको थियो । त्यो अवधिमा काम गर्दा व्यवसायिक सयपत्री फूलको उत्पादनमा ठूलो टेवा पुगेको छ ।

यो कार्यक्रम सुरु गर्नुअघि भारतबाट ६० प्रतिशतसम्म सयपत्री आयात हुन्थ्यो, कार्यक्रम सञ्चालन अवधि सकिएपछि आयातदर २५–३० प्रतिशत झरेको छ । यो कार्यक्रमले वर्षैभर सयपत्री उत्पादन गर्न किसानलाई मद्दत पुगेको छ । किनभने वासमा टनेल बनाएर सयपत्री उत्पादन गर्न किसान र व्यवसायीलाई यो कार्यक्रमले सहयोग गरेको थियो । खुला स्थानमा उत्पादन गर्दा जाडो र वर्षामा उत्पादन हुँदैनथ्यो । कार्यक्रमबाट सहयोग आउन छाडे पनि अहिले कृषकहरूले निरन्तर रूपमा टनेलमा खेती गरी वर्षैभरि उत्पादन गरिरहेका छन् र यसबाट आम्दानी पनि बढेको छ ।

समन्वयमा अप्ठ्यारो
०६९ मा पुष्प व्यवसाय प्रवद्र्धन नीति आएको थियो । सोही नीति कार्यान्वयन गर्ने क्रममा तत्कालीन कृषि विकास मन्त्रालयसँग समन्वयन गरी ०७१ देखि ४ वर्षसम्म फूल खेती विस्तार र उत्पादन वृद्धिका क्षेत्रमा काम गर्‍यौँ । त्यतिखेर मन्त्रालयबाटै निश्चित बजेट व्यवस्था हुने गर्दथ्यो । त्यो बजेटले फूल खेती विस्तारका लागि कृषकलाई अनुदान दिने, आधुनिक बिउबिजन उपलब्ध गराउने, भौतिक संरचना विकास गर्ने, मेला महोत्सवका माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्नेलगायतका काम भएका थिए ।

तर, चालू आर्थिक वर्ष ०७५–७६ देखि संघीयता कार्यान्वयनमा आएपछि प्रदेश सरकारलाई बजेट हस्तान्तरण भएको छ । अहिले प्रदेशका सरकारसँग समन्वय गरेर हामी अघि बढ्न खोजेका छौँ, तर धेरै अप्ठ्यारो स्थितिको सामना गर्नुपरेको छ । किनभने, प्रदेशमा नयाँ सरकार छन् र उनीहरूले पुष्पलाई भन्दा तरकारीलगायतलाई बढी महत्व दिइरहेका छन् । पहिले केन्द्रीय सरकारलाई यो क्षेत्रको विकास गर्नुपर्नेबारे बुझाउन ३–४ वर्ष लागेको थियो । अहिले प्रदेश सरकारलाई यो क्षेत्रमा किन लगानी बढाउनुपर्छ भन्ने कुरा बुझाउन शून्यबाट सुरु गर्नुपर्ने स्थिति बनेको छ ।

तपाईको प्रतिक्रिया