पद्मरत्न तुलाधर : संवेदनशील व्यक्तित्व - Naya Patrika
eNaya Patrika
  • ePaper

पद्मरत्न तुलाधर : संवेदनशील व्यक्तित्व

काठमाडौंमा सांस्कृतिक अभियन्ताका रूपमा देखा परेका पद्मरत्न आफ्नो अन्तरात्माको आवाज सुनेर राजनीतिक व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेका थिए

कुरा ०३९ सालतिरको हो । त्यतिखेर म देशान्तर साप्ताहिक चलाउँथे । प्रधानसम्पादक, प्रकाशक र व्यवस्थापकको दायित्व मेरै काँधमा थियो । पत्रिका भर्खर दर्ता भएको थियो । अलिकति सुविधाजनक प्रेसको खोजीमा थियौँ, हामी । कसैले सुझायो, पद्मरत्नको प्रेस ठीक छ ।

पहिलोपल्ट मैले पद्मरत्न तुलाधरलाई चिन्दा उनी नेपाल भाषाका लेखक, कवि र चिन्तक थिए । उनको प्रेस थियो । लाजिम्पाटबाट भारतीय दूतावास जाने सडकको दायाँ साइडमा उनको घर थियो र प्रेस पनि त्यहीँ थियो । म ग्राहकका रूपमा उनको प्रेसमा पुगेको थिएँ । उनी साहु थिए, कान्तिपुर प्रिन्टिङ प्रेसको । म त्यहाँ पुग्दा उनी हातमा कम्पोज स्टिक समातेर केसबाट सिसाका अक्षर टिप्न व्यस्त थिए । सामान्य कुराकानीपछि उनले हाम्रो अखबार छाप्न सहमति दिए । उनले मलाई राम्रै चिनेका रहेछन् । म उनीसँग खासै परिचित थिइनँ । काठमाडौंका पत्रकार साथीहरूमा मल्ल के सुन्दरसँग मेरो घनिष्टता थियो । उनी काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लका वंशज थिए । वेलावेलामा म उनलाई ‘राजा’ भनेर जिस्क्याउँथे । हँसी रमाइलो हुन्थ्यो, हामीबीच ।

त्यतिवेला देशान्तर चल्न सकेन । म रोयटर्सको छात्रवृत्तिमा पत्रकारिता पढ्न अमेरिका गएपछि साथीहरूले त्यसलाई नियमित गर्न सकेनन् । ०४२ सालमा म काठमाडौं फर्किएपछि देशान्तर साप्ताहिक ठूलो साइजमा निस्किन थाल्यो । यो केही संगठित पनि भयो । ०४२ मा कांग्रेसले सत्याग्रहको आह्वान गरेको थियो । तर, सत्याग्रहको बीचैमा काठमाडौंमा बमकाण्ड भयो । रामराजाप्रसाद सिंह यो काण्डका रचनाकार थिए । बमले अन्नपूर्ण होटेललगायत केही ठाउँमा क्षति पु-याएपछि कांग्रेसका तर्फबाट पिएल सिंहले सत्याग्रह फिर्ता लिएको घोषणा गरे ।

त्यतिवेलासम्म पद्मरत्न तुलाधरको एक प्रकारको राजनीतिक छवि बनिसकेको थियो । उनी मंका खलःका संस्थापक अध्यक्ष थिए । उनका सहयात्री थिए, नरेशवीर शाक्य, मंका खलःका अर्का संस्थापक । आदिवासी जनजातिको हक र अधिकारका लागि उनीहरूले चलाएको आन्दोलनको प्रभाव देशव्यापी रह्यो । उनीहरू दुवै थिए, कुनै राजनीतिक दलमा आबद्ध नभएका वामपन्थी । तैपनि, एकथरी नेवार र खस आर्यले उनीहरूमाथि साम्प्रदायिक सद्भाव बिथोलेको आरोप लगाए ।

देशमा जबजब अत्याचार बढ्थ्यो, मानिस मारिन्थे, पद्मरत्न राष्ट्रिय पञ्चायतको सदनमा भाषण गर्थे । उनी यति भावुक थिए कि वेलावेलामा भक्कानिएर रुन्थे । अनि, देशान्तरका संवाददाताहरू, डेस्कमा बस्ने साथीहरू हेडलाइन बनाउँथे– पद्मरत्न रोए,पद्मरत्न भक्कानिएर रोए ।

पद्मरत्न आफ्नो अन्तरात्माको आवाज सुनेर राजनीतिक व्यवस्थामा परिवर्तनका लागि राजनीतिमा लागेका थिए । त्यतिखेर उनी काठमाडौंमा सांस्कृतिक अभियन्ताका रूपमा देखा परे । जाति, भाषा, धर्म इत्यादि विषयमा छलफल र बहस चलाउन थाले, उनले । तत्कालीन निर्दलीय सत्ताले पनि तुलाधरलाई रोकटोक गरेन । एक त काठमाडौं संवेदनशील क्षेत्र थियो । राजनीतिका कुरा नगरी राजनीति गरिरहेका पद्मरत्नलाई समात्नु सजिलो थिएन । त्यसो गर्दा सहरमा साम्प्रदायिक वैमनश्य उत्पन्न हुन्थ्यो । दोस्रो, पद्मरत्नका पछिल्तिर शक्तिशाली व्यापारी, व्यवसायी थिए । नेवार समुदायका विभिन्न समूहमा पद्मरत्नको प्रभाव बढ्दै गएको थियो । हिन्दू र बौद्ध दुई धार्मिक समूहमा बाँडिएको नेवार समुदाय पद्मरत्नको मामिलामा भने विभाजित थिएन ।

सत्याग्रह विफल भएपछि राजाले सधैँझैँ देशको राजनीतिक व्यवस्थामा परिमार्जन गर्दै जाने परम्पराअनुसार ‘२०३६ सालको जनमतसंग्रहमा जनताद्वारा अनुमोदित’ निर्दलीय पञ्चायत व्यवस्थामा सुधार गरिने बताए । यो मूलतः कांग्रेसलाई लोभ्याउन गरिएको घोषणा थियो । बिपी कोइरालाको निधनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृृत्वमा कांग्रेस सञ्चालन भइरहेको थियो । गिरिजाप्रसाद कोइराला सुधारसहितको पञ्चायतमा भाग लिएर चुनावलाई उपयोग गर्ने नीतिका पक्षमा थिए । तर, गणेशमान सिंह थिए, आन्दोलनका पक्षधर । कांग्रेस आन्दोलनको पक्षमा उभियो ।

वामपन्थीहरू, खासगरी तत्कालीन माले, चुनाव उपयोग गर्ने पक्षमा लागे । उनीहरूले ठाउँठाउँमा आफ्ना उम्मेदवार खडा गरे । पद्मरत्न पनि चुनावमा खडा भए । उनले मालेको सूर्य चिह्न लिएर चुनाव लडे । तर, पार्टीमा लागेनन् । पद्मरत्नको विरोधाभास यही थियो । उनी ठूलो मतका साथ विजयी भए । यो अपेक्षित थियो । किनभने, उनको भाषणमा काठमाडौंका सामान्य जनताको आवाज थियो । उनी सत्यवादी थिए । उनका कुरा सहजै पत्याए जनताले ।

तत्कालीन राष्ट्रिय पञ्चायतमा गुन्जिएको जनपक्षीय आवाजले कथित सरकार र राजाको कान झंकृत हुन सकेन । पञ्चहरूको पिना पनि सुक्दै थियो, काग पनि कराउँदै थियो । देशमा जबजब अत्याचार बढ्थ्यो, मानिस मारिन्थे । पद्मरत्न राष्ट्रिय पञ्चायतको सदनमा भाषण गर्थे । उनी यति भावुक थिए कि वेलावेलामा भक्कानिएर रुन्थे । यी अवसरको विवरण सिंहदरबारबाट ल्याउँथे, देशान्तरका संवाददाताहरू । डेस्कमा बस्ने साथीहरू हेडलाइन बनाउँथे, ‘पद्मरत्न रोए, पद्मरत्न भक्कानिएर रोए ।’ पद्मरत्नको विजयपछि देशान्तर साप्ताहिकले उनको एउटा अन्तर्वार्ता प्रकाशित गरेको थियो । आफ्नो समयको निकै प्रभावकारी वार्ताका रूपमा यो निकै पढियो । त्यतिवेला देशान्तरका उत्साही संवाददाता केदार शर्माले आफ्नो सीप देखाएका थिए, यसमा ।

यस्ता हेडलाइन खुब बिक्थे । खासगरी, देशान्तर साप्ताहिकले लेखेपछि त्यो प्रामाणिक हुन्थ्यो । हामी निर्दलीय व्यवस्थाको अन्त्यका लागि संघर्षमा थियौँ । प्रधानमन्त्रीको आसनमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र मरिचमान श्रेष्ठको मुख हेरेर देशमा कति डिग्री प्रजातन्त्र छ भनेर हेर्नुपर्ने जमाना थियो त्यो । धेरै मानिस यही सूत्रका आधारमा स्थिति र अवस्थाको अनुगमन गर्थे ।

पद्मरत्नमा जनतालाई संगठित गर्ने कला थियो । उनी त्यसैका आधारमा काम पनि गर्थे । तर, उनको जादु जसरी काठमाडौंमा चल्यो, त्यसरी देशका अरू भागमा चलेन । एकपटक पद्मरत्न गएका थिए कुनै कार्यक्रममा भाग लिन बारा जिल्ला । त्यहाँको कुनै गाउँमा कार्यक्रमलाई सम्बोधन गर्दागर्दै उनले गोमांसको चर्चा गरे । उनको भनाइ थियो, ‘गाई कुनै एक जातिका लागि आमासमान हुन् । उनको मासु खानु पाप हो । तर, नेपालमा गाई–गोरुको मासु खाने जनसंख्याको कमी छैन । त्यसैले यसमा लचिलो नीति अपनाइनुपर्छ ।’ उनको यस भनाइले काठमाडौं सहरमा सनसनी र उत्तेजना फैलायो । उनलाई खलनायकका रूपमा हेर्नेहरूको संख्या बढ्यो ।

वामपन्थीहरू पञ्चायती चुनाव उपयोग गर्ने पक्षमा लागे । उनीहरूले ठाउँठाउँमा आफ्ना उम्मेदवार खडा गरे । पद्मरत्न पनि चुनावमा खडा भए । उनले मालेको सूर्य चिह्न लिएर चुनाव लडे । तर, पार्टीमा लागेनन् । पद्मरत्नको विरोधाभास यही थियो ।

पद्मरत्न र अन्य जनपक्षीय उम्मेदवारको विजयले तत्कालीन सरकारलाई कुनै असर पारेन । एक हिसाबले कांग्रेसको सत्याग्रहजस्तै वामपन्थीको यो प्रयोग पनि तुहियो । ०४६ को पहिलो राष्ट्रिय जनआन्दोलनमा पद्मरत्नको के भूमिका रह्यो ? त्यसबारे केही भन्न सक्ने स्थितिमा यो पंक्तिकार छैन । त्यसवेला पंक्तिकार आफैँ देशबाट विस्थापित भएको थियो । पछि, माओवादी आन्दोलनका क्रममा उनको भूमिका शान्तिका लागि सहजकर्ताको थियो । बृहत् शान्ति सम्झौतापछिको संक्रमणकालमा उनको भूमिका सक्रिय रूपले सधैँ शान्तिको पक्षमा रह्यो । शान्ति अभियानका अभियन्ताका रूपमा पद्मरत्न र दमननाथ ढुंगानाले संयुक्त रूपमा काम गरेका थिए । उनीहरू दुवैलाई पटक–पटक लाञ्छित पनि गरियो ।

देशमा अजंगको परिवर्तन आइसक्दा पनि जनताको हकमा त्यसको प्रयोग नभएकोमा पद्मरत्न पिरोलिएका थिए । पछिल्लो समयमा स्वास्थ्यका कारण उनी त्यति सक्रिय हुन सकेका पनि थिएनन् ।
मृत्युभन्दा केही पहिले एउटा मिटिङमा प्राध्यापक वीरेन्द्र मिश्रले आफ्नो शरीर जोगाउन भनेका थिए । ‘पद्मजी यति छिटै जालान्जस्तो लागेको थिएन,’ मिश्रले आफ्नो सम्झनाबाट पद्मरत्नका विविध गुणको सम्झना गर्दै भने, ‘बडो असल मानिस थिए ।’

हो, उनी असल मानिस थिए । कसैको स्मृतिबाट पनि हम्मेसी हराइनहाल्ने । स्वामी विवेकानन्द भन्छन्, ‘शरीरको त कुनै प्रकारले अन्त्य भई नै हाल्छ । यसको अन्त्य कठोर तपस्यासाथ हुनुपर्छ ।’
शान्ति कठिन तपस्या नै हो । त्यसको आह्वान गर्दागर्दै पद्मरत्नजी बिते । हार्दिक श्रद्धाञ्जली !

तपाईको प्रतिक्रिया