के भइरहेको छ पार्टी एकतामा ? - Naya Patrika
eNaya Patrika
  • ePaper

के भइरहेको छ पार्टी एकतामा ?

नेपाली जनताले कम्युनिस्टलाई पत्याएर बहुमत दिएका हुनाले हामी सानातिना विषयमा अल्मलिनु हुँदैन
संघीयता लागू गर, देशलाई समृद्ध बनाऊ, जनतालाई सुखी राख भनेर जनताले कम्युनिस्ट पार्टीलाई देश जिम्मा लगाए । दुई ठूला कम्युनिस्ट पार्टी एक भएपछि थप उत्साहको वातावरण बन्यो । तर, एकता प्रक्रियालाई जुन रूपमा टुंग्याउनुपर्ने थियो, त्यसमा भने अनावश्यक विलम्ब भइरहेको छ । केन्द्रीय कमिटी त बन्यो तर त्यसको बैठक बस्न सकेको छैन । अझ स्थायी समितिको बैठक पनि लामो समयदेखि बस्न सकेको छैन । तल्ला तहका कमिटी बन्न सकिराखेका छैनन् ।

दुई ठूला कम्युनिस्ट पार्टी एक भएपछि कार्यकर्तामा मात्र होइन, जनतामा पनि उत्साहको लहर आउनुपर्ने थियो । तर, अहिले जनतामा निराशा छाएको छ । लाखौँ कार्यकर्ता जिम्मेवारी नपाएर भौँतारिइरहेका छन् । यस्तो अवस्थालाई धेरै राख्नु हुँदैन । तल्ला तहका एकीकरणलाई हप्तादिनभित्र सक्नुपर्छ । जसरी केन्द्रीय कमिटी गठन भयो, त्यसरी नै तल्ला तहका कमिटी (प्रदेश, जिल्ला, गाउँ, नगर) गठन गरेर पनि जान सकिन्छ । हरेक ठाउँमा कसको कति भन्ने हिसाबले समस्या निम्त्याउँछ । केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा भनेको कम्युनिस्ट पार्टीका प्राधिकार नेता हुनुहुन्छ । त्यसकारण उहाँहरूले गम्भीर भएर सोच्नुपर्छ– कुन उत्साहका साथ पार्टी एकता भएको थियो, अहिले के भइरहेको छ । अब समय ढिला भइसक्यो । एकता प्रक्रियाले पूर्णता नपाउँदा स्थानीय सरकारहरूले पनि राजनीतिक नेतृत्व पाएका छैनन् । उनीहरू कतिपय काममा अल्मलिएका छन् । यदि तल्ला तहका कमिटी बनेका भए उनीहरूले स्थानीय सरकारलाई सहयोग गर्न सक्थे ।

वाममोर्चा बनाउँदा
०४६ सालमा हामीले वाममोर्चा बनाउँदा सोचविचार गरेर निर्णय गरेका थियौँ । सबभन्दा सिनियर नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो । उहाँ नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री पनि हुनुभयो । मनमोहनलाई भन्दा साहना प्रधानलाई वाममोर्चाको अध्यक्ष बनाउँदा सबैलाई मिलाउन सकिन्छ कि, मालेका साथीहरू बढी सक्रिय हुन्छन् कि भनेर हामी अगाडि बढ्यौँ । अलग–अलग विचार भएका साथीहरूलाई लिएर गठन भएको वाममोर्चाले लहरै ल्याएको थियो, त्यतिखेर । माले, माक्र्सवादी, नेमकिपा, नेकपा (बर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूह मिलाएर संयुक्त वाममोर्चा गठन गर्दा हामी अत्यन्त उदार बनेका थियौँ । पञ्चायती व्यवस्था हट्नुपर्छ, बहुदलीय सरकार बन्नुपर्छ, जनताको मौलिक अधिकार फर्कनुपर्छ भन्नेमा हामी केन्द्रित भयौँ । त्यतिवेला नेतृत्वभन्दा नीति प्रधान थियो । त्यतिवेला वाममोर्चाले एउटा बुँदा मात्र राखेको थियो– पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्थाको स्थापना, जनताको मौलिक अधिकार फिर्ता र अधिकार अब जनप्रतिनिधि संस्थालाई । अलग–अलग पार्टीमा त त्यसरी सहमति कायम गरेर अगाडि बढियो भने अहिले त एउटै पार्टी छ, नीति एउटै छ भने किन अल्मलिने ? त्यसकारण नेताहरूले छाती ठूलो पार्नुपर्छ ।

माले–माक्र्सवादी एकता र मदनको भूमिका
मदन भण्डारीले संख्याका दृष्टिकोणले हामी (माले) धेरै छौँ, माक्र्सवादी कम छन् । ७० प्रतिशत मालेको र ३० प्रतिशत माक्र्सवादीको होस् भन्ने निर्णय पार्टीमा गराउनुभएको रहेछ । माले–माक्र्सवादी एकता वार्ता भयो । त्यस क्रममा हामी (मार्क्सवादी)ले समानताको कुरा ल्यायौँ । अध्यक्ष मनमोहन अधिकारी, महासचिव मदन भण्डारी, पोलिटब्युरो, केन्द्रीय समितिमा आधा–आधा सदस्य भन्नेमा सहमति गरेर भण्डारी जानुभयो । मालेको बैठकमा भण्डारीलाई सदस्यहरूले पार्टीमा एउटा निर्णय गरेर जाने, माक्र्सवादीसँग अर्कै सहमति गर्ने भन्ने प्रश्न उठाएछन् ।

भण्डारीले त्यतिवेला भन्नुभयो रे– यहाँ पनि ७०–३० को कुरा मैले गरेको हुँ । मनमोहनजीसँग कुरा गरेपछि बराबरमा सहमति गरेर आएको हुँ । मैले सहमति गरेकै हुँ । त्यो सहमतिमा तपाईंहरू सन्तुष्ट हुनुहुन्न भने म महासचिवबाट राजीनामा गर्छु । तपाईंहरू कुरा गर्न जानुहोस् । होइन भने सहमतिमा समर्थन गर्नुहोस् । मदन भण्डारीले त्यति बल गरेर माले–माक्र्सवादी एकता गराउनुभएको हो । अहिले पनि केही उदार हुनैपर्छ । यो मेरो, त्यो तेरो भन्ने हिसाबले हुँदैन । प्रमुख नेताहरूले छोड्नुपरे पनि तयार हुनुपर्छ ।

माले–मार्क्सवादी एकतापछि एमालेको संसदीय दलको नेता छान्न हामी भेला भयौँ । मदन भण्डारीले मनमोहनको नाम प्रस्ताव गर्नुभयो । एमाले सांसद विजय लामाले आपत्ति जनाउनुभयो– मनमोहन नरम मान्छे हुनुहुन्छ, उहाँले दलको नेता चलाउन सक्नुहुन्न । त्यतिवेला मदनले भन्नुभएको थियो– मनमोहन अधिकारी अहिलेको टप नेता हो । अहिले हामीले उहाँलाई अघि सारेर देश–विदेशमा पार्टीको प्रचार गर्नुपर्छ र उहाँलाई नै नेता बनाउनुपर्छ ।

मदनले बल गरेर नै मनमोहनलाई दलको नेता बनाउनुभयो । मदनले इच्छा मात्रै गरेको भए उहाँ नै दलको नेता बन्नुहुन्थ्यो । तर, मदनले भन्नुभयो, ‘मेरो उमेर छ, हुनुपर्ने मान्छे मनमोहन नै हो । मनमोहनको इतिहास छ, दुनियाँले सम्मान गर्छ, त्यही जगमा हामी अगाडि बढ्नुपर्छ । सिकौँ न बाबा, हाम्रा अग्रजहरूबाट । अग्रजहरूले धेरै ठूलो काम गर्नुभएको छ । त्यसरी अगाडि बढेकै कारण एमालेको पक्षमा देशव्यापी लहर आयो । ०५१ सालमा सबभन्दा ठूलो दल भएर आयो । मनमोहनको नेतृत्वमा एमालेले सरकार बनायो । त्यो सरकारले राम्रो काम गरेका कारण जनताले आज पनि सम्झन्छन् ।

केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा भनेको कम्युनिस्ट पार्टीका प्राधिकार नेता भएकाले उहाँहरूले गम्भीर भएर सोच्नुपर्छ– कुन उत्साहसाथ पार्टी एकता भएको थियो र अहिले के भइरहेको छ ?

सुझाब
अहिले सबभन्दा ठूलो कुरा भनेको नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु हो । नेपाली जनताले यत्रो विश्वास गरेका छन् । भारतमा त्यत्रो अगाडि बढेको कम्युनिस्ट आन्दोलन अहिले कहाँ पुग्यो ? तर, नेपाली जनताले कम्युनिस्टलाई पत्याएर बहुमत दिएका छन् । यस्तो अवस्थामा हामी सानातिना कुरामा अल्मलिनु हुँदैन । कम्युनिस्ट आन्दोलनमा लागेको ६५ वर्षभन्दा बढी भयो । अहिले त म केन्द्रीय कमिटीमा छैन । म सबै नेतालाई अनुरोध गर्छु– छाती ठूलो पार्नुहोस्, सबैलाई समेट्नुहोस्, पार्टीपंक्तिलाई सशक्त रूपमा परिचालन गर्नुहोस् । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन २५औँ लाख कम्युनिस्ट कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तक अगाडि बढ्दा देशको काँचुली फेरिन्छ । संघीयतालाई सफल बनाउन र जनतालाई राहत दिन केरुङ–काठमाडौं रेल आउँछ, पाँच वर्षमा पानीजहाज चल्छ मात्र नभन्नुस्, जनताले राहत महसुस गर्ने काम पनि गर्दै जानुहोस् ।

जनतालाई उत्साहित नबनाई विकास हुनेवाला छैन । बरु कम्युनिस्ट पार्टीका एकजना पूर्वप्रधानमन्त्रीको नेतृत्वमा विभाग नै खडा गरेर संघीयता कार्यान्वयन गर्न राजनीतिक रूपमा भूमिका खेलोस् । त्यस्तै, उत्पादन बढाउन कृषिमा ध्यान दिनुपर्छ । सहकारी, साना तथा घरेलु उद्योगलाई परिचालन गरेर उत्पादन र रोजागरी बढाउन सकिन्छ । त्यसले आयात घटाउँछ, निर्यात बढाउँछ । अहिले व्यापार घाटा डरलाग्दो स्थितिमा पुगेको छ । त्यसतर्फ ध्यान दिन आवश्यक छ । पूर्वाधार विकासका साथसाथै जनतालाई राहत दिने काममा पनि सरकार लाग्नुपर्छ ।

अहिलेको सरकार असफल हुनैहुँदैन । यो सरकार असफल भयो भने नेपाली जनता असफल हुन्छन्, लोकतन्त्र असफल हुन्छ, कम्युनिस्ट आन्दोलन असफल हुन्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ, म पनि आफ्नो ठाउँबाट सहयोग गर्न तयार छु । पार्टी बैठक पटक–पटक सार्ने काम नगरौँ, फटाफट काम गरौँ । अहिले आमकार्यकर्ता निराश छन्, आमजनताले आशा गरेका थिए, निराश हुन नदिनुहोस् । तिहार, नेपाल संवत्, छठ, ल्होसारलगायतका सबै चाडपर्वको अवसरमा सबैमा शुभकामना !

तपाईको प्रतिक्रिया