लक्ष्मीपूजा र नारी अस्मिताको प्रश्न - Naya Patrika
eNaya Patrika
  • ePaper

लक्ष्मीपूजा र नारी अस्मिताको प्रश्न

शान्तिभूमि भनेर विश्वले सराहना गर्ने हाम्रो देशमा आज खुलेर निर्भीक भई सडकमा हिँड्न पनि कदम डगमगाउन थालेको छ

यतिखेर दोस्रो ठूलो चाड तिहार नेपालीको घरआँगनमा भित्रिसकेको छ । आज लक्ष्मीपूजाको अवसरमा सबैले आआफ्नो घरमा माता लक्ष्मीको पूजा आरधना गर्छन् । पर्सिको भाइटीकापछि यो रमाइलो चाड सकिन्छ । तर, जुन देवीको हामी पूजा गर्छौं, उनी को हुन् त ? किन यति धेरै आस्था छ, हाम्रो माता लक्ष्मीप्रति ? डरले ? कि ऐश्वर्य प्राप्तिको आशाले ? के लक्ष्मीपूजा नगर्दा कुनै पाप लाग्छ ? के पूजा गर्दाचाहिँ धन सम्पत्तिको ओइरो लाग्छ ? यो हाम्रो हिन्दू धर्मको संस्कार, परम्परा वा रीतिरिवाज हो कि अन्धविश्वास ? एकातिर तिनै देवीको पूजा गर्न दुई हात जोडिन्छ भने अर्कातिर तिनै देवीको अस्मिता लुटेर निर्मम हत्या गर्न किन उद्यत छन्, हाम्रो समाजका पुरुष हातहरू ? निराकार देवीको पूजा गर्नुको अर्थ ऐश्वर्य, वैभव बर्सिन्छ भन्ने लालच त हैन ? पूजा नै गर्नु छ भने घरमा भएकी जिउँदाजाग्दा लक्ष्मीको पूजा गर ।

उसको अस्मिता लुटी यौनतृष्णा मेटाउने लालच मनमा नपाल । कति लज्जास्पद र क्रूर मानसिकताले भरिएका छन्, हाम्रो समाजमा भद्रताको घुम्टोभित्र लुकेका कायर कतिपय दानव पुरूषहरू ! आदिशक्ति दुर्गा, लक्ष्मीका रूपमा मन्दिरमा यिनै नारीको पूजा गर्छाैं हामी । तर, यिनै लक्ष्मीरूपी हाम्रा छोरीचेली, आमा, दिदी, बहिनीको अस्मिता लुटिइरहेको टुलुटुलु हेरिबस्छौँ, हामी । त्यसैले लक्ष्मीको पूजा गर, तर उसको अस्मिता लुट्ने प्रयास नगर !

खै कहाँ लुकेर बसेका छन् हाम्रो देशका उच्चपदस्थ बुद्विजीवीहरू ? धर्म संस्कृतिको आडमा शास्त्रका ठुल्ठूला प्रवचन छाँट्नेहरू खै कता छन् ? हाम्रो पवित्र धर्मग्रन्थको कुन अध्यायमा लेखिएको छ, बाबुले छोरीको अस्मिता लुट्न मिल्छ भनेर ? दाजुभाइले दिदीबहिनीको, गुरुले शिष्याको इज्जत लुट्न मिल्छ भनेर के कतै लेखिएको छ ?

शान्तिभूमि भनेर विश्वले सराहना गर्ने हाम्रो देशमा आज खुलेर निर्भीक भई सडकमा हिँड्न पनि कदम डगमगाउन थालेको छ । किन आज हरेक छोरीचेलीले आफ्नो अस्मिता जोगाउन धौधौ परिरहेको छ ? आखिर कहिलेसम्म सहने यो अत्याचार, यो अराजकता ? यौनजन्य शारीरिक, मानसिक हिंसा, तेजाब प्रकरणजस्ता जघन्य अपराध सहेर कति दिन सिर्जनशील काम गर्ने मनोभावनामा गम्भीर आघात पु¥याइएको घाइते मुटु लिएर बाँच्ने ? आमअभिभावक न ढुक्कसँग निदाउनै सकेका छन्, न त आफ्नो दिनचर्यामा ढुक्कसाथ निस्कनै सकेका छन् । कति लजास्पद भयो हाम्रो देश ! हाम्रो समाज ! आज पीडितले न्याय पाउन नसक्नुको कारण कतै हाम्रो प्रशासन कमजोर भएकाले त होइन ?

हरेक दिन २ वर्षदेखि १३ वर्षसम्मका बालबालिका मात्र नभई वृद्धा, दृष्टिविहीन, मानसिक सन्तुलन गुमाएका महिला पनि बलात्कृत भइरहेका छन्, हाम्रो समाजमा । तर, एकाध पुरुष मित्रबाहेक कसैले खुलेर न बोल्न सकेका छन्, न त न्यायकै लागि कुनै अपिल या बहस गर्नै सकेका छन् । यहाँ त उल्टै नकारात्मक प्रतिक्रिया आउँछन् । अंग प्रदर्शन, महिलाको हाउभाउ, शृंगार र पश्चिमा जीवनशैलीलाई नै दोषी ठह-याउने यो कस्तो संकीर्ण मानसिकता ? पीडितलाई नै उल्टै बेश्या, चरित्रहीनजस्ता आरोप लगाइने यो कस्तो मानसिकता हो ? यो सब पितृसत्तात्मक सोचको उपज त हैन ? तिनै नारीको जयजयकारमा आफू देवताको ताज पहिरिने अनि जतिसक्दो उनैलाई तुच्छ मानी ‘खुट्टा भए जुत्ता हजार’, ‘मर्दका सातवटी’, ‘साली कसकी भेनाकी’, ‘साली आधी घरवाली’ जस्ता गलत र स्वीकार गर्नै नसकिने व्याख्या गरेको पनि हाम्रै समाजमा सुन्न र देख्न पाइन्छ । तर, तिनै कुरा महिलाका लागि चाहिँ किन लागू हुँदैन ? ‘देवर कसको भाउजूको’ भन्ने हिम्मत छ त हाम्रो समाजको ?

एकातिर तिनै देवीको पूजा गर्न दुई हात जोडिन्छ भने अर्कातिर तिनै देवीको अस्मिता लुटेर निर्मम हत्या गर्न किन उद्यत् छन्, हाम्रो समाजका पुरुष हातहरू ?

महिलालाई हेर्ने दृष्टिकोणमा जबसम्म परिवर्तन आउँदैन, नारीप्रतिको हेपाहा प्रवृत्तिको अन्त्य हुँदैन, तबसम्म हाम्रो समाजमा महिलामाथि हुने जघन्य हिंसा मौलाउँदै जान्छ र महिलामाथि हुने अपराधले पराकाष्ठा नाघ्छ । बिहान उठेर पत्रपत्रिका पल्टाउँदा पनि सबैका हात थरर्र काँप्न थालेका छन्, अचेल । कतै आजको दर्दनाक समाचारले बमझैँ टाउको पड्किएर गिदी नै छरपस्ट हुन्छ कि, मुटुको धड्कनै पो रोकिन्छ कि जस्तो हुन्छ ।

घरभित्रै, ट्युसन पढ्न जाँदा, होटेलमा खाना खान पस्दा, चौरमा खेल्न जाँदा, छिमेकमा जाँदा, कतै कार्यक्रम सकेर घर फर्किंदा, कतै जमघटमा जाँदा, जताततै असुरक्षित महसुस हुन थालेको छ, हिजोआज । कतै हिँड्दा पनि आफ्नो अस्मिता गुमाउनुपर्ने त होइन भन्ने पीडा र त्रासले मन–मुटु चसक्क चस्किन थालेको छ । छोरीचेलीका लागि आफ्नै आँगन असुरक्षित भएको छ ।

यो समस्या हरेक आमा, छोरी, बुहारी, दिदी, बहिनीमाथि भएको सामाजिक मानसिक उत्पीडन हो । तिनै आमा, छोरी, दिदीबहिनीको सम्बन्धभित्र पुरूष मित्र पनि छन् । दुवैमा पीडित र पीडक पनि छन् । कुनै पुरुषकी छोरी यौनहिंसामा पीडित छन् भने यौनहिंसामा लिप्त पनि कुनै पुरुष नै छन् । यो महिलाको मात्र नभएर सामाजिक र सामूहिक समस्या हो । त्यसैले अब हरेक अभिभावकले मात्र सोच्नुभन्दा पनि देशको राज्य संयन्त्रमा रहेका पुरुष, महिला सबैले जिम्मेवार भई यस समस्याबारे सोच्न ढिलो गर्नुहुँदैन । कुनै बालिका, किशोरी, युवती वा महिलाविरुद्ध अश्लील र उत्तेजक शब्द प्रयोग गरी टीका–टिप्पणी गर्नुभन्दा आफ्नी छोरी, श्रीमतीको निर्दाेष अनुहारमा निर्मला, सम्झना, श्रेयाजस्ता पीडितको अनुहार अब हरेक पुरुषले देख्न सक्नुपर्छ र तिनका अभिभावकले भोगेको पीडा अनुभूत गर्न सक्नुपर्छ । अनि मात्र हामी सबैमा न्यायका लागि सशक्त भएर लड्ने आँट पलाउँछ ।

बलात्कार रोक्नलाई भनौँ या न्यायका निम्ति भनौँ, अब कतिन्जेल महिलाहरू ज्ञापनपत्र बोकी मन्त्री वा प्रधानमन्त्री कार्यालय वा निवासमा धाइरहने ? अनि, आफ्नो अस्मिता जोगाउनकै लागि अर्धनग्न हुँदै, सामूहिक मुण्डन गर्दै ककसको अगाडि हात फैलाइरहने ? यो समाज हामीले नै निर्माण गरेको एउटा सुन्दर संरचना हो । यसलाई अझै सुन्दर बनाउन हामीले नै त्रासरहित, लैंगिक हिंसाविना छोरीचेली बाँच्न सक्ने बनाउन सक्नुपर्छ । यसका लागि हरेक महिला र पुरुषले हातेमालो गरी स्वच्छ समाज निर्माणको पथमा पाइला अघि बढाउन ढिलो गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया