तिहारको झिलिमिली - Naya Patrika
eNaya Patrika
  • ePaper

तिहारको झिलिमिली

आज गाईतिहार र लक्ष्मीपूजा । काग र कुकुर तिहार हुँदै आउने यमपञ्चकमा अब गोबर्धन पूजा, म्हपूजा र भाइटीका आउनेछन् । गाईतिहार मनाउने भिन्नभिन्न तरिका छन्, हिन्दू समाजभित्र । बिहान गाईको पूजा गरिन्छ, साँझ लक्ष्मीको पूजा हुन्छ । उनको स्वागतमा दीपावली गरिन्छ । उता, भारतमा प्रायः दीपावली भनेर मनाइन्छ । झिलिमिली बन्छन्, सहर र गाउँबस्ती । यसको प्रभाव यता पनि फैलिएकै छ । विद्युत्को उपलब्धताले झिलिमिली अब प्रदर्शनको विषय भएको छ । व्यापार त यो पहिले पनि थियो, अहिले पनि झन् बन्ने नै भयो । पहिले तेल र पालाको व्यापार हुँदो हो, भाइमसलाको हुँदो हो र घ्यू, तेल या चामल, पिठो अथवा सानोतिनो गच्छेअनुसारका उपहारको हुँदो हो ।

अब यता आएर यसमा थपिएका छन्, विद्युत् व्यापारका अनेक पक्ष । विद्युत्चालित बत्तीका अनेक आकार र रङहरू । थपिएकै छन्, खर्च गर्न मिल्ने नयाँनयाँ उपहारका प्रकार । बजारले हस्तक्षेप गर्दै गएपछि तिहार पनि अर्धसांस्कृतिक, अर्धप्रदर्शनात्मक चाड बन्ने नै भयो । अरू चाडभन्दा भिन्न यसमा दिदीभाइको प्रेमको सांस्कृतिक पक्ष छ । लोक मान्यतामा आधारित सांस्कृतिक पर्व भएकाले यो तर्कातीत छ र परिवारका सदस्यहरूबीच मिठो मिलनको अनेक पक्ष बोकेर आउँछ ।

तिहारसँग गाँसिने अर्को महत्वपूर्ण पक्ष हो, फूल । तिहारमा मौसमले पनि गज्जबसँग साथ दिन्छ, फूलहरू फुल्ने यो शरद याम भएकाले । आँगन र वरपर, अहिले त गार्डेन बनाउने चलनसमेत फस्टाएको छ, बारीका कान्ला र आलीहरूमा फुल्छन्, अनेकथरी फूल । तिहारमै फुल्ने भएकाले होला तिहारे फूल फैलिन्छ ।

सयपत्री, भुजुरी, मखमली, गोदावरीलगायत अनेक–अनेक फूलको मौसम हो, यो । अहिले त वनस्पति विज्ञानमा आएको विकास र जिन परिवर्तन गर्न मिल्ने प्रविधि प्रयोगले फूलहरू जस्तो भन्यो त्यस्तै फुल्ने र जहिले चाहियो तहिले फुलाउन सकिने जमाना आएको छ । पहिले आआफ्ना घरआँगनमा भएको फूलले निर्वाह हुन्थ्यो, नभए छिमेकमा फूल भए मागेर काम चल्थ्यो । अहिले सहरीकरणले यसमा पनि व्यापार प्रवेश गरेको छ । फूल अब सोख र सुन्दरताको प्रतीक मात्र रहेन । यो व्यापारको वस्तु बन्यो । एउटै तिहारमा करोडौँको फूलको व्यापार हुने भयो । देशभित्रको उत्पादनले नपुगेर विदेशी फूल पनि ल्याइने भयो ।

पछिल्लो समय नेपालमा पनि फूलले व्यावसायिक रूप धारण गर्दै छ । कैयौँ परिवार फूलको खेतीमा लागेका छन् । पर्यटक आकर्षित गर्न पनि फूलले सहयोग गरेको छ । वर्षैभरि फूलका माला र बुकेको प्रयोग हुन थालेको छ । फूल प्रकृतिमा सुगन्ध थप्ने सुन्दर रचना हो । यसले मान्छेको मनलाई प्रफुल्लित बनाउन सहयोग गर्छ । यही फूललाई मायाको प्रतीक मानेर दिदीबहिनीले दाजुभाइलाई मालामा माया उनेर पहि¥याउँदा फूलैफूलको संसार सिर्जना हुन्छ । तिहारको यो मौसममा हाम्रोतर्फबाट पाठकहरूलाई फूलैफूलको शुभकामना !

तपाईको प्रतिक्रिया