रुचाइयो मुन्द्रेको कमेडी क्लब - Naya Patrika
eNaya Patrika
  • ePaper

रुचाइयो मुन्द्रेको कमेडी क्लब

हास्यअभिनेता जितु नेपालको टिभी सो मुन्द्रेको कमेडी क्लबलाई दर्शकले निकै मन पराएका छन् । कात्तिक १९ गते सोमबार साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको सोले युट्युबमा पनि दर्शकको अधिक साथ पाएको छ ।

कार्यक्रमका परिकल्पनाकार, लेखक तथा प्रस्तुतकर्ता जितुले आफ्नो सो युट्युबमा एक दिनमा झन्डै दुई लाखभन्दा बढीपटक हेरिएको जानकारी दिए । ‘एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ,’ आमा अग्निकुमारी मिडियाको च्यानलबाट युट्युबमा अपलोड गरिएको सोबारे उनले थपे, ‘टिभीमा मात्रै होइन, युट्युबमा समेत उत्तिकै चर्चित भएको छ ।

मंगलबार साँझसम्म ६ नम्बर ट्रेन्डिङमा आएको छ । मलाई देश–विदेशबाट बधाई र शुभकामना प्राप्त भइरहेको छ ।’ उनले दर्शकले दिएको सुझाब र सल्लाहलाई शिरोपर गरी सो अझै उत्कृष्ट बनाएर लग्ने बताए । की इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको मुन्द्रेको कमेडी क्लबको पहिलो भागमा जितुका साथमा हास्यअभिनेत्री, निर्देशक दीपाश्री निरौला, हास्यअभिनेता दीपकराज गिरी, राजाराम पौडेललगायतलाई प्रस्तुत गरिएको छ । रवि श्रेष्ठ निर्देशक रहेको सोमा उमेश राई, राजेन्द्र नेपाललगायत कलाकार पनि संलग्न छन् । जितुले सोलाई अझ स्तरीय बनाउँदै लैजाने जनाएका छन् ।

तपाईको प्रतिक्रिया