तिहारमा पनि बिक्न छाड्यो मादल - Naya Patrika
eNaya Patrika
  • ePaper

तिहारमा पनि बिक्न छाड्यो मादल

संखुवासभामा मादलको व्यापार घटेको छ । सदरमुकाम खाँदबारीमा केही वर्षअघिसम्म तिहारको सिजनमा मादलको अत्यधिक किनबेच हुन्थ्यो । तर, आजभोलि मादल बिक्री हुने क्रम घटेको मादल व्यवसायी डम्बरबहादुर सार्कीले बताए ।

सार्की भोजपुरको दिङ्लाबाट एकदिनको बाटो हिँडेर मादल बेच्न खाँदबारी पुगेका हुन् । ‘दुई–चार वर्षअघिसम्म ल्याएको मादल सबै बिक्री हुन्थ्यो,’ सार्कीले भने, ‘यस वर्ष सोचेजस्तो व्यापार भएन । मादल नबिक्ला जस्तो छ ।’

सार्कीले बाबुबाजेको पालादेखि नै मादल बनाउने पेसा गर्दै आएका छन् । ‘पहिले–पहिले तिजदेखि तिहारसम्म मादलको व्यापार हुन्थ्यो । मादल बिक्री गरेर वर्षमा डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो,’ सार्कीले भने, ‘तर अचेलका युवामा मादलप्रति रुचि घटेछ । वर्षमा मुस्किलले ३०–४० हजारको मात्रै मादल बिक्री हुन्छ ।’

दिङ्लाकै अर्का मादल व्यवसायी गुम्यबहादुर सार्कीले पनि विगतको तुलनामा मादल बिक्री घटेको बताए । ‘पहिला–पहिला मादल बनाउन पनि भ्याइनभ्याइ हुन्थ्यो,’ गुम्यबहादुरले भने, ‘तर अचेल पहिलेजस्तो छैन । मादल खोज्न तिहारको वेला फाट्टफुट्ट मात्रै मान्छे आउँछन् ।’

मादलको प्रयोग नै घट्यो
मादल बिक्री हुन छाडेपछि बनाउन पनि अल्छी लाग्न थालेको डम्बरबहादुरले बताए । ‘हाम्रो पुरानो पेसा भएकाले मात्र दसैँ–तिहारको वेला अलि–अलि मादल बनाउँछौँ,’ डम्बरबहादुरले भने, ‘तर बनाएको मादल पनि सबै बिक्री हुँदैन ।’

मादलको प्रयोग घटेकाले बिक्री घटेको उनले बताए । पहिलापहिला मेला, एकादशी, देउसी र भैलोमा मादल बजाउने चलन धेरै थियो । अचेल त्यो क्रम घटेको छ । गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्ने चलनको विकास हुँदैछ । मिहिनेतअनुसारको मूल्य पाउन छाडेपछि मादल बनाउने सार्कीमा पनि जाँगर मर्दै गएको छ ।

पेसाबाट पलायन
पहिला–पहिला संखुवासभाको पिप्ले र भोजपुरको दिङ्लाआसपासका एक सयभन्दा बढी परिवारले मादल बनाएरै जीविकोपार्जन गर्थे । तर, आजभोलि मुस्किलले १५÷२० परिवारले मात्रै यो पेसा अपनाइरहेका छन् । लाम्पाते, पिप्ली, गुयालो, पटमेरो, सिरिसजस्ता काठ र बाख्रा र गोरुको छाला प्रयोग गरेर मादल बनाइन्छ । तर, अचेल मादल बनाउने काठ भेट्नसमेत मुस्किल पर्न थालेको व्यवसायीहरूको भनाइ छ ।

कारिगढलाई एउटा मादल बनाउन चार दिनदेखि एक सातासम्म लाग्छ । उनीहरूले मादलको एकातिरको तालमा खरी लगाउन पाँच सयदेखि सात सय रुपैयाँसम्म लिने गरेका छन् । छालाले मादल मोरेको ज्याला दुई हजारसम्म पर्छ । नयाँ मादलको मूल्य १५ सय देखि १० हजार रुपैयाँसम्म पर्ने डम्बरबहादुरले बताए ।

तपाईको प्रतिक्रिया