कार्यालयमा जानकारी नै नदिई अनमी अमेरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

कार्यालयमा जानकारी नै नदिई अनमी अमेरिका

रुकुम पश्चिममा कार्यरत एक अनमी कार्यालयमा जानकारी नै नगराई अमेरिका गएकी छिन् । मुसिकोट नगरपालिका–७, स्थित साँख स्वास्थ्यचौकीमा कार्यरत अनमी गीता शाह कार्यालयमा कुनै जानकारी नदिई लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । २९ असारदेखि शाह कार्यालय गएकी छैनन् । शाह घुमघामका लागि भन्दै अमेरिका गएकी हुन् । उनका छोरा अमेरिकामा छन् ।

बिदा नै नलिई शाह लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि आलोचना सुरु भएको छ । अढाई महिनादेखि अनमी शाह कार्यालयमा नआउँदा दैनिक कामकाज प्रभावित भएको स्वास्थ्यचौकीका इन्चार्ज सुम्मिता विष्टले बताइन् । ‘कार्यालयमा कुनै जानकारी नै नगराई उहाँ अमेरिका जानु भएछ,हामीले पनि पछि मात्रै थाहा पायौँ,’ विष्टले भनिन् ।

‘एक त कमै जनशक्ति छन्, त्यसमा पनि एकजना अनमी लामो समयदेखि कार्यालयमा नआउँदा सेवा प्रवाहमा एकदमै समस्या भएको छ,’ विष्टले भनिन् । शाह यसअघि पनि पटक–पटक स्वास्थ्यचौकीमा जानकारी नै नगराई लामो समयसम्म बिदा बस्ने गरेकी कर्मचारीहरू बताउँछन् । अनमी शाहले मनोमानी गर्दा पनि कार्यालयले उनलाई कारबाहीका लागि कुनै पहल गरेको छैन ।

अनमी शाहले स्वास्थ्य सेवा ऐन उल्लंघन गरेको पाइएको छ । स्वास्थ्य सेवा ऐन २०५३ संशोधन २०७० को परिच्छेद १० को दफा ७४ को (ज) मा बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । शाह भने ६० दिनभन्दा लामो समयदेखि विनाजानकारी बिदामा सम्बन्धित निकायले चासो देखाएको छैन ।

अर्को अनमी माग
सेवा प्रवाहमा समस्या भएपछि स्वास्थ्य व्यवस्थापन समितिले अर्को अनमी व्यवस्था गरिदिन नगरपालिकालाई अनुरोध गरेको छ । २ असोजमा बसेको व्यवस्थापन समितिको बैठकले प्रसूति गृह सञ्चालन, खोप, परिवार नियोजन लगायतका सेवा सञ्चालन गर्न समस्या भएपछि अनमी माग गरिएको वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया