पीपीएल च्याम्पियन बन्यो पोखरा पल्टन, २७ लाखको उपाधि - Naya Patrika
eNaya Patrika
  • ePaper

पीपीएल च्याम्पियन बन्यो पोखरा पल्टन, २७ लाखको उपाधि

सर्बाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि जितेको हो ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा पारस खड्काको चितवनले दिएको १६१ रनको लक्ष्य शरद भेषवाकरको पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन बनाएको थियो ।

पोखराका लागि रवीले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएका थिए । यस्तै कप्तान शरद भेषवाकरले २२ रन बनाए भने आशिफ शेखले १२ रन बनाए ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ५१ रन बनाएका थिए ।

लिग चरणको खेलमा भने पोखरा पल्टनले ५ विकेटले चितवनलाई पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
यस्तै चितवन राइनोजले इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यता, पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो ।

उपाधिसंगै पोखराले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार रकम २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ ।

तपाईको प्रतिक्रिया