६० करोडको झिलिमिली - Naya Patrika
eNaya Patrika
  • ePaper

६० करोडको झिलिमिली

यस वर्ष ६० करोड रुपैयाँबराबरको झिलिमिली बत्तीसहितका तिहारलक्षित विद्युतीय सामग्री नेपाल भित्रिएको छ । करिब ९० प्रतिशत तिहारजन्य विद्युतीय सामग्री चीनबाट र १० प्रतिशत भारतबाट आयात गरिएको विद्युतीय व्यवसायी महासंघ नेपालका अध्यक्ष तेजनारायण खरेलले बताए । भारतबाहेक अन्य केही मुलुकबाट समेत नगन्य मात्रामा तिहारका लागि विद्युतीय सामान अयात हुने गरेको उनले जानकारी दिए ।

‘रंगिचंगी झालर बत्ती, डिस्को लाइट, दियो लाइट, देवीदेवताका विद्युतीय मूर्ति, देवीदेवताका विद्युतीय फोटोफ्रेमलगायत सामग्री खास गरी तिहारका लागि आयात भएका छन्,’ अध्यक्ष खरेलले भने, ‘खुला सीमाका कारण अनौपचारिक माध्यमबाट व्यक्तिगत रूपमा पनि भारतीय बजारबाट सामान आउने भएकाले कुल आयात अझ बढी हुने अनुमान गर्न सकिन्छ ।’

उनका अनुसार आयात भएको रकमकै हाराहारीमा तिहारलक्षित विद्युतीय सामग्रीको बिक्रीवितरण हुने अनुमान छ । ‘गत वर्ष करिब ६० करोड रुपैयाँबराबरको तिहारलक्षित विद्युतीय सामग्रीको बिक्री भएको थियो,’ उनले भने, ‘यस वर्ष पनि त्यही हाराहारीमा विद्युतीय सामग्रीको बिक्री हुने अनुमान गरिएको छ ।’

५० देखि हजारसम्मका झालर बत्ती
महासंघका अनुसार बजारमा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म प्रतिगोटा पर्ने झालर बत्ती उपलब्ध छन् । यसमध्ये ५० देखि दुई सय रुपैयाँ प्रतिगोटासम्म पर्ने झालर बत्तीको व्यापार बढी हुने गरेको छ । तिहारमा झालर बत्तीले घर झिलिमिली बनाउने ग्राहकमध्ये अधिकांशले ५० देखि दुई सय रुपैयाँ प्रतिगोटाका बत्ती प्रयोग गर्ने गरेका छन् ।

‘आफ्नो गच्छेअनुसार तिहारमा दुई सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पनि खर्च गरेर घर झिलिमिली बनाउने उपभोक्ता छन्,’ अध्यक्ष खरेलले भने, ‘कतिपय अवस्थामा आफ्नो घरमा भन्दा छिमेकी साथीको घरमा जस्तै बत्ती बाल्दा बालबालिका खुसी हुने भएकाले पनि त्यस्तो बत्तीले घर सजाउने प्रतिस्पर्धा भएकोजस्तो पनि देखिन्छ ।’

बत्ती ज्यादा, विद्युत् खपत कम
विगत केही वर्षअघि फिलामेन्ट चिम प्रयोग गरिएका झालर बत्तीहरू प्रचलनमा थियो । त्यस्ता बत्तीको प्रयोगले घर झिलिमिली त हुन्थ्यो नै विद्युत् भने बढी नै खपत गथ्र्यो । तर, आजभोलि लेड (लाइट–इमिटिङ डिओड) प्रविधियुक्त झालर बत्तीहरू बजारमा सर्वसुलभ रूपमा उपलब्ध हुन थालेका छन् । यसले निकै कम विद्युत् खपत गर्छ ।

‘प्रतिझालर ६० देखि ७० वाट विद्युत् खपत गर्ने झालर बत्ती विगतमा उपलब्ध थिए,’ अध्यक्ष खरेलले भने, ‘हाल ३ देखि ५ वाटसम्मका झालरहरू उपलब्ध छन् ।’ लेड प्रविधिका बत्तीकै कारण तिहारमा झालर बत्तीलगायत विद्युतीय उज्यालोको बढी उपभोग गर्ने गरिएको भए पनि विद्युत् खपत भने विगतको तुलनामा कम नै बढाएको छ । यद्यपि, अझै पनि रुचिअनुसार फिलामेन्ट चिम प्रयोग गरिएका झालरलगायत वित्तीय उज्याला बत्तीहरू बजारमा उपलब्ध रहेकाले केही उपभोक्ताले प्रयोग गर्ने गरेका छन् ।

प्रयोग बढ्यो, मूल्य बढ्यो, व्यापार बढेन
प्रविधिमा आएको परिवर्तन र सर्वसुलभताका कारण पछिल्लो समयमा झालर बत्ती लागत तिहारलक्षित विद्युतीय उज्यालोको नेपालमा प्रयोग बढेको छ । खासगरी यमपञ्चक सुरु हुनुअघिदेखि लक्ष्मी पूजाको दिन दिउँसोसम्म यस्ता सामग्रीको खरिदबिक्री ह्वात्तै बढ्ने गरेको छ । गाउँ होस् चाहे सहर, सबैतिर प्रयोग बढेको छ । तर, प्रत्येक वर्ष व्यापार भने केही कम हुँदै गएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले बताए ।

‘अघिल्लो वर्ष प्रयोग गरिएको तिहारलक्षित विद्युतीय सामग्री झन्डै ९० प्रतिशत फेरि प्रयोगमा ल्याउने गरिएको छ,’ उनले भने, ‘यसले पनि वार्षिक रूपमा व्यापार भने बढ्न सकेको छैन ।’ तर, नयाँ प्रविधि र स्वरूपका सामग्री आएको अवस्थामा बजार केही बढ्ने गरेको उनले बताए । उनका अनुसार यस वर्ष विद्युतीय सामग्रीको मूल्य भने केही बढेको छ । ‘डलरको मूल्य वृद्धि र भन्सार महसुलमा भएको वृद्धिले यस वर्ष विद्युतीय सामानको भाउ केही बढेको छ,’ उनले भने, ‘तर, खाद्यान्नमा जस्तो मूल्य वृद्धि भने भएको छैन ।’

जाँदैन बत्ती
०७२ को तिहारसम्म मानिसमा चिन्ता र आक्रोश हुन्थ्यो, ‘तिहारमा बत्ती जाने भयो÷गयो । तर, ०७३ को लक्ष्मी पूजादेखि तिहारमा बत्ती जान छोड्यो काठमाडौं उपत्यकाबाट । ०७२ को फागुनसम्म झन्डै १६ घन्टा बत्ती नआएर तनाव झेलेका नेपाली जनता बत्ती नजाने गरेको तेस्रो तिहार मनाउँदै छन् ।’

‘सबैभन्दा बढी उच्च माग हुने लक्ष्मी पूजाको दिनका लागि विद्युत् नजाने व्यवस्था गरेका छौँ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘विद्युत््को लोड धान्न सक्ने गरी ट्रान्सफर्मर, कन्डक्टर, सबस्टेसनहरू पहिचान गरी आवश्यक व्यवस्थापन मिलाएका छौँ ।’

हाल उद्योगमा समेत बत्ती नजाने भएकाले लक्ष्मी पूजाको दिन उद्योगधन्दा बन्द हुने र भारतको बिहार र उत्तर प्रदेशबाट चाहेजति बिजुली ल्याउन पाउने भएकाले समस्या नहुनेमा प्राधिकरण ढुक्क छ । त्यसबाहेक कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हालसम्मकै बढी पुगेकाले सो आयोजनालाई समेत पूर्ण क्षमतामा चलाउन सकिने उनी बताउँछन् ।

‘यस वर्ष कुलेखानीको जलाशय १५ सय २७ मिटरसम्म पुगेको छ,’ उनले भने, ‘विगतमा १५ सय २४ मिटरभन्दा बढी हुन सकेको थिएन ।’ लक्ष्मी पूजाकै दिन पनि उच्च माग १३५० मेगावाटभन्दा ननाघ्ने अनुमान प्राधिकरणको छ । प्राधिकरणले बढी विद्युत् खपत हुने किसिमका उपकरण साँझमा नचलाउन आग्रह गर्दै आएको छ । तर, यस वर्षको तिहारमा भने प्राधिकरणले आफ्नै केन्द्रीय कार्यालय भवनसमेत बत्तीले झिलिमिली पार्ने जनाएको छ ।

कम विद्युत् खपत गर्ने लेड प्रविधियुक्त झालर बत्तीको प्रयोग गरेर प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा झिलिमिली पारेर अब देशमा लोडसेडिङ नरहेको सन्देश दिइएको छ । ‘केन्द्रीय कार्यालय झिलिमिली पार्ने कार्यक्रम छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसलाई लोडसेडिङ अन्त्य भएको संकेतको रूपमा अथ्र्याउन पनि सकिन्छ ।’

तपाईको प्रतिक्रिया