बागेश्वरीमा २९ हजारले हेरे छक्का पञ्जा–३ - Naya Patrika
eNaya Patrika
  • ePaper

बागेश्वरीमा २९ हजारले हेरे छक्का पञ्जा–३

दसैंको अवसरमा घटस्थापनाको दिनबाट प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा–३’ बागेश्वरी क्युएफएक्स सिनेमा हल नेपालगन्जमा २९ हजार बढी दर्शकले हेरिसकेका छन् । बागेश्वरी सिनेमा हलका प्रबन्धक नीरजमान शाक्यका अनुसार फिल्म हेर्न अहिले पनि दर्शकको चाप उस्तै छ । उनले फिल्म आफूहरुले आशा गरेभन्दा धेरै राम्रो चलेको बताए । ‘दर्शकले एकपटक मात्र होइन, दोहो-याई, तेहे-यााई फिल्म हेरेको पाएका छौँ’ उनले भने ।

दर्शकसँग साक्षात्कार गर्दै नेपालगन्ज आइपुगेका ‘छक्का पञ्जा–३’ का प्रमुख कलाकार तथा निर्माता दीपकराज गिरीले बागेश्वरी सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘छिमेकी देशको प्रभाव रहेको जिल्लामा समेत ‘छक्का पञ्जा–३’ले बजार पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो ।’ उनले फिल्म सफल बनाउन सहयोग गर्ने दर्शक तथा सबैलाई धन्यवाद ज्ञापन गरे ।

फिल्मकी निर्देशक दीपाश्री निरौलाले दर्शकले दिएको मायाले अर्को फिल्म बनाउने हौसला बढेको बताइन् । उनले आफूहरू काठमाडौं फर्किनासाथ अर्को फिल्मको तयारीमा जुट्ने समेत सुनाइन् । हास्यकलाकार केदार घिमिरेले ‘छक्का पञ्जा–३’ को उद्देश्य पैसा कमाउनु मात्र नभई नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नु र शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई रोक्न मद्दत गर्नु भएको बताए । अर्का कलाकार जितु नेपालले फिल्ममार्फत दर्शकलाई सन्तुष्टि दिन सकेकोमा खुसी लागेको बताए ।

सामुदायिक विद्यालयको चित्रण
बागेश्वरी हलबाट बाहिरिँदै गरेकी मावि लग्दहवाकी शिक्षिका जयन्ती गिरीले नेपालका सामुदायिक विद्यालयमा हुने बेथितिको वास्तविक कथा छक्का पञ्जा–३ मा कोरिएको बताइन् । उनले भनिन्, ‘फिल्ममा सामुदायिक विद्यालयमा हुने विकृतिको बारेमा छर्लंङ पारिएको छ ।’ जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारीजस्ता संवेदनशील विषय छक्का पञ्जा–३ को
कथामा भेटेको दर्शकको भनाइ छ ।

सुधारको सन्देश
राज्यले शिक्षामा सुधारका लागि अर्बौं रकम खर्च गरे पनि उपलब्धि नभएकाले यसलाई कथामा लेखेको फिल्मका लेखकसमेत रहेका अभिनेता, निर्माता दीपकराज गिरीले बताए । उनले निजी र सरकारी विद्यालयबीच विभेद भएको बताउँदै सरकारी तलब–भत्ता खाने शिक्षक शैक्षिक सुधारमा गम्भीर नदेखिएको घटनालाई फिल्म्मा प्रस्तुत गरेको बताए ।

तपाईको प्रतिक्रिया