बाबुको शव सार्वजनिक गर : खसोगीका छोरा - Naya Patrika
eNaya Patrika
  • ePaper

बाबुको शव सार्वजनिक गर : खसोगीका छोरा

हत्या गरिएका साउदी पत्रकार जमाल खसोगीका छोराहरूले साउदी सरकारसमक्ष बाबुको शव मागेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको एक अन्तर्वार्तामा उनीहरूले खसोगीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न पाउनुपर्ने माग गरे ।

अब्दुल्लाह खसोगी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्न सरकारसँग आग्रह गरेका छन् । खसोगीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासमा अक्टोबर २ तारिखमा साउदी सरकारका एजेन्टले हत्या गरेका थिए । टर्कीका राष्ट्रपति रिसेप तैयप एड्रोगानले सो हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आएका छन् ।

टर्कीका सरकारी अनुसन्धानकर्ताहरूले जमाल खसोगीलाई महावाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताएका छन् । उनीहरूले खसोगीको शरीर टुक्राटुक्रा पारेकोसमेत बताएका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एड्रोगानका सल्लाहकार यासिन आक्टेले खसोगीको हत्यापश्चात् शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताएका छन् । खसोगीको हत्याको संयुक्त राज्य अमेरिकालगायत विश्वभरबाट निन्दा गरिएको छ ।

खसोगीका छोराहरूले आफ्ना बाबु बाँचुन्जेल राजतन्त्रप्रति बफादार रहेको बताएका छन् । सलाहले भने, ‘मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । बुबाले कहिल्यै साउदी सत्ताको विरोध गरेनन् । उनको राजतन्त्रप्रति अटल विश्वास थियो ।’

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताए । सरकारले सार्वजनिक गरेका विवरण दुनियाँलाई भ्रमित पार्ने किसिमका रहेको उनले जानकारी दिए । उनले भने, ‘यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।’ सलाहले थपे, ‘साउदी राजाले दोषी सबैलाई कानुनको कठघरामा उभ्याउने बताएका छन् । मलाई राजाको वचनप्रति विश्वास छ ।’

 

तपाईको प्रतिक्रिया