इतिहास बोकेका मिठाई पसल - Naya Patrika
eNaya Patrika
  • ePaper

इतिहास बोकेका मिठाई पसल

नेवार समुदायमा राजकर्णिकार भन्नासाथ दिमागमा मिठाईको प्रसंग आउँछ । नआओस् पनि कसरी ? राजकर्णिकारसँग जोडिएको मिठाईको इतिहास नेपाली राजनीतिको प्रत्यक्षदर्शी पनि हो । हुन त अन्य समुदायले पनि यो व्यवसाय गर्छन् । तर, नेपालको इतिहाससँग जोडिएर आउँछ, राजकर्णिकार थर । जसले दरबारका लागि मिठाई बनाउने गर्थे । कृष्ण पाउरोटी भण्डारका घनश्याम राजकर्णिकारका अनुसार उनका जिजुबाजे गजराज राजकर्णिकारले जंगबहादुरलाई मिठाई खुवाउँथे ।

विसं १९१५–१९२५ को कुरा हो । घनश्याम भन्छन्, ‘मेरो जिजुबाजे गजराज राजकर्णिकार थापाथली दरबारमा जंगबहादुरलाई मिठाई खुवाउने गर्थे । जिजुबाजेको निधनपछि मेरा बाजे हिरामानले वीरशमशेरको लालदरबारमा मिठार्ई खुवाउने जागिर पाए ।’ हिरामानको निधनपछि उनका छोरा कृष्णबहादुरले पनि मिठाई बनाउने जागिरलाई निरन्तरता दिएका थिए । तर, राणाहरूमा वर्गीकरण (ए, बी र सी क्लास) भएपछि कृष्णबहादुरले भारतको कोलकत्तामा सीप सिकेर २००५ सालबाट नेपालमा पाउरोटी बनाउन सुरु गरेको छोरा घनश्याम बताउँछन् । नेपालमा मिठाईको सम्भवतः इतिहास यही भएको घनश्यामको दाबी छ ।

नेपालीको घर–आँगनमा तिहार आइसकेको छ । तिहारलाई फूलमाला र मिठाईको पर्व मानिन्छ । फूल, माला र मिठाईमा साटिने सम्बन्धले दाजुभाइ–दिदीबहिनी आपसमा जिम्मेवारी महसुस गर्छन् । यही तिहारको मौसममा मिठाई व्यापारीलाई पनि भ्याई–नभ्याई हुन्छ । उत्पादन बढाउनु त छँदै छ । गुणस्तर र स्वादमा पनि ख्याल गर्नुपर्छ । आकर्षक प्याकिङको माग पनि उत्तिकै आउने गरेको भान्दास मिठाई भण्डारकी रत्नदेवी राजकर्णिकार बताउँछिन् । विभिन्न परिकारका मिठाई बन्ने गरेका छन् । भारतीय ब्रान्डदेखि नेपालका ब्रान्डहरू पनि आक्रामक रूपले बजारमा आइरहेका छन् । तिहारमा मिठाई उपहारस्वरूप दिइने गरिन्छ ।

सम्बन्धलाई मिठासपूर्ण बनाउन मिठार्ईले ठूलो भूमिका खेल्ने गर्छ । मिठाईसँग मीठो सम्बन्ध साट्नेहरूका कारण नै हो तिहारमा बढी व्यापार हुने । राजधानीका केही पुराना मिठाई पसल एउटा सग्लो इतिहासको साक्षी बनेर सञ्चालनमा छन्, आज पनि । भलै उनीहरू समयअनुसार अपडेट भएनन् होला । तर, उनीहरूले बोकेको इतिहासको विरासत भने गर्व गर्नलायक छ ।

भान्दाजको मिठार्ई भण्डार, वसन्तपुर
वसन्तपुरमा रहेको काष्ठमण्डप मन्दिर अहिले अस्त्वित्वमा छैन । बिसेत नामका व्यक्तिले एउटै सालको रुखबाट मन्दिर बनाएको पढ्न पाइन्थ्यो । त्यही मन्दिरको अगाडिपट्टि एउटा पुरानो मिठाई भण्डार छ– भान्दाजको मिठार्ई भण्डार ।

तिहार लागेको छ । ग्राहकको भिड छ । बेच्न भ्याई–नभ्याई छ । त्यो पसल भान्दाजकी नातिनीबुहारी रत्नदेवी राजकर्णिकारले चलाइरहेकी छिन् । तर, नाम फेरिएको छ–काष्ठमण्डप मिठाई भण्डार । उनलाई नाम परिवर्तन गर्न त मन थिएन । तर, भान्दाजका तीनजना छोराले छुट्टाछुट्टै पसल चलाए । त्यसपछि भान्दाज मिठाई भण्डार भान्दाज बितेपछि सँगै गयो । तर, पनि आफूलाई भान्दाजको तेस्रो पुस्ता भनेर अरूलाई भन्न पाउँदा गर्व महसुस गर्छिन्, रत्नदेवी ।

गर्व महसुस नहोस् पनि किन ! मिठाई पसल चन्द्रशमशेरको पालामा सञ्चालनमा ल्याएका थिए, भान्दाज राजकर्णिकारले । उनलाई यकिन मिति थाहा नभए पनि चन्द्रशमशेर प्रधानमन्त्री भइसकेपछि सञ्चालनमा ल्याएको भन्ने कुरा पारिवारिक कुराकानीमा सुन्दै आएकी छिन् । चन्द्रशमशेर विसं १९५८ देखि १९८६ सम्म प्रधानमन्त्री भएका थिए । भान्दाज मिठाई भण्डार त्यो समयको कुरा थियो । अहिले उनका छोराहरू यही व्यवसायमा छन् । सँगै काम गरिरहेका छन्, उनीहरूले । आफ्नो पुर्खाको विरासतलाई छोराले थेग्नेमा रत्नदेवी ढुक्क छिन् ।

छोराले स्नातक पढेका छन् । यही व्यवसायमा लागेका छन् । चारजना छोरा छन्, रत्नदेवीका । एकजनाले टेकुमा कारखाना चलाउँछन् । र, तीनजना यही व्यवसायमा छन् । यहाँको मिठार्ईको परिकारमा पर्छन्– लाखामरी, अनरसा, रोट इत्यादि । चामल, मैदाको पिठो, चिनी र घिउ हालेर बनाइन्छ, ती मिठाई । रत्नदेवीले भनिन्, ‘दूधका आइटम पनि बनाउन थालेका छौँ । गुँदपाक, बर्फी पनि बनाउँछौँ ।’ इन्डियन मिठाई रसबरी, दूधमलाई पनि बनाउन थालेका छन्, उनीहरूले । यसरी भान्दाजको विरासत नाम फेरेर चलाउन पनाति पुस्ता कस्सिएको छ । तिहार लागेका कारण यतिवेला खुबै व्यस्तता बढेको छ, उनीहरूको ।

क्षेत्रपाटीको मिठाई पसल
नाम छैन, मिठाई भण्डारको । सात दशक पार गरिसक्यो । ब्यानरविना नै चलिरहेको छ । क्षेत्रपाटीमा छ, पसल । त्यसको सुरुवात विसं २००१ सालमा ज्ञानमाया ताम्राकारले गरेकी थिइन् । हुन त मिठाई भन्नासाथ राजकर्णिकारको नाम आउँछ । तर, यो पसल ताम्राकारले चलाएका हुन् ।

ज्ञानमायाका श्रीमान् हेमदास मानन्धर बिते । त्यसपछि उनले तीन छोराको साथ लिएर सुरु गरिन्, मिठाई भण्डार । उनका मावली राजकर्णिकार खलक थिए । त्यही भएर पनि सानैदेखि मिठाईमय वातावरणमा हुर्किएकी थिइन् । उनको मावली थिए, भान्दाज मिठाई भण्डार सञ्चालक । त्यसको प्रभावस्वरूप भाँडाकुँडा बनाउने पुरानो व्यवसाय छाडेर उनले सुरु गरिन्– मिठाई व्यवसाय । उनका तीन भाइ छोरामध्ये ०२६ सालमा कान्छो छोरा छुट्टिए । माइलो छोरो ०२८ सालमा बिते । उनी बितेपछि माइलाको छोराले ठूलो बुबासँग मिलेर मिठाई व्यवसाय चलाइरहेका छन् । उनले भने, ‘त्यसपछि मैले सुरु गरेको हुँ । ४० वर्षभन्दा बढी भइसक्यो अहिले । म नै ५९ वर्षको भएँ ।’ उनको पसलमा जेरी, स्वारी, हलुवा, सेल, मालपुवा, बर्फी, लाखामरी बन्ने गर्छ । बर्फी त्यहाँको स्पेसल आइटम हो । उनले भने, ‘यो धेरै बिक्री हुन्छ ।’

उनका छोराले पनि अब साथ दिने पक्का भइसकेको छ । छोराले एमबिए गरे । हिमालयन बैंकमा ६/७ महिना काम पनि गरे । तर, अहिले भने बैंकको जागिर छाडेर उनीसँगै मिठाई पसलमा सहकार्य गर्न आइपुगेका छन् । अहिले तिहार लागेको छ, सहरलाई । सहरको क्षेत्रपाटीमा रहेको उनको पसलमा भिड लागिरहेको छ । हुन त अरूवेला पनि भिड हुन्छ । तर, तिहारमा भने अलि बढी नै हुने गरेको छ । सामान्य दिनभन्दा तिहारको मौसममा २० गुणा बढी मिठाई जाने उनी बताउँछन् । स्व. गणेशमान सिंहको घरमा मिठार्ई जान्थ्यो, यहीँबाट । गणेशमानले त्यहीँको मिठाई खान्थे । अहिले पनि उनको परिवारका मानिसले लैजाने गर्छन् । उनले भने, ‘उहाँको घरबाट मिठार्ई लिन अहिले पनि आइरहनुहुन्छ ।’

नन्द मिठाई पसल, पाटन
पाटन कृष्ण मन्दिर । सम्झनासाथ दिमागमा आउँछ– दरबार र सिद्धिनरसिंह मल्लको मूर्ति । ०७२ को भूकम्पपछि निर्माणाधीन दरबार । यहाँका साँघुरा गल्लीमा अडिएका साना, होचा तला, बुट्टेदार झ्याल भएका घर पनि ऐतिहासिक सम्पत्ति हुन् । पाटन मन्दिरको पछाडि रहेको नन्द मिठार्ई पसल अर्को जीवित इतिहास हो ।

तिहारको रौनक छ, अधिकांश नेपाली घरमा । तिहारको उमंगले छोएको छ, मानिसलाई । उनीहरू फूलमाला र मिठाईमा सम्बन्धलाई अझ मजबुत बनाउन प्रयास गरिरहेका छन् । त्यही कुरालाई अझ मजबुत बनाउन इँटा बनेर उभिएको छ– नन्द मिठार्ई पसल । पहिले पाटन कृष्ण मन्दिरकै छेउमा थियो । तर, पछि मन्दिर केही पछाडि सरेको छ । मल्लकालीन राजाले दरबारमा मिठार्ई पकाएर खुवाउन भारतबाट राजकर्णिकार परिवारलाई झिकाएको कथन छ । त्यहीवेलादेखि नेपालमा मिठार्ई पकाउन सुरु भयो भन्ने विश्वास छ ।

मारवाडी समुदायले दूधका रंगीविरंगी मिठार्ई पकाउने गर्छन् । नेवार समदाय भने चिनी, घिउ र मैदा÷आटा प्रयोग गरेर मिठार्ई बनाउने गर्छन् । नन्द मिठार्ई पसलका अहिलेका सञ्चालक राधाकृष्ण राजकर्णिकार भन्छन्, ‘हामी लाखामरी, चरा, माछा, भ्यागुतो, जेरी, स्वारी, हलुवाई, गुँदपाक, पुस्टकारीलगायत मिठार्ई पकाउँछौँ ।’ मारबाडी समुदायले बर्फी, लालमोहन, लड्डु, रसबरीलगायत मिठार्ई बनाउँछन् ।

पछि नेपालीले पनि बर्फी, लालमोहन, लड्डु, रसबरी पकाउन थालेको उनको तर्क छ । यी मिठार्ई आयातीत हुन् भनेर उनले बताए । तर, विशेष गरेर नेवारी समुदायमा परापूर्वकालदेखि बच्चा पाएपछि सुत्केरीलाई दूधमा पकाएको गुँदपाक खुवाउने चलन थियो । अन्य समुदायले पनि किनेर खान थालेपछि व्यावसायिक बनेको हो । अहिले त कोसेलीका रूपमा पनि प्रयोग हुन थालेको छ ।

आशालाल राजकर्णिकारका बुबाले पनि पाटनमा मिठार्ई पसल सुरु गरेका थिए । आशालालको पाँचौँ पुस्ता अहिले पनि मिठाईका स्वादिला परिकार खुवाउन तैनाथ छ । उनको अनुमानमा आशालाले सुरु गरेको करिब एक सय ४०–५० वर्षजति भयो होला । बुबाको मिठार्ई पसललाई आशालालले निरन्तरता दिए ।

आशालालका छोरा नन्दलालले पनि बाबुकै पदचाप पछ्याए । नन्दलालका चार छोरा, जसमध्ये तीन छोराले मिठार्ई व्यवसाय अँगाले । चार छोरामध्ये राधेश्यामका नातिले अहिले पुर्खाको विरासत धानिरहेका छन् । नन्द मिठार्ई भण्डार पाटनमै सुरु भयो र पाटनमै केन्द्रित छ । अर्गानिक उत्पादनमा अग्रसर छ । अर्गानिकता तथा पुरानो तरिकाबाट मिठार्ई निर्माण गरेर संस्कृतिको पनि संरक्षण गरिरहेको छ, नन्द मिठार्ई पसलले । थापाथलीको राम भण्डार पनि सय वर्ष पुगिसकेको छ । राम भण्डार विभिन्न कालखण्डमा भएका परिवर्तनको साक्षी हो । राजकर्णिकार परिवारबाट नै सञ्चालन भएको योे मिठाई भण्डारले आफ्नो पुर्खाको विरासत थामिरहेको छ ।

रमझम छ, तिहारको । तिहारमा मिठाई बाँडेर सम्बन्धलाई अझ मीठो बनाउन अग्रसर छन्, मिठार्ई पसल । कतिपय पसल त इतिहासको जिउँदो प्रमाण भएर चलिरहेका छन् । उनीहरूले मिठाई मात्र बेच्दैनन् । इतिहास पनि सँगै बचाइरहेझैँ लाग्छ ।

तपाईको प्रतिक्रिया