हिउँदे अधिवेशनसम्म ४० विधेयक तयार हुने - Naya Patrika
eNaya Patrika
  • ePaper

हिउँदे अधिवेशनसम्म ४० विधेयक तयार हुने

प्रदेश ५ सरकारले कानुनको मस्यौदा निर्माणलाई तीव्रता दिएको छ । बिजनेसविहीन भएपछि गत २४ साउनमा प्रदेश सभाको दोस्रो अधिवेशन स्थगित भएको थियो । अब बस्ने हिउँदे अधिवेशनलाई सुरुदेखि नै प्रसस्त बिजनेस उपलब्ध गराउने गरी सरकारले कानुन निर्माणलाई तीव्रता दिएको हो ।

प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले अबको अधिवेशन सुरु हुँदा ४० विधेयक तयार हुने बताए । अहिले धमाधम कानुनका मस्यौदा निर्माण भइरहेको चौधरीले बताए । उनले भने, ‘अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा ४० वटा विधेयक लैजाने गरी काम भइरहेको छ ।’ अहिलेसम्म ३६ विधेयकका अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएर काम अघि बढेका छन् । तीमध्ये १२ विधेयक तयार भइसकेको उनले बताए ।

१५ कानुन निर्माण
प्रदेशको कानुन आयोगले कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पहिलो र दोस्रो अधिवेशनमा गरी १५ कानुन निर्माण भएका छन् । प्रदेशको कानुन आयोगका अध्यक्ष डा. कुमार आचार्यले अब बस्ने प्रदेश सभा बैठक बिजनेसविहीन हुन नदिने गरी विधेयकहरूको तयारी भइरहेको बताए ।

 यस्तो छ तयारी
दोस्रो अधिवेशन सकिएको तीन महिनाभन्दा पनि धेरै समयपछि अर्को बैठकको तयारी भइरहेको छ । २७ कात्तिकमा छठ रहेकाले मंसिरको पहिलो साताबाटै अधिवेशन सुरु गर्ने तयारीमा प्रदेश सरकार छ । लामो समयपछि बस्न लागेको प्रदेश सभाको बैठक थप व्यवस्थित बनाउन सभामा पनि तयारी सुरु भएको छ । प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बैठकका लागि प्रदेश सभा तयारी अवस्थामा रहेको बताए ।

तपाईको प्रतिक्रिया