१.१२ प्रतिशत घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

१.१२ प्रतिशत घट्यो नेप्से

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशमलव १२ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा २ गुणाभन्दा बढी बढेको छ । अघिल्लो कारोबार दिन २४ करोड ६७ लाखमा सीमित भएको कारोबार रकम यस दिन १ सय २८ दशमलव ९१ प्रतिशत बढेर ५६ करोड ४७ लाख पुगेको छ । ११ करोड ८ लाख रुपैयाँबराबरको म्यानुअल टर्नओभरले यस दिनको कारोबार रकम बढाउन टेवा पु-याएको हो ।

लगानीकर्ताहरू पुनः चाडपर्वको मुडमा देखिएका छन् । तिहारका लागि खर्च जुटाउन केही लगानीकर्ता सेयर बिक्री गर्नतर्फ लागेको एक ब्रोकरले बताए । यसका साथै बैंकहरूको ब्याजदर नघट्नाले पनि बजार बढ्न नसकेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा तरलता अभावले अहिलेको बजार प्रभावित भइरहेको छ । सूचीकृत कम्पनीहरूले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । कम्पनीहरूले सो अवधिमा नाफा बढाएका छन् । यसले बजारलाई सकारात्मक दिशातर्फ अघि बढ्न टेवा पुग्ने लगानीकर्ताहरूको अपेक्षा रहेको छ । तर, सोविपरीत बजार ओरालो लाग्दा लगानीकर्ता अन्योलमा परेको एक लगानीकर्ताले बताए ।

नेप्से परिसूचक यस दिन १३ दशमलव ७० अंक घटेर १ हजार २ सय ७ दशमलव २८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ८६ अंक घटेर २ सय ५६ दशमलव ८१ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५४ कम्पनीको ३ हजार ६ सय ४२ पटकको कारोबारमा म्यानुअल टर्नओभरसहित ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३८ रुपैयाँबराबरको २७ लाख २९ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३८ दशमलव २२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको १६ करोड ५६ लाख ४४ हजार १ सय ८० रुपैयाँबराबरको १२ लाख ७४ हजार १ सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ४ सय २५ पटक सेयर कारोबार भएको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव २० प्रतिशत बढेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयरमूल्य यस दिन ५ दशमलव ६३ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये २१ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

आइतबार कारोबारमा आएका अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन अन्य समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक यस दिन १ दशमलव ५९ प्रतिशत घटेको छ ।

त्यसैगरी, जीवन बिमा समूहको परिसूचक १ दशमलव ५८ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव १७ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ७८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलवम ६७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४९ प्रतिशत र होटेल समूहको शून्य दशमलव २७ प्रतिशत घटेको छ ।

 सानिमाको ऋणपत्र
सानिमा बैंक लिमिटेडले कात्तिक ३० गतेदेखि ‘१०% सानिमा डिबेन्चर–२०८५’ निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा ४ करोड रुपैयाँबराबरको ४ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने ऋणपत्रमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको २० हजार कित्ता ऋणपत्र बाँडफाँडपश्चात् ३ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । निष्कासन बन्द छिटोमा मंसिर ४ गते र ढिलोमा पुस १ गते हुनेछ । यस ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ ।

सो अवधिपश्चात् बैंकले यस ऋणपत्रको सावाँ र अन्तिम किस्ताको तिर्न बाँकी ब्याज रकम एकमुष्ट भुक्तानी गर्नेछ । बैंकले वार्षिक १० प्रतिशतका दरले ६/६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए माइनस’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले काठमाडौं क्यापिटल मार्केट, सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

सहयोगीको नाफामा ३०० प्रतिशतले वृद्धि
सहयोगी विकास बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासमा ३ सय प्रतिशतले नाफा वृद्धि गरी ३ जिल्लाका कार्यरत बैंकमध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यस वर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी, बैंकको खुद नाफालाई २२७ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकको खुद नाफा १ करोड २८ लाख ७९ हजार ४४० रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा १ दशमलव २३ प्रतिशतमा झारेको छ ।

त्यस्तै प्रतिसेयर आम्दानी १० दशमलव १२, प्रतिसेयर नेटवर्थ १ सय ४६ दशमलव ४३, मूल्य आम्दानी अनुपात २१ दशमलव ५४, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार दशमलव ९८ रहेको छ । बैंकको तरलता अनुपात प्रतिसेयर ३७ दशमलव ७९ रहेको छ भने सिसिडी रेसियो ६८ प्रतिशत
रहेको छ ।५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पुँजी रहेको बैंकले हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी, ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ । बैंकमा २३ करोड ६४ लाख सञ्चिति कोष रहेको छ । हाल बैंकको कष्ट अफ फन्ड ७.१२ प्रतिशत छ भने बेस रेट १०.११ प्रतिशतमा ल्याउन सफल भएको छ ।

 

तपाईको प्रतिक्रिया