निकै लामो रात - Naya Patrika
eNaya Patrika
  • ePaper

निकै लामो रात

पछिल्लो १५ भागमा यहाँहरूले पढ्नुभयो :
(चार फरक नाम र थर भएका मानिसहरूले काठमाडौंका प्रमुख पत्रिकाहरूमा एकै दिन एकै युवकको फोटोसहित छपाएको ‘मानिस हराएको सूचना’ले ठूलै तरंग ल्याउँछ । चारैजनाले आफ्नो फरक–फरक नाता देखाएर विज्ञापन छपाएका हुन्छन् । सर्वेश्वरराज कोइरालाको छोरा, कामिनी विष्टको श्रीमान्, रामकृष्ण महर्जनको भतिजा र विमलसिंह परियारको भाइ भनिएको त्यस युवकलाई कुनै दुर्गममा एउटा भरियाले खोलामा अचेत अवस्थामा फेला पार्छ । संयोगवश आइपुगेको एउटा हेलिकोप्टरले उसको उद्धार गरेर काठमाडौं ल्याइदिएपछि अस्पतालमा पु-याइएको त्यस युवकमाथि दाबी गर्न चारैजना आइपुग्छन् ।

इन्सपेक्टर विनोद खड्का यो रहस्यको गुत्थी सुल्झाउन चारैजनाको बयान लिन थाल्छन् । पहिलो पालो सर्वेश्वरराज कोइरालाको हुन्छ । ऊ आफ्नो कथा बताउन थाल्छ । त्यसअनुसार ऊ लातभियाको सफल उद्यमी हुन्छ । आफ्नो छोरा लागुऔषधको कुलतमा परिसकेको थाहा पाएर एक दिन ऊ आफ्नो छोरा राजेशलाई घरमा कुरिरहेका वेला उसको कार दुर्घटनामा परेको खबर आउँछ ।

लागुपदार्थको नशामा चुर भएर राजेशले चलाएको कारमासँगै भएकी युवतीको मृत्यु भएको हुन्छ । राजेश बेहोस अवस्थामा हुन्छ । युवती त्यहाँको दुर्दान्त अपराधी दिमित्रिस इभानोभिचकी एक्ली छोरी हुन्छे । दिमित्रिसले राजेश होसमा आउनासाथै उसको ज्यान लिएर आफ्नी छोरीको बदला चुकाउने प्रण गर्छ ।

दिमित्रिससँग जोरी खोज्न नसक्ने हुँदा सर्वेश्वरलाई आफ्नो एक्लो छोराको चिन्ताले सताउँछ । उसले अनेक तिकडम लगाएर राजेशलाई लातभियाबाट गायब पार्छ, दुब्रोम्भिनखको गोप्य सुधारगृहमा उसको लागुऔषध सेवनको उपचार गर्छ र नेपाल आएर उनीहरू लुकेर लो प्रोफाइल बसेका हुन्छन् । अब सर्वेश्वरलाई कतै दिमित्रिसका मानिसहरू काठमाडौं आइपुगेका छन् कि भन्ने शंका हुन्छ । इन्सपेक्टर खड्का त्यसपछि कामिनी विष्टको कथा सुन्न थाल्छ । कामिनीका अनुसार त्यो युवक जनकध्वज विष्ट भ्रमर भावुकको नामबाट लेख्ने कवि हुन्छ । कामिनी उसका कविताका प्रशंसक हुन्छे । एउटा सम्मेलनमा भ्रमर भावुक नेपालगन्ज आएका वेला उनीहरूको भेट हुन्छ । कामिनीले भावुकलाई एक दिन नेपालगन्ज घुमाइदिन्छे । छुट्टिने वेला उनीहरूले फोन नम्बर साटासाट गरेका हुन्छन् ।)

छुट्टिनुअघि उनीहरूले फोन नम्बर साटासाट गरे । भ्रमरलाई भोलिपल्ट बिहानै काठमाडौं फर्किनु थियो । त्यो सम्झेरै उसलाई वैराग लाग्यो । धम्बोजी चोकबाट ऊसँग छुट्टिएर आफ्नो गुँडतिर फर्किरहेकी छायालाई पनि नियास्रो लागिरहेको थियो । छेउको पसलको रेडियोमा बच्चुकैलाशको गीत
बजिरहेको थियो,
‘बहकिँदो मन…तँ बहकी नजा,
मायाको देश कहाँ हो कहाँ,
आश नदेखा ए चञ्चल हावा…’
ऊ सोच्न थाली, कति वर्षअघि कसैले लेखेको र रेकर्ड भएको यो गीत आज उसका लागि कसरी ठ्याक्कै मिल्ने भएको होला ? भ्रमर भावुकलाई भेटेपछि साँच्चै उसको मन बहकिएको थियो । उसलाई थाहा थियो, यसको परिणाम केही हुनेछैन । भ्रमर भावुक काठमाडौं पुग्छ र आफ्नो संसारमा हराउँछ होला । केही दिनमा त उसले छाया विष्ट भन्ने कोही मानिसलाई भेटेको थिएँ भन्ने पनि बिर्सन्छ होला । त्यसैले ऊ पनि गीतले झैँ मनमनै भनिरहेकी थिई, आस नदेखा ए चञ्चल हावा ! तर, उसको मन कहाँ मान्थ्यो र ?

आफ्नो कोठामा पुगेर उसले मन भुलाउने निकै यत्न गरी । किताब पढ्न खोजी, टेलिभिजन हेर्न खोजी, गीत सुन्न खोजी । तर, जे गरे पनि त्यो सबैले कतै न कतैबाट उसलाई भ्रमर भावुक सम्झाइरहे । हार मानेर उसले त्यो निरर्थक प्रयत्न गर्नै छाडिदिई । दिउँसो भएका कुराकानी, भ्रमरले उसलाई हेरेको आँखाको भाका इत्यादिलाई केलाएर हेर्दा उसलाई लाग्यो, सायद भ्रमर पनि ऊप्रति आकर्षित भएको हुनुपर्छ ।

आखिर उसमा के नै कमी थियो र ? ऊ राम्री थिई, पढेलेखेकी थिई, साहित्यिक चेत राम्रो थियो, अनि मुख्य कुरा भ्रमर भावुकको पहिलेदेखिकै प्रशंसक थिई । एउटा मान्छेलाई यतिभन्दा बढी अरू के चाहिन्छ, कुनै युवतीप्रति आकर्षित हुनका लागि ? अचानक उसको फोन बज्यो । ऊ तन्द्राबाट झस्केर मुक्त भई । उसले फोन हेरी । उसको मुटुले मानौँ ढुकढुक गर्नै बिस्र्याे । उसका सासहरू टक्कै रोकिए । फोनको डिस्प्लेमा आइरहेको थियो,
‘प्रिय कवि कलिंग ।’
भ्रमर भावुकको नम्बर उसले प्रिय कवि भन्ने नाममा केही घन्टाअघि मात्र सेभ गरेकी थिई । के गरौँ के गरौँ भन्दाभन्दै चार–पाँचपटक उसलाई बोलाएर फोन शान्त भयो । उसले हतारहतार त्यही नम्बरमा कल गरी । एकै घन्टीमा उताबाट भ्रमर भावुक बोल्यो,
‘हलो…’
उसले भनी, ’कति छिटो काटिदिनुभएको ?’
‘यसो घडी हेरेँ, अबेर भइसकेको जस्तो लाग्यो । डिस्टर्ब गरेँ कि भनेर डर लाग्यो । त्यसैले…’
‘म एघार–बाह्र नबजी सुत्दिनँ ।’
‘उसो भए डिस्टर्ब भएको छैन ?’
‘नाइँ, छैन ।’
‘के गर्नुुहुन्छ त्यति अबेरसम्म ?
टिभी ?’
‘नाइँ । टिभी हेर्ने त्यति धेरै ‘सोख’ छैन । किताबहरू पढ्छु ।’
‘कस्ता किताबहरू पढ्न
रुचाउनुहुन्छ ?’
‘जस्तो पनि । यो ऊ भन्नेछैन । सुरुका दश पेजले तानेन भनेचाहिँ छोडिदिन्छु ।’
केही बेर मौनता छायो । भ्रमरले सोध्यो,
‘त्यसरी छोडेकामा मेरा कुनै संग्रह पनि छ ?’
बेडमा पुल्टुंग पल्टेर छायाले भनी,
‘तपाईंका प्रकाशित सातवटै कवितासंग्रह मैले सायद सयौँपटक दोहो-याएकी छु । कुन संग्रहमा कतिवटा कविता छन्, तिनका शीर्षक के–के हुन् र कुन पृष्ठमा कुन हरफ छ भन्ने पनि मलाई कण्ठै छ ।’


‘साँच्चै ?’
‘म झुट बोल्छुजस्तो लाग्यो ?’
‘मैले त्यसो भनेँ र ?’
‘नपत्याए परीक्षा लिन सक्नुहुन्छ ।’
‘हो त ?’
‘हो ।’
एकछिन केही सोचेजसरी मौन भयो भ्रमर भावुक । अनि उसले घाँटी सफा गर्दै भन्यो, ‘ल त्यसो हो भने भन्नुस्, मेरो चौथो कवितासंग्रहको नाम के हो ?’
हाँस्दै छायाले चुनौती दिई, ‘प्रश्न स्पष्ट पार्नुहोस् कवि महोदय ! चौथो प्रकाशित संग्रह कि, लेखेकोचाहिँ चौथो ? किनभने, मैले कतै कुनै अन्तर्वार्तामा पढेकी थिएँ, तपाईंको लेखिएको चौथो संग्रह तीन वर्षसम्म त्यसै रह्यो । पाँचौँचाहिँ पहिले प्रकाशित भयो, चार नम्बरमा ।’

भ्रमर भावुक चमत्कृत भएको थियो । ऊ बोल्न सकेको थिएन । छायाले नै भनी, ‘लेखिएर बसेको संग्रहको नामचाहिँ ‘बरफको तातो’ हो । त्यसमा सत्ताइसवटा कविता छन् । छापिएको चौथो, जुन लेखनको हिसाबले पाँचौँ हो, त्यसको नाम ‘आकाश अँगाल्ने रहरहरू’ हो । त्यसमा बत्तीस कविता छन् । मैले ठीक भनेँ ?’

छायालाई उसको अन्तिम दुई शब्दले रोमाञ्च भयो । उसको शरीरभरि काँडा उम्रेजस्तो भयो । छोएर हेर्ने ? कस्तो हुन्छ होला त्यो स्पर्श ? के भन्न खोजेको होला भ्रमरले । ऊ केही बोल्न सकिन । भ्रमरले भन्यो, ‘माफ गर्नुहोला छाया । मैले केही गलत आशयले कुनै कुरा भन्न खोजेको होइन । तपाईंलाई सायद नराम्रो लाग्यो क्यारे ।’

भ्रमर भावुक साँच्चै नै भावुक भयो । कसैले आफ्ना कृतिहरूसँग यति विधि प्रेम गर्न सक्छ भन्ने कुरा उसका लागि सुखद हुने नै भयो । छायाले फेरि भनी,
‘सबै कविताका शीर्षक पनि भन्न सक्छु । पालैपालो सबै सुनाउन पनि सक्छु ।’
‘भयो भयो । मलाई विश्वास भयो । तर, मलाई लागिरहेछ, म कुनै सपना देखिरहेको छु ।’
‘मलाई पनि तपाईंसँग साँच्चै भेटेकी हुँ, पूरै दिन तपाईंसँग बिताएकी हुँ भन्ने कुरा सपनाजस्तो नै लागिरहेको छ ।’
भ्रमरले गम्भीर स्वरमा सोध्यो,
‘यी दुवै कुरा के साँच्चै सपना त हैनन् ?’
‘तपाईंलाई के लाग्छ ?’ छायाले प्रतिप्रश्न तेस्र्याई ।
‘मलाई थाहा छैन । म भन्नै सक्दिनँ ।’
‘त्यसो भए, कसरी निक्र्योल गर्ने
त ?’ उसले फेरि अर्को प्रश्न गरी ।
केही बेर सोचेर भ्रमरले भन्यो, ‘एउटै तरिका छ ।’

‘के तरिका ?’
‘एकपटक फेरि भेट्ने । अनि ध्यान दिएर एक–अर्कालाई हेर्ने । सुन्ने…….एकपटक छोएर हेर्ने ।’
छायालाई उसको अन्तिम दुई शब्दले रोमाञ्च भयो । उसको शरीरभरि काँडा उम्रेजस्तो भयो । छोएर हेर्ने ? कस्तो हुन्छ होला त्यो स्पर्श ? के भन्न खोजेको होला भ्रमरले । ऊ केही बोल्न सकिन । भ्रमरले भन्यो, ‘माफ गर्नुहोला छाया । मैले केही गलत आशयले कुनै कुरा भन्न खोजेको होइन । तपाईंलाई सायद नराम्रो लाग्यो क्यारे ।’

हतारिँदै छायाले भनी,
‘होइन होइन । त्यस्तो नसोच्नुस् ।’
अलि आश्वस्त भएको भावमा भ्रमरले भन्यो,
‘मेरो फ्लाइट भोलि बिहान एघार बजेको हो । दश बजे एयरपोर्ट पुग्ने समय । तपाईं चाहनुहुन्छ भने म नौ बजे नै पुग्न सक्छु ।’

केही सोच्दै नसोची छायाले प्वाक्क भनी,
‘तपाईं त पाँचै बजे उठ्ने मान्छे, के गर्नुहुन्छ नौ बजेसम्म ? आठै बजे किन पुग्न सक्नुहुन्न ?’
भ्रमर भावुक निकै बेर केही बोलेन । छायालाई लाग्यो, कतै लाइन नै काटिएको त हैन ? त्यही वेला भ्रमरले गम्भीर स्वरमा भन्यो,
‘ठीक भन्नुभो । के गर्नु त्यत्रो बेर ? म साढे सातै बजे पुग्छु ।’
छायाले मुसुक्क हाँस्दै भनी,
‘गुड नाइट ।’
अनि उसले लाइन काटिदिई । के गरौँ के गरौँ झैँ एकछिन सोची, खाटमा उत्तानो परेर सिलिङतिर हेरिरही । तकियालाई अँगालो मारेर एक्लै हाँसी । आफैसँग लजाई र बत्ती निभाइदिई । उसलाई थाहा थियो, आजको रात पनि निद्रा आउनेछैन । कुन वेला भाले बास्ला भनेर कोल्टे फेर्दाफेर्दै बित्नेछ यो लामो, निकै लामो रात !
क्रमश…

तपाईको प्रतिक्रिया