शैलेन्द्र साकारका पाँच स्मृति : मण्डलेहरूले बोरामा हालेर बागमतीमा बगाउनुपर्छ भने - Naya Patrika
eNaya Patrika
  • ePaper

शैलेन्द्र साकारका पाँच स्मृति : मण्डलेहरूले बोरामा हालेर बागमतीमा बगाउनुपर्छ भने

२००३ सालमा भोजपुर बजारमा जन्मेका शैलेन्द्र साकार ‘कोलाज’, ‘कालपात्र र अरू’, ‘सर्पहरू गीत सुन्दैनन्’, ‘शैलेन्द्र साकारका कविता’, ‘नांगो तार’, ‘कवितामा अमेरिका’ जस्ता कृतिका लेखक हुन् । साकारका पाँच स्मृति उनकै शब्दमा :

छोराले आत्महत्या गरेको खबरले होस उड्यो
पाँच वर्षअघिको एउटा घटना, जसले मेरो जीवनलाई नजिकबाट दुखाएर गयो । जेठो छोरो पढाइमा एकदमै राम्रो थियो । शारीरिक रूपमा पनि सुगठित । ०५५ सालमा पढ्नका लागि अमेरिका गएको थियो । त्यहाँ कम्प्युटर साइन्स पढ्यो, एउटा अफिसमा मेनेजरको पोस्टमा काम ग-यो । पैसा पनि धेरै कमायो । ठूलो गाडी र घर किन्यो । विवाह ग-यो । उसको प्रगतिले परिवार पनि खुसी थियो । एउटा प्रतिष्ठित कम्पनीमा डाइरेक्टरको काम पाएछ । अत्यन्तै खुसी भएर मलाई फोन ग-यो ।

उसले अमेरिकामै ‘कम्प्युटर इन्फर्मेसन सिस्टम’ पढेको थियो । उसले आफ्नो विषयमा युनिभर्सिटी टप गरेको थियो । १२ हजार डलर मासिक तलबमा नियुक्त भएको रहेछ । विडम्बना ! छोरो डिप्रेसनको सिकार भएछ । हामी अमेरिकाबाट नेपाल फर्केको एक वर्ष पनि भएको थिएन ।

अमेरिकामै ख्याति कमाइरहेको छोरालाई ‘यतै आइज’ भन्न पनि सकेनौँ । डिप्रेसनको अन्तिम चरणमा पुगेपछि बिरामी बिर्सने समस्याबाट ग्रसित हुँदारहेछन् । उसले आफूले पढेको बिर्सन थालेछ । मैले मनोरोग विशेषज्ञकोमा जान सुझाब दिएको थिएँ । तर, उसले आफैँलाई गोली हानेर प्राण त्यागेछ । छोरोले आत्महत्या गरेको खबरले मेरो होस उड्यो । त्यसपछि ‘जीवनमा दुःख मात्रै छ, कुनै सुख छैन, केही गर्नुको कुनै अर्थ छैन’ भन्ने अनुभूति मेरो मनमा गढेर बसेको छ ।

पुलिसको  विश्वास हटेको दिन
०३७ सालतिरको कुरा हो । म कृषि विकास बैँकमा जागिरे थिएँ । सरुवा भएर सुनसरीको हरिनगरस्थित भुटाहा भन्ने ठाउँमा मेनेजर पोस्टमा गएँ । त्यहाँ डाँकाहरूको बिगबिगी थियो । हरेक दिन उनीहरूले गरिबको घरमा आगो लगाइदिन्थे । त्यहाँको पुलिसथाना हेर्ने चिफले एक दिन मलाई भन्यो, ‘ए मेनेजर साहेब, किन डराएको तपाईं ? मैले डाँकुहरूसँग कुरा गरिसकेको छु । तपाईं र म यहाँबाट भागौँ । डाँकुहरूले तपाईंको बैँक लुट्छन् । हाम्रो पुलिसलाई म भन्छु, तपाईं र म मिलौँ । हाम्रो भाग आइहाल्छ । बैँकबाट जति पैसा लुट्छन्, त्यो हामी बाँडौँला ।’ म त झसंग भएँ, सातो उड्यो । म त्यस्तो गर्न नमानेर विरानगर आएर बसेँ । त्यो घटनापछि मलाई पुलिसको विश्वास लाग्दैन ।

बुट पालिस आन्दोलन
मेरो स्मृतिमा बुट पालिस आन्दोलन ताजै छ । ०३१ सालमा न्युरोडमा बसेर बुट पालिस ग¥यौँ । कविताराम, म, ध्रुव सापकोटा र मोहन घिमिरेसहित चारजना त्यो अभियानमा जुट्यौँ । दीपक जोशी पनि हाम्रो पछिपछि हिँड्थे । ‘बुट पालिस अभियान’ लेखेर बोर्ड टाँस्यौँ । प्रचार पनि धेरै भयो, हल्ला पनि त्यत्तिकै भयो । बालकृष्ण समलगायतका लेखकहरू बुट दिन आए । पछि नारायण ढकाल, भाउपन्थीहरू पनि आएर सहयोग गरे । पञ्चायती व्यवस्था थियो । एक दिन हामी चिया पिउन निस्किएका थियौँ । त्यही वेला सादा पोसाकका पुलिसले हाम्रो ब्यानर लगिदियो । ब्यानर मात्र लगेनन्, हामीलाई पिटे पनि । त्यस अभियानको उद्देश्य काम कुनै सानो हुदैँन भन्ने सन्देश दिनु थियो ।

मण्डलेहरूले भने : यिनीहरूलाई बोरामा हालेर बागमतीमा बगाउनुपर्छ
राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरेका थिए । काठमाडौंको सडकमा जुलुुुस र सभा थियो । मान्छेमा परिवर्तनको आशा थियो । मैले नेतृत्व त लिइनँ, तर बहुदलका पक्षमा सबै काम गरेँ । सबैभन्दा धेरै त्यसैमा लागेर हिँड्नेमा भवानी घिमिरे, मोहन कोइराला र हरिभक्त कटुवालजस्ता ठूला कवि थिए । त्यही वेलाको एउटा डरलाग्दो घटना मेरो सम्झनामा आइरहन्छ । हामीले जावलाखेलमा कविता भनिरहेका थियौँ । पञ्चायतका मण्डले कविता वाचन भइरहेको ठाउँमा आएर भने, ‘यिनीहरूलाई बोरामा हालेर बागमतीमा बगाउनुपर्छ ।’ पछि त्यहाँ ठूलो भीड जम्मा भयो । भवानी दाइले भाषणमै भने, ‘हामीलाई बोरामा हालेर बागमतीमा बगाउने भएका छन् ।’ त्यो कुरा भाषणमै भन्दिएपछि सब दर्शक उर्लिए । त्यो कुराको भत्र्सना गरे । सर्वत्र विरोध हुन थालेपछि मण्डलेहरू त्यहाँबाट कुलेलम ठोके । हामीलाई बोरामा खाँद्न आएका उनीहरू आफैँ आत्तिएर भागे ।

‘अस्वीकृत जमातको सुरुवात
त्यसवेला म र दाइहरू वसन्तपुरको डेरामा बस्थ्यौँ । ओखलढुंगाका कविताराम आए, हामीसँगै बस्न । त्यसपछि हामीले ‘अस्वीकृत जमात’ भन्ने अभियान सुरु ग-यौँ । त्यतिवेला कलकत्तामा ‘हंग्री जेनेरेसन’को खुब नाम थियो । त्यसमा जोडिएका कविहरू काठमाडौं आएका थिए । उनीहरू बासु शशीकोमा बसेका थिए । बासु शशीले मलाई बोलाए । ‘कवितामा सत्य लेख्न सकिँदैन भने किन लेख्नुप-यो, जिरा–मरिच पसल खोले भैगो नि’ भने उनीहरूले । यो कुराबाट प्रभावित भएर नै ‘अस्वीकृत जमात’ सुरुवात ग-यौँ । हामीले अब राजा महाराजा, ठूलाबडाको जीवनी होइन, गरिब, दुःख पाएका र साधारण मान्छेका कुरा लेख्ने भनेर सुरु ग-याै‌ । साहित्यमा राक्षस, भगवान्को कुरा लेख्ने होइन, मान्छेको पुनस्र्थापना हुनुप-यो भनेर अभियान सुरु गर्नेमा कविताराम, म, रमेश श्रेष्ठलगायत थियौँ ।

 

 

तपाईको प्रतिक्रिया