फरकको नाममा झुर लेखेर हुँदैन : भानु बोखिम - Naya Patrika
eNaya Patrika
  • ePaper

फरकको नाममा झुर लेखेर हुँदैन : भानु बोखिम

नेपालको पूर्वी ताप्लेजुङमा जन्मेका पत्रकार भानु बोखिम एन्टेना फाउन्डेसन नेपाल हुँदै हाल शिक्षक मासिकमा आबद्ध छन् । ‘रुमानी साँझ’ कथासंग्रहका लेखकसमेत रहेका बोखिमसँग गरिएको लेखक संवाद :

तपाईं किन लेख्नुहुन्छ ?
मैले लेख्नुमा आत्मसन्तुष्टि र सामाजिक दायित्व दुवै जोडिन्छन् । यी दुईवटामा पनि पहिलो कारणचाहिँ सन्तुष्टि नै हो । मानिसले आफूले देखेका, भोगेका वा भोगाइले निर्मित सोच वा परिकल्पनालाई अभिव्यक्त गर्न खोज्दोरहेछ । अभिव्यक्तिको माध्यम व्यक्तिको रुचि र क्षमताअनुसार फरक–फरक हुन्छ । अभिव्यक्त गर्न पायो भने व्यक्ति सन्तुष्ट हुन्छ र पाएन भने गुम्सिन्छ । आफू गुम्सिनबाट जोगिनलाई मैले अभिव्यक्त गर्ने माध्यम लेखन हो । सामाजिक दायित्व कतिपय अवस्थामा सहउत्पादन पनि हो । किनकि, समाजको विषयवस्तु उठाएपछि त्यसले समाजलाई कुनै न कुनै रूपमा प्रभाव पार्न सक्छ र लेखाइ सामाजिक दायित्व बन्न पुग्छ ।

कुन समय र अवस्थामा लेख्नुहुन्छ ?
प्राय साँझ नै लेख्छु । कहिलेकाहीँ दिउँसो पनि लेख्छु । तर, बिहानचाहिँ लेख्दिनँ । किनकि, ढिलो उठ्ने बानी छ । तर, लेख्दाचाहि म पहिले शीर्षक सोच्छु । अनि कथामा यस्ता यस्ता घटनाहरू समावेश गर्छ‘ भनेर बुँदाहरू लेख्छु । बुँदा र शीर्षकसहितको टिपोट ल्यापटपमा धेरै समयसम्म थन्किन्छन् पनि । मुड चलेको वेला फेरि ल्यापटप खोलेर लेख्छु । अनि म हरेक कथालाई पुनर्लेखन गर्छ‘ । पुनर्लेखनका क्रममा केही नयाँ घटना थपिन सक्छन् । साथै, शीर्षक पनि फेरिन सक्छ ।

विषयको अनुसन्धान गरेर लेख्नुहुन्छ कि कुनै विषयले छोएपछि लेख्नुहुन्छ ?
खासमा कुनै विषयले छोएपछि लेख्ने प्रयास गर्छ‘ । त्यसका लागि केही कुरा बुझ्ने कोसिस गर्छ‘ । बुझ्ने कोसिसलाई अनुसन्धान पनि भन्न मिल्ला तर त्यो अनुसन्धान कुनै ‌औपचारिक अनुसन्धानजस्तो भने हुँदैन  । कुनै विधि वा तौरतरिका प्रयोग गरेर खोज्दिनँ । चरित्रचित्रणमा भने ध्यान दिने गर्छ‘ । सामान्यतया साँझ लेख्ने भएकाले एकान्त अवस्था नै रोज्छु । धेरै होहल्ला भएन भने जहाँ पनि लेख्न सक्छु ।

लेखनमा आफ्नै शैली र भाषा कसरी निर्माण गर्नुहुन्छ ?
पुस्तक पढ्दा दुई खालको शैली पाउँछु । कोही अति छोटो लेख्छन् अनि कोही अति लामो । तर, यी दुवै शैलीको सम्मिश्रणचाहिँ उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ । तसर्थ, म यही शैलीमा लेख्ने कोसिस गर्छ‘ ।
तपाईंको ‘रुमानी साँझ’ कथासंग्रहबाट पाठकले के अपेक्षा गर्न सक्छन् ?
यो साहित्यिक कृति हो । निश्चय नै यसमा समाजका घटनामा आफ्ना अनुभूति र विचारहरू जोडिएर आएका छन् । त्यसैले कुनै औपचारिक अनुसन्धानबाट प्रकाशित पुस्तकले जस्तो यी यी चिज पाइन्छ भन्न त गाह्रो हुन्छ यो पुस्तकमा । तर, मैले समाजको विविधता र त्यस विविधताको परिदृश्यमा बाँचेको जीवन, जीवनले देखेका सपना अनि सपनासँगै जेलिएका सुख–दुःखलाई चित्रण गर्ने कोसिस गरेको छु । दुःखको कारणलाई पर धकेल्ने कोसिस गर्न‘पर्छ तर जीवनको यथार्थबाट भागेर हुँदैन । यथार्थलाई आत्मसात गरेर मात्र सहजसँग बाँच्न सकिन्छ । योभित्रका अधिकांश कथाको सारले यही सोचलाई प्रवाह गर्ने कोसिस गरेको छ ।

आख्यान लेखनको आफ्नै अनुभवका आधारमा केही टिप्स ?
सुरुसुरुमा लेख्दा चाँडै अरूले चिनून् वा ‘नोटिस’ गरून् भन्ने लाग्दोरहेछ । मलाई पनि त्यस्तै लाग्थ्यो । त्यसका लागि फरक ढंगले लेख्नुपर्छ भन्ने लाग्दोरहेछ । फरक ढंगले लेख्ने क्रममा कहिलेकाहीँ मनगढन्ते लेखिने वा फरक भए पनि मन नछुने खालको हुन्छ । यस्तो लेखनको खासै महत्व हुँदैन रहेछ । तसर्थ, लेख्नुअघि धेरै अध्ययन गर्न जरुरी छ । त्यो अध्ययन भनेको प्रकाशित किताब पढ्नु मात्र होइन । जीवन पढ्नु हो । जीवन पढ्नु भनेको समाज पढ्नु हो । तसर्थ, अध्ययन गरौँ अनि भाषाशैली राम्रो बनाएर लेखौँ । राम्रो लेख्नु जरुरी छ तर फरकको नाममा झुर लेखेर कसैले वास्ता गर्दैन ।

तपाईको प्रतिक्रिया