तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले राजा महेन्द्रलाई यस्तो चिठी लेखे - Naya Patrika
eNaya Patrika
  • ePaper

तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले राजा महेन्द्रलाई यस्तो चिठी लेखे

नेपालमा हस्तक्षेप गर्ने कुनै अभीष्ट थिएन, तर…

१० माघ, २०१७

प्रिय साथी,
पुस २ गतेको चिठ्ठी जुन महाराजधिराजले मलाई अत्यन्तै मेहरबानी गरेर पठाउनुभएको थियो, लगभग एक महिनाभन्दा अलि अगाडि नै प्राप्त भयो । तपाईंंकै सल्लाहअनुसार, मैले हाम्रो राष्ट्रपतिज्यूलाई पनि पत्रको अन्तर्वस्तुबारे सूचित गरेको छु ।

पत्रको जवाफ लेख्न ढिलो भएकोमा म क्षमाप्रार्थी छु । पहिलो कुरा, पत्रमा तपार्इं आफैँले प्रसन्नतापूर्वक चाल्नुभएको शाही कदमबारे सूचना दिन खोज्नुभएको हुनाले त्यस अवस्थामा कुनै विशेष प्रकारको जवाफ लेखिहाल्नहुन्थ्यो वा हुँदैनथ्यो भन्ने कुरामा म बिल्कुलै अन्योलमा थिएँ र मौजुदा परिस्थितिमा म तपार्इंलाई के लेखूँ भन्ने कुरामा अत्यन्तै अस्पष्ट पनि ।

पछि थाहा पाएँ कि महाराजधिराजले नयाँ सरकार गठन गर्दा मन्त्री पदमा नियुक्त गर्नुभएका डा. तुलसी गिरी मलाई भेट्न भारत आउँदै हुनुहुन्छ । अनि मैले तपाईंको पत्रको जवाफ लेख्नुभन्दा पहिले उहाँको आगमन र उहाँसँग हुने संवादका लागि केही समय पर्खिने निर्णय गरेँ ।

मैले डा. तुलसी गिरीलाई माघ २० गते भेटेँ र उहाँसँग करिब दुई घन्टा लामो छलफल भयो । संवादका क्रममा डा. गिरीले वर्तमान परिस्थितिबारे तपाईंको दृष्टिकोणका सम्बन्धमा मलाई जानकारी गराउनुभयो । साथै, मैले पनि आफ्नो व्यक्तिगत धारणा उहाँलाई व्यक्त गरेँ । हाम्रो दुई सरकारबीचका केही आसन्न मामिलाबारे पनि हामीले छलफल ग‍-यौँ । मलाई के अनुमान छ भने डा. तुलसी गिरीलाई मैले जे भनेँ त्यो तपाईंलाई अवगत गराउनुहुनेछ । फेरि पनि, उहाँसँग छलफल भएका विषयवस्तुका सम्बन्धमा मैले तपाईंलाई लेख्न पाउने स्वतन्त्रताको उपयोग गर्दै छु र म सबै ऋजुतामा यस्तै गर्छु किनभने हामीले एक–अर्कासँग निष्कपट र मित्रवत् व्यवहार गरेनौँ भने यो तपाईंका लागि साथसाथै मेरा लागि पनि अनुचित हुनेछ ।

सबभन्दा पहिला, मैले राष्ट्रिय र केही हदसम्म अन्तर्राष्ट्रिय समस्याका लागि मेरो मौलिक दृष्टिकोणबारे प्रस्ट पार्नुपर्छ । यी दुइटा विषय धेरै हदसम्म जोडिएको हुन्छ र एकले अर्कालाई प्रभावित गर्छ । म अहिले ७१ वर्षभन्दा बढी उमेरको भइसकेको छु । सन् १९१२ मा जब म क्याम्ब्रिजमा आफ्नो अध्ययन सकेर बेलायतबाट फर्केँ अनि मलाई न्यायालयका लागि आमन्त्रण गरियो ।

यहाँसम्म कि म बेलायत हुँदा पनि राजनीति र आर्थिक मुद्दाहरू, अन्तर्राष्ट्रिय मामिलाहरू र विशेषगरी भारतको स्वतन्त्रतामा अत्यधिक दिलचस्पी राख्थेँ । यहाँ फर्किसकेपछि मलाई स्वतन्त्रताका लागि भारतीय संग्राममा सामेल गराइयो । केही वर्षपछि जब माहात्मा गान्धी हाम्रो महासंग्रामको नेता हुनुभयो र वास्तवमा जसरी यस देशका लाखौँ जनसमुदाय, मेरा बुबा र बाँकी हाम्रो सम्पूर्ण परिवार उहाँसँग सम्मिलित भयो, त्यसरी नै म पनि उहाँसँग अन्तरात्माले संलग्न भएँ । त्यसपछि मेरो जीवन ३० वर्षका लागि उक्त महान् संघर्षको एउटा सानो हिस्सा बनेर बित्यो । यहाँसम्म कि मेरो पारिवारिक जीवनसँग सम्झौता गरेरै भए पनि म निरन्तर रूपमा यसमा तल्लीन भइरहेँ ।

निःसन्देह, जेलमा उहाँहरूसँगको लामो अवधिको बसाइ र अरू वेलामा मेरो जीवनको अत्यन्त व्यस्त सक्रियताजस्ता अन्य सबै अनुभवको मेरो जीवनमा एउटा शक्तिशाली प्रभाव थियो र मलाई सशक्त बनायो । मैले सोचेँ र लेख्ने पढ्ने गरेँ । यसबारे मेरा केही पुस्तकले के व्याख्या गर्छन् भने म ती प्रभावमा कसरी हुर्के–बढेँ र कस्तो अनुभूति गर्थेँ । मेरा गतिविधिहरूमा प्रकट भएजस्तै जेलभित्रका एकांकीपनले गर्दा मेरा पछिल्ला अवधारणाले एउटा दृढ आकार ग्रहण ग-यो । मलाई लाग्दछ कि मेरो चरित्र राम्रो वा खराबका लागि जे भए पनि त्यस्ता विविध अनुभवबाट निर्माण भयो जुन मैले जीवनमा भोग्नुपरेको थियो ।

लगभग दुई वर्षअगाडि, मैले लेखेका र प्राप्त गरेका केही पुराना चिठीपत्रलाई समाविष्ट गरेर एउटा किताब प्रकाशन गरेको थिएँ । ती चिठीपत्रलाई पढेपछि, म के जानकारी पाएर आश्चर्यचकित भएँ भने कसरी मेरो सोच ३०–४० वर्षपहिले व्यापक रूपले उस्तै थियो जस्तो यो आज छ । यद्यपि, त्यस वेलादेखिकै तरह–तरहका तौरतरिकामा पनि मलाई कुनै शंका उत्पन्न भएन । यस प्रकारको सोचले मलाई लोकतन्त्र र साधारणतः के भन्न सकिन्छ भने जतिसक्दो समानता सम्भव हुने समाजको समाजवादी संरचनाप्रति मलाई अविचल आस्थावान् बनाइदियो ।

म सम्पूर्ण सामन्ती विशेषाधिकारको विरोधी भएँ । साथै, व्यापार–व्यवसाय र उद्योगको क्षेत्रमा व्यक्तिगत रूपले अत्यधिक धन सञ्चित गर्ने सोचको पनि उत्तिकै विरोधी भएँ । यी सबै मलाई असमाजिक तथा विशेषगरी अशिष्ट लाग्थ्यो । अझ, मेरो आफ्नो विचारको अतिरिक्त मैले के महसुस गर्न थालेँ भने परिवर्तनका लागि संसारमा धेरै शक्तिशाली ताकतहरूले काम गरिरहेका थिए र अन्ततोगत्वा तिनीहरूलाई अवरोध गर्न सकिँदैनथ्यो । परिवर्तन शान्तिपूर्वक अथवा हिंसात्मक संघर्षपछि आउन सक्छ । तर, गान्धीजीसँगको मेरो सम्पर्कले मलाई एउटा महान् राष्ट्रवादी संघर्षजस्तो संग्राममा पनि शान्तिपूर्ण तरिकाहरू अनि लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने एक अविचलित आस्थावान् मानिस बनाइदियो ।

त्यही पृष्ठभूमि र प्रशिक्षणको साथले हो, १३ वर्षपहिले मैले भारत सरकारमा प्रधानमन्त्रीको हैसियतले पदभार ग्रहण गरेँ । त्यसपछि मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै समस्यासँग सरोकार राख्नुप-यो । म कति सफल भएँ वा भइनँ, यसको आकलन निर्णय गर्नेका लागि इतिहास छ र अरू छन् । म आफैँलाई थाहा छ, धेरै सन्दर्भहरूमा म असफल भएको छु । तर, ती आदर्शहरू सधैँ मेरो सामुन्ने अविचल रूपले उभिरहे र म तिनीहरूकै अनुसार काम गर्ने कोसिस गरिरहेको छु । यद्यपि मलाई थाहा छ, धेरैजसो समयमा आफ्नै आदर्शमा बाँच्न पनि गा‍ह्रो हुन्छ । अन्तर्राष्ट्रिय मामिलाको सम्बन्धमा गुटनिरपेक्षता, तटस्थताको हाम्रो नीति मौजुदा परिस्थिति र व्यावहारिक रूपले उनीहरूको नजिक हुनुपर्ने कारणले गर्दा मात्र थिएन, बरु मैले जुन माथि उल्लेख गरेका अत्यन्त गहन विचार छन्, त्यसमा आधारित थियो र मलाई विश्वास छ ती विचार मूल रूपले भारतको भावनासँग मेल खान्छ ।

हाम्रो स्वतन्त्रतापछिका सुरुवाती दिनमा, नेपालबारे के गर्ने भनेर प्रश्न हामीसामु आयो । यद्यपि त्यस समयमा नेपाल एउटा स्वतन्त्र राज्य भए पनि व्यावहारिक रूपले आफ्नो वैदेशिक–सम्बन्धको मामिलामा ब्रिटिश शक्तिद्वारा संकुचित र परिसीमित गरिएको थियो । बेलायती राजदूतले काठमाडौंमा महत्वपूर्ण भूमिका खेल्थ्यो र उसका केही गतिविधिका कारणले गर्दा उसलाई भारतमा भाग्नुप-यो भन्ने कुरा मलाई तपाईंको श्रद्धेय बुबा र त्यस वेलाका राणा प्रधानमन्त्रीले सुनाउनुभएको थियो । हामी नेपाल हामीसँग मित्रवत् सम्बन्ध भएको एउटा अविच्छिन्न स्वाधीन र आत्मनिर्भर देश होस् भन्ने चाहन्थ्यौँ जुन प्राकृतिक र स्वाभाविक पनि थियो । त्यसकारण, हामीले पूर्ण स्वाधीनताको तथ्यलाई तत्कालै स्वीकार ग-यौँ ।

नेपालमा हाम्रो सरोकार भनेको यसको स्वाधीनतामा मात्र थियो जुन हाम्रो प्रचलित नीतिबाट पनि प्रस्ट हुन्छ । ठीक त्यही समयमा हामीले के महसुस ग-यौँ भने विगतका इतिहास, संस्कृति र भूगोलले नेपाल र भारतलाई अविच्छिन्न रूपले एक–अर्काको नजिक बनाएको छ र केही विषयवस्तुमा मुख्यतः वैदेशिक मामिला र सुरक्षासँग सम्बन्धित विषयमा हामीले आपसी परामर्शका माध्यमले गहिरो सम्बन्ध बनाइराख्नुपर्छ । यो दुवै देशको आपसी हितका लागि थियो र स्वाभाविक रूपमा हाम्रो चाहना पनि थियो कि नेपालले राजनीति र आर्थिक दुवै क्षेत्रमा विकास गरोस् र लोकतान्त्रिक समाजका रूपमा अघि बढोस् ।

नेपालसँग हाम्रो पहिलो सन्धि पुरानो राणा प्रधानमन्त्रीसँग भयो । यद्यपि, त्यस वेलाको नेपाल सरकारको राजनीति र आर्थिक रूपरेखासँग हामी बिल्कुल असहमत थियौँ, तर हामीले हस्तक्षेप गर्न उचित ठानेनौं । केही पछि तपाईंका श्रद्धेय बुबा उदारवादी हुनुहुन्थ्यो भन्ने थाहा पाएर हामी
खुसी थियौँ ।

त्यसपछि नेपालमा केही आन्तरिक समस्या उत्पन्न भए । महाराजधिराज, तपाईंको बुबा, भारतका लागि प्रस्थान गर्नुभयो । वास्तवमा, उहाँ एउटा नयाँ उदारवादी शक्तिको नेताका रूपमा देखिनुभएको थियो । हामीले उहाँलाई यहाँ एउटा सम्मानित अतिथिका रूपमा स्वागत ग-यौँ । जब नेपालमा परिस्थिति बिग्रन थाल्यो राणा प्रधानमन्त्री हामीकहाँ आउनुभयो र समाधान खोज्न हस्तक्षेप गरिदिनुप-यो भनी आग्रह गर्नुभयो । हामी सम्भावित गृहयुद्ध रोक्न र राजाको नेतृत्वमा एउटा स्थिर एवं प्रगतिशील सरकार बनाउनका लागि सहयोग गर्न उत्सुक थियौँ । हाम्रो परामर्शको परिणाम स्वरूप त्यहाँ झगडा रोकियो, राजा नेपाल फर्किनुभयो र नयाँ सरकारको स्थापना भयो ।

त्यो एउटा संयुक्त सरकार थियो । सुरु गर्नका लागि राणा प्रधानमन्त्रीकै निरन्तरता रह्यो । तर, पछि उहाँलाई निरन्तरता दिइरहन सम्भव भएन । त्यसउप्रान्त त्यहाँ बारम्बार सरकार परिवर्तन भइरह्यो र कहिलेकाहीँ त्यहाँ मन्त्रिमण्डल नै हुँदैनथ्यो , तर सधैँ उद्देश्य र सार्वजनिक अभिव्यक्ति लोकतान्त्रिक संरचना, आवधिक निर्वाचन र केही प्रकारको संसदीय सरकारप्रति लक्षित हुन्थ्यो । नेपालमा धेरै प्रतिकूलताको सामना गर्नुप-यो । त्यसमा प्रमुख थियो प्रशिक्षित कर्मचारीको अभाव । जबजब हामीलाई आग्रह गरियो, हामीले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने अभीष्टबेगर नै सहयोग गर्ने प्रयास गरिरह्यौँ । हामीले दुःखका साथ के हेर्नुप-यो भने स्थायित्व कहिल्यै आएन, बरू बारम्बार परिवर्तन भइरहने अस्थिर सरकारहरूले निष्प्रभावी एवं अक्षम ढंगले कार्य गरिरहे ।

त्यसपछि महाराजधिराज (तपाईं) गद्दीमा आसीन हुनुभयो । उचित संविधान बनाउने, निर्वाचन गराउने र प्रजातान्त्रिक सरकार नियुक्त गर्ने तपाईंको निर्णय सुनेर हामी खुसी थियौँ । हामीलाई के विश्वास भयो भने यो नै एउटा उपयुक्त निकासको दिशा थियो, होइन भने अस्थिरताले हानिकारक रूपले निरन्तरता पाइरहनेछ । तपाईंले आफ्नो जनतालाई दिनुभएको वचन पूरा गर्नुभयो र निर्वाचन गराउनुभयो र त्यसपश्चात् मतादेशअनुसारको सरकार गठन गर्नुभयो । यो दुई वर्षपहिलेको कुरा हो । आइपरेका सम्पूर्ण समस्यालाई मध्यनजर गर्दा त्यो मतदान पूर्ण रूपले सफल थियो जसको परिणाम स्वरूप अत्यधिक बहुमतका साथ एउटा बलियो राजनीति पार्टीको उदय भयो ।

मौसुफलाई सम्झना होला, मैले कैयौँपटक तपाईंलाई भनेको पनि थिएँ कि नेपालमा मुख्यतः दुइटा मात्र स्थिर तत्वहरु थिए भनेर । पहिलो, राजा र दोस्रो, नेपाली कांग्रेस जो जनताको लोकप्रिय समर्थन पाएको एउटा मात्रै व्यवस्थित राजनीतिक दल थियो । नेपाल अत्यन्त अल्पविकसित देश थियो र त्यस्ता प्रतिकूल अवस्थाहरूमा दुइटैमध्ये अन्य कुनै पनि विषयले आफ्नै बलबुताले मात्र सफल हुन सक्दैनथ्यो । त्यसकारण यो कुरा मलाई के अत्यावश्यक लाग्यो भने दुईटै स्थिर शक्तिहरूले एक–अर्कासँग पूर्ण रूपले सहकार्य गर्नुपर्छ । होइन भने यसको विकल्प भनेको अग्रगमनको अभाव र अस्थिरताको निरन्तरता मात्र हुन्थ्यो ।

म यसमा विशेष जोड दिँदै छु किनभने मलाई के डर छ भने यी दुवैबीच टसल नेपालका लागि हानिकारक सिद्ध हुनेछ । कम्तीमा दुईपटक होला तपाईंले मलाई के भन्ने कृपा गर्नुभएको थियो भने त्यहाँ धेरै भ्रष्टाचार मौलएको र प्रशासनले सन्तुष्ट रूपले कार्य नगरेको हुनाले सरकारको कार्यसञ्चालन पद्धतिसँग तपाईं असन्तुष्ट हुनुहुन्थ्यो । यो कुरा सुनेर मलाई दुःख लाग्यो । तर, मलाई के सम्झना आयो भने यी असफलताका लागि पछिल्ला प्रशासनहरू पनि उत्तिकै दोषी थिए र धेरै हदसम्म देश विभिन्न तरिकाबाट पिछडिएको अवस्थामा हुनुको पनि परिणाम थियो । यी समस्याको निवारण गर्ने एक मात्र उपाए थियो, देशलाई अगाडि बढाउनु साथै भष्टाचार र कुशासनसँग लड्नु ।

जनताको व्यापक समर्थन र सहकार्यबेगर वास्तवमा कुनै पनि ठूलो परिवर्तन हुन सक्दैन । टाढाबाट भए पनि मेरो बुझाइ के छ भने नेपालको पछिल्लो सरकारले आफ्ना सबै असफलताबीच पनि पुरातन–प्रशासनको क्षेत्रमा ठूलो सुधार ल्याएको थियो । यसका अतिरिक्त थप सुधार र प्रगतिका लागि ढोका खुला भएको थियो ।

जब महाराजाधिराजले मन्त्रिमण्डल र संसद्को दुवै सदनलाई भंग गरेर देशको शासनको सम्पूर्ण बागडोर आफूले लिएको शाही घोषणा गर्नुभयो, म अत्यन्तै दुःखित भएँ । मेरो जीवनभरको प्रशिक्षण र विचारको कारणले यस्तो महसुस हुनु अपरिहार्य पनि थियो र मेरो भित्री आस्थाको कारणले के भन्छु भने तपाईंले जुन लक्ष्य लिनुभएको थियो, यो कदमले त्यहाँसम्म पु‍-याउन सक्दैन । मैले मेरो यो बुझाइ धेरथोर जे–जति भए पनि हाम्रा अधिकांश जनतालाई भनेको पनि थिएँ । म अथवा मेरो सरकारको नेपालमा हस्तक्षेप गर्ने कुनै अभीष्ट थिएन, तर भारतमा विद्यमान सरकारी पद्धतिअनुसार संसद्मा मलाई बारम्बार नेपालसम्बन्धी प्रश्न सोधियो र संसदीय प्रणालीअनुसार मैले जवाफ दिर्नुपथ्र्यो । जुन मैले एकदम संयमित र नियन्त्रित भाषामा दिएँ ।

नेपालमा घटेका नयाँ घटनाको शृंखलाप्रति मेरो अप्रसन्नताका अतिरिक्त म यस तथ्यप्रति अति चिन्तित थिएँ कि नेपालका धेरै पत्रपत्रिकाले भारतविरूद्ध द्वेषपूर्ण र अत्यन्तै गलत प्रचार गरिरहेका थिए । तिनीहरूले लगाएका केही आरोप स्पष्टतः अनर्गल र केही हदसम्म अपमानजनक पनि थिए । मलाई थाहा छ, नेपालका सञ्चारमाध्यम अनुभवहीन र अनुत्तरदायी छन् र निरन्तर रहिरहनेछन् । भारतलाई लाञ्छना लगाउनु तिनीहरूको मनोविनोद भइसकेको छ । तर, नयाँ घटनाले तिनीहरूलाई पहिलेभन्दा अझ बढी यस दिशामा हौस्याएको थियो । के कुरा स्पष्ट थियो भने नेपालको विद्यमान परिस्थितिमा देशमा वर्तमान सत्ताधारी शासकको कम्तीमा पनि अनुमति अथवा मौन समर्थनविना कुनै पनि पत्रपत्रिकाले यस्तो रबैया देखाउन सक्दैनन् ।

म महाराजधिराजलाई गम्भीरतापूर्वक आग्रह गर्न चाहन्छु कि वर्तमान अवस्थाको दृष्टिकोणले मात्र होइन कि भविष्यसँग सम्बन्धित यथार्थहरू जुन आफैँ प्रकट हुँदै जानेछ त्यसबारे पनि विचार गर्नुहोस् । महाराजधिराजलाई मेरो आफ्नो सल्लाह दिने साहस गर्न सक्छु भने यो विद्यमान संकटलाई यही अवस्थामा रहन दिनुहुँदैन र नेपालका नागरिकलाई उनीहरूको विचार व्यक्त गर्ने अधिकार दिन शीघ्र केही कदम चाल्नुपर्छ । यदि मौजुदा संसद्लाई पुनः आह्वान गर्न सकिँदैन भने ताजा निर्वाचन गराउन सकिन्छ ।

यहाँसम्म कि नेपाल सरकारको आधिकारिक प्रकाशनले पनि केही यस्ता लेखलाई पुनःप्रकाशन गरेको थियो जुन भारतको कटु आलोचना गरेर लेखिएका थिए । के भनिन्छ भने नेपालमा हालसालै भएको परिवर्तनप्रति भारतीय सञ्चारमाध्यममा गरेको आलोचना निर्देशित थियो । यो सत्य हो । फेरि पनि, ती आलोचना निकै सौम्य र केही सिद्धान्तमा आधारित थिए । तपाईंलाई थाहा भएकै कुरा हो, भारतमा सञ्चारमाध्यमले हाम्रो आफ्नो सरकारको निरन्तर रूपले आलोचना गरिरहेको हुन्छ । स्वतन्त्र समाजमा निष्पक्ष सञ्चार हुँदा हामी त्यसमा कुनै हस्तक्षेप गर्दैनौँ । यद्यपि, अहिले तपाईंको सरकारले भारतलाई गाली गर्न बन्द गर्नु भनेर नेपाली सञ्चारमाध्यमलाई अपिल गरेको छ भन्ने कुरा सुनेर हामीलाई खुसी लागेको छ ।

अनि अहिलेको अवस्था के छ ? भविष्यबारे महाराजाधिराजको के दृष्टिकोण छ भनी मैले डा. तुलसीलाई सोधेँ । उहाँले मलाई के भन्नुभयो भने तपाईंंले प्रजातन्त्रसम्म पुग्ने लक्ष्य लिनुभएको छ । तर, यसका लागि पहिले एउटा सर्त हुन सक्छ, त्यो तपाईं चाहनुहुन्छ कि पहिला आर्थिक उन्नति होस् । आर्थिक उन्नति गर्नु भनेको एउटा लामो समय लाग्ने र निश्चय पनि एउटा कष्टकर मामला हो । यसलाई नागरिकको गतिविधिबाट सुव्यवस्थित र दक्ष सरकारबाट, आमनागरिक र प्रशासनबीचको सहकार्यबाट र निश्चित उद्देश्यलक्षित विशेष नीतिका माध्यमबाट विकसित हुन दिनुपर्छ ।

भारत आफ्नै तीव्र आर्थिक सुधार, औद्योगीकरण र उच्च जीवनस्तरका लागि कार्य गरिरहेको छ । हामी नेपालभन्दा धेरे उन्नत छौँ, हामीसँग बलियो औद्योगिक आधारशीला छ । हामीले सम्पूर्ण तह र तप्काहरूमा द्रुतगतिले शिक्षा फैलाइरहेका छौँ, हामीसँग प्रशिक्षित जनशक्ति छ । तर, पनि हामीले कठिन समस्याको सामना गर्नुपरेको छ । नेपालमा शिक्षाको स्तर धेरै पिछडिएको छ, प्रशिक्षित जनशक्तिको अभाव छ भने प्रशासन पनि धेरै पुरातन शैलीको छ । अनि कसरी आर्थिक क्षेत्रमा प्रगति हुन गइरहेको छ ? अन्तर्राष्ट्रिय सहयोग त उपयोगी हुन्छ, तर केही हदसम्म मात्र । वास्तवमा आर्थिक सुधारको प्रक्रिया, जुन पछिल्लो सरकारको पालामा धेरै सुस्त थियो अझ बढी सुस्त हुन सक्छ ।

संसार गतिहीन भएर रहन सक्दैन, न त कुनै देश नै । यदि कुनै देश यसको गतिसँग समवेगले अगाडि बढ्दैन भने यसले नयाँ राजनीतिक र सामाजिक समस्या उत्पन्न गर्छ, जुन आफैँमा संकट पुनरावृत्तिको संवाहक र प्रगतिको बाधक हुन्छ । यसकारण, मैले के बुझ्न सकिनँ भने नेपाल आन्तरिक रूपमा निरन्तर संकटमा फसिरहेको वेलामा कसरी कुनै गौरव गर्नलायकको आर्थिक प्रगति गर्न सक्छ ? देश गतिरोधको स्थितिमा फस्दै जान्छ साथै राष्ट्रको ऊर्जा आन्तरिक द्वन्द्वमा नष्ट हुँदै जान्छ भने त्यसले देशलाई नै कमजोर बनाउने हो ।

यदि वर्तमान परिस्थिति जारी रहिरह्यो भने सरकारको प्रगतिशील संरचना र स्थायित्वको म कुनै पनि सम्भावना देख्दिनँ । यो अवस्था झन्–झन् खराब हुँदै जान्छ, अनि तपाईं र तपाईंको देशले अझ ठूलो समस्यासँग सामना गर्नुपर्ने हुन सक्छ । यस्तो संकटको घडीमा हुन सक्छ तपाईं बाह्य सहयोग माग्नेबारे सोच्नुहुन्छ होला । केही हदसम्म यो उपलब्ध पनि हुन सक्छ, तर यसले देशमा अझ नयाँ जोखिम र नयाँ कमजोरी उत्पन्न गर्छ ।

नेपालको सिमानासँग जोडिएका दुइटा देशहरू भारत र चीन छन् । नेपाल भारतसँग धर्म, संस्कृति, इतिहास र भूगोलको आधारमा जोडिएको छ । यिनीहरू स्थायी तथा मूलभूत अवयवहरू हुन् जुन समयको बहावसँगै धेरै परिवर्तन हुँदैन । जहाँसम्म भारतको चिन्ता छ, हामी यसरी प्रशिक्षित भएका छौँ कि हामी नेपालमा कुनै पनि प्रकारको आक्रमण र अतिक्रमण गर्न सक्दैनौँ । हाम्रो सम्पूर्ण संरचनाले यसको विरोध गर्छ र हाम्रो सरकारको स्वरूप र नागरिकले पनि यसको विरोध गर्नेछन् । हामीले यसबाट केही पनि प्राप्त गर्दैनौँ ।

अर्कातिर, चीन पूर्ण रूपले फरक प्रणालीमा कार्य गर्छ, वर्तमानमा उसको कार्यशैली आक्रामक देखिन्छ । हामी भारतीय हाम्रो चीनसँगको सिमानामा शान्तिपूर्ण वातावरण चाहन्छौँ र वास्तवमा त्यो महान् राष्ट्रसँग सधैँ मित्रवत् सम्बन्ध राख्ने लक्ष्य लिएका छौँ । तर, चिनियाँ सरकारले भारतविरुद्ध आक्रमक नीति अख्तियार गरेको छ र त्यो हामी कदाचित् सहन सक्दैनौँ । हामी चीनको अतिक्रमणको सामना गर्न धेरै हदसम्म बलियो छौँ । तथापि, चाहे जतिसुकै लामो समय लागे पनि अन्तिमसम्म हामीले चीनसँग मित्रवत् सम्बन्ध कायम राख्ने लक्ष्य लिएका छौँ ।

स्केच: अकृन

नेपालसँगको स्थिति फरक छ । कमजोर छ र आफ्नो उत्तरतर्फको सिमानामा आउने कुनै पनि जोखिमपूर्ण संकटको सामना गर्न असमर्थ हुन सक्छ । के सम्भव छ भने चीनले निकट भविष्यमा नेपाललाई भारतसँग टाढा राख्न मित्रता स्थापित गर्न कोसिस गर्नेछ । यो महाराजाधिराजले सोच्नुपर्ने हो कि नेपाल र चीनबीच अत्यन्त न्यून साझा सरोकार भएको कारणले अन्ततोगत्वा यो मित्रता नेपालको आफ्नो हितमा हुन्छ कि हुँदैन । हामीलाई लाग्छ, भारतसँगको मैत्रीपूर्ण सम्बन्ध आफैँमा चीनका सबै सम्भावित अतिक्रमण रोक्न सक्षम हुनेछ ।

यसर्थ, नेपालको वर्तमान गतिविधिबाट म अत्यन्तै गम्भीर भएको छु किनभने मलाई लाग्छ, यस्ता गतिविधि निरन्तर चलिरहेको खण्डमा यसले अनिवार्य रूपले आन्तरिक द्वन्द्व निम्त्याउनेछ । छिटोभन्दा छिटो प्रजातान्त्रिक संरचनामा फर्किनुबाहेक यो उल्झनबाट पार पाउने अरू कुनै उपाय छैन । जति धेरै ढिलो हुन्छ नेपालले त्यति नै बढी प्रतिकूल समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यहाँ कुनै पनि प्रकारको संवैधानिक प्रगति हुनै सक्दैन जबसम्म यो बाटो अवरुद्ध रहिरहन्छ । त्यसपछि जनताहरू असंवैधानिक तरिकाले प्रदर्शनहरू गर्नेछन् र नेपाल धेरै नराम्रोसँग गृहयुद्धको भुमरीमा फस्नेछ ।

नेपालप्रतिको हाम्रो महान् मित्रता र आस्थाका कारणले गर्दा मैले यो पत्र बिल्कुल इमानदारीपूर्वक स्पष्ट रूपले लेख्ने कोसिस गरेको छु । यो मित्रता नेपाल र भारत दुवैको आपसी हितका लागि आवश्यक पनि छ । मैले माथि भनेजस्तै, नेपालप्रति हाम्रो कुनै अभीष्ट पनि छैन र हस्तक्षेप गर्ने कुनै चाहना पनि छैन । हाम्रो मुख्य अभिरुचि एक स्वतन्त्र र लोकतान्त्रिक नेपालको विकासमा मात्र निहित छ । स्वाभाविक रूपले हामी हाम्रो आफ्नै सुरक्षामा पनि रुचि राख्छौँ र नेपालमा जुन गतिविधि हुन्छ त्यसले हाम्रो सुरक्षामा पनि असर गर्न सक्छ ।

यसकारण, म महाराजाधिराजलाई गम्भीरतापूर्वक आग्रह गर्न चाहन्छु कि वर्तमान अवस्थाको दृष्टिकोणले मात्र होइन कि भविष्यसँग सम्बन्धित यथार्थहरू जुन आफैँ प्रकट हुँदै जानेछ त्यसबारे पनि विचार गर्नुहोस् । महाराजाधिराजलाई मेरो आफ्नो सल्लाह दिने साहस गर्न सक्छु भने यो विद्यमान संकटलाई यही अवस्थामा रहन दिनु हुँदैन र नेपालका नागरिकलाई उनीहरूको विचार व्यक्त गर्ने अधिकार दिन शीघ्र केही कदम चाल्नुपर्छ । यदि मौजुदा संसद्लाई पुनः आह्वान गर्न सकिँदैन भने ताजा निर्वाचन गराउन सकिन्छ ।

यदि त्यहाँ भ्रष्टाचार छ भने त्यसलाई कानुनी प्रक्रियाबाट कडा कारबाही गर्नुपर्छ । यदि त्यहाँ प्रशासनतन्त्र खराब छ भने त्यसलाई दुरुस्त पार्नुपर्छ, तर केवल अस्पष्ट र संदिग्ध आरोप लगाएर जनतालाई सन्तुष्ट पार्ने सम्भावना छैन । बेलायत नेपालप्रति एकदम स्नेही छ, तर नेपालको वर्तमान संकटबारे त्यहाँको सञ्चारमाध्यममा प्रकाशित भएका आलोचना पनि सायद तपाईंले पढ्नुभएको होला । आजको दिनमा विश्व अभिमतले लोकतान्त्रिक प्रक्रियाहरूको पूर्ण प्रतिगमनलाई सजिलै सहन सक्दैन ।

सस्नेह,
भवदीय
जवाहरलाल नेहरू

(कांग्रेस नेता प्रदिप गिरिबाट प्राप्त)

तपाईको प्रतिक्रिया