४७ प्रतिशत बढ्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

४७ प्रतिशत बढ्यो कारोबार रकम

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक ओरालो लागेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम भने ४७ दशमलव २१ प्रतिशत बढेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से मध्याह्नपछि केही सुधार भएको थियो ।

सूचीकृत कम्पनीहरूले चालू आवको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । कम्पनीहरूले नाफामा गरेको वृद्धिले लगानीकर्ताको मनोबल बढाएको छ । यसका साथै सानिमा बैंकले गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अन्य कम्पनीहरूले लाभांश घोषणा गरे पनि वाणिज्य बैंकहरूले घोषणा गरेका थिएनन् ।

वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेपश्चात् बजारले सकारात्मक गति लिने लगानीकर्ताहरूको अपेक्षा रहेको छ । वित्तीय क्षेत्रमा तरलता अभावले पनि अहिलेको बजार केही प्रभावित भइरहेको एक ब्रोकरले बताए । तिहारअघि नै नेप्सेले पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी गरेको छ । नेप्से पूर्ण अनलाइन प्रणालीमा आएपछि बजारले सकारात्मक गति लिने उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन शून्य दशमलव ४८ अंक घटेर १ हजार २ सय २० दशमलव ९८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ११ अंक घटेर २ सय ५९ दशमलव ६७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ४ हजार १ सय २९ पटकको कारोबारमा २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाँबराबरको ७ लाख ८२ हजार २९ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव १२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन सानिमा बैंक लिमिटेड अगाडि रहेको छ । बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् । सो वाणिज्य बैंकको यस दिन २ करोड ६० लाख ४४ हजार रुपैयाँबराबरको ७९ हजार ९ सय ४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार संख्याका आधारमा भने यस दिन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ५ सय ५ पटक सेयर कारोबार भएको छ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ८ दशमलव ६२ प्रतिशत घटेको छ । कारोबारमा आएको १ सय ६० कम्पनीमध्ये यस दिन ६७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६१ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार कारोबारमा आएका १० समूहमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ । यस दिन होटेल समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव १४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १३ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ५९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३२ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

 अपर तामाकोसीको आइपिओ निष्कासन खुला
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले कात्तिक १५ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको छ । निष्कासन बन्द छिटोमा कात्तिक १९ गते हुनेछ भने ढिलोमा मंसिर १४ गते हुनेछ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये ७ लाख ९४ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

लगानीकर्ताले बाँकी १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिने सक्नेछन् । कम्पनीले कुल २ करोड ६४ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता निष्कासन गरेको थियो ।

 मध्य भोटेकोसी जलविद्युत्को आइपिओ
मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले १ करोड ४४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दुई चरणमा आइपिओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता निष्कासन गर्नेछ । सो सेयरमा सञ्चयकर्ताले कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा कम्पनीले संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । सो सेयरमा कर्मचारीले मंसिर १९ गतेदेखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीका कर्मचारीले न्यूनतम ५० कित्तादेखि सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कर्मचारी सञ्चयकोषका कर्मचारीहरूले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार २ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्रधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोसी हाइड्रोपावर, कम्पनीका संस्थापक सेयरधनी हुन् भने कर्मचारी सञ्चयकोष कम्पनीको ऋणदाता संस्था हो ।

तपाईको प्रतिक्रिया