नेप्से र कारोबार रकम दुवै घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्से र कारोबार रकम दुवै घट्यो

बुधबार नेप्से परिसूचक शून्य दशमलव २४ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन बजार बढेर बन्द भएपछि यस दिन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका छन् । सोही कारण यस दिन बजारमा करेक्सन भएको एक ब्रोकरले बताए ।

बजार खुलेको केही समयपछि ओरालो लागेको नेप्से १ हजार २ सय १८ बिन्दुमा पुगेको थियो । अन्तिम समयमा बजारमा केही सुधार भएको थियो । बजारमा लगानीयोग्य पुँजीको समस्या पुनः बल्झिएपछि कारोबार रकम प्रभावित भएका हो । यस दिन बजार ओरालो लाग्नुलाई लगानीकर्ताले सामान्य रूपमा लिएका छन् । वित्तीय कम्पनीले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरूले नाफा बढाएपछि लगानीकर्ताको मनोबल पनि बढेको छ । वित्तीय विवरणको विश्लेषण गरी राम्रा कम्पनीको सेयर खरिद गरे दीर्घकालसम्म नाफा आर्जन गर्न सकिने एक लगानीकर्ताले बताए ।


नेप्से परिसूचक यस दिन २ दशमलव ९० अंक घटेर १ हजार २ सय २१ दशमलव ४६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६५ अंक घटेर २ सय ५९ दशमलव ७८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६४ कम्पनीको ३ हजार ३ सय ३६ पटकको कारोबारमा १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँबराबरको ६ लाख ८६ हजार १ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ३५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । कुल बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा ३ अर्ब ४५ करोड रुपैयाँ घटेर १४ खर्ब ५७ अर्बमा सीमित भएको छ ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ९० लाख २१ हजार ८ सय ७ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन सिभिल बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा कालिका पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सिभिलको यस दिन ४० हजार १ सय १७ कित्ता सेयर किनबेच भएको छ । कालिका पावरको यस दिन २ सय २३ पटक सेयर खरिदबिक्री भएको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ९० प्रतिशत बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव ३४ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये यस दिन ३७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन निर्जीवन बिमा, उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ३५ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ५४ प्रतिशत र अन्य समूहको शून्य दशमलव ४१ प्रतिशत बढेको छ ।
जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ५६ प्रतिशत घटेको छ । त्यसैगरी, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३१ प्रतिशत, वित्त समूहको शून्य दशमलव २९ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ । जीवन बिमा समूहको परिसूचक भने यस दिन शून्य दशमलव २४ अंक घटेको छ ।

 प्रोग्रेशिभको नाफा १ करोड ७८ लाख
चालु आवको पहिलो त्रैमाससम्ममा प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा १ करोड ९ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । सो अवधिमा कम्पनीले २ करोड ६७ लाख १ हजार रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएपछि कम्पनीको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर ४८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा ६५ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष सो अवधिमा ३ करोड १० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको निक्षेप सो अवधिमा ९ दशमलव ७२ प्रतिशत बढेको छ भने कर्जा ५ दशमलव ४९ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा घटेर १ दशमलव ९१ प्रतिशतमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ दशमलव ४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय १४ दशमलव ७७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५ सय १० दशमलव ४४ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव शून्य २ गुणा रहेको छ भने तरलता अनुपात ५७ दशमलव ४४ प्रतिशत रहेको छ ।

 कञ्चनको नाफा १ करोड १९ लाख
चालू आवको पहिलो त्रैमाससम्ममा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १९ दशमलव शून्य ५ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि कम्पनीको नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५८ दशमलव शून्य ९ प्रतिशत र सञ्चालन मुनाफा २६ दशमलव २१ प्रतिशत बढेको छ । ५० करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष सो अवधिमा १४ करोड २१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको निक्षेप सो अवधिमा ४१ दशमलव ३१ प्रतिशत बढेको छ भने कर्जा ४१ दशमलव २२ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा बढेर शून्य दशमलव ८० प्रतिशतमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ दशमलव ४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय २८ दशमलव १० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६ दशमलव ३९ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ७९ गुणा रहेको छ भने तरलता अनुपात २२ दशमलव ९० प्रतिशत रहेको छ ।

 

तपाईको प्रतिक्रिया